१५ असार २०८३, सोमबार
,
Latest
जहाजमाथि आक्रमणपछि होर्मुज जलमार्गमा आवागमन सुस्त बढ्दो सहरीकरणसँग उपत्यकामा धान रोप्ने ठाउँको अभाव एकै दिन भक्तपुरबाट ४० टन ताइचिन चिउरा बिक्री लुम्बो हिमशिखरको पहिचान नेपालको परराष्ट्र नीतिमा ‘तरुल’ होइन ‘लालीगुराँस’को अवधारणा आवश्यकः पूर्वप्रधानमन्त्री भट्टराई सामुदायिक वनमा एक हजार सात सय रुद्राक्ष रोपियो वैदेशिक सम्बन्ध कुनै पनि शक्ति राष्ट्रको पक्षमा उभिने जेरो–सम गेम होइन: परराष्ट्रमन्त्री शिशिर खनाल युरोपको सुरक्षा संरचनामा टर्कीलाई समावेश गर्न एर्दोगानको आग्रह प्रेमभावदेखि राष्ट्रभावसम्म समेटिएको विधान श्रेष्ठको पलेँटी हिजबुल्लाहद्वारा इजरायलमाथि युद्धविराम उल्लङ्घनको आरोप
तपाईं के खोज्दै हुनुहुन्छ ?

बडादसैँको चौँथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरिँदै



अ+ अ-

काठमाडौं । नवरात्रको चौथो दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी चौथो कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ ।
 
प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थी अर्थात् दुर्गा पक्षको चौथो दिन कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिन्छ । आध्यात्मिक, आधिभौतिक र आधिदैविक यी तीन तापलाई कुष्मा भनिन्छ । नवदुर्गामध्येकी चौथो देवी कुष्माण्डाले शरणमा आएका भक्तको तीनै ताप हरिदिने भएकैले यो नामकरण भएको हो । कुष्माण्डाले सुराले भरिएका घडा तथा रगतयुक्त पात्र धारण गर्ने विभिन्न पुराणमा उल्लेख गरिएको छ । 
  
नवरात्रको पहिलो दिन असोज २१ गते बिहीबार दसैँ घर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो । त्यसै दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरियो । दोस्रो दिन शुक्रबार पूजास्थलमा दोस्रो ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो भने तेस्रो दिन शनिबार चन्द्रघण्टा देवीको निष्ठाका साथ पूजा आराधना गरिएको थियो ।
 
चौँथो दिन आज कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ । नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती ९चण्डी०, श्रीमद्देवी भागवतलगायत देवी स्तोत्र पाठसमेत गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ । यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन् । नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ । यसरी १५ दिनसम्म नेपालीले बडादसैँ पर्व मनाउँछन् ।
     
दुर्गा पक्षसमेत भनिने दसैँको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गर्ने गरिन्छ । यीनै नौ दुर्गाका रुपलाई नवदुर्गा पनि भनिन्छ । 
 
नवरात्रमा देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको भीड लाग्ने गर्छ । गत वर्ष नवरात्रका बेला कोरोना भाइरसको सङ्क्रमण बढेकाले धेरै मन्दिर बन्द थिए । यस वर्ष जोखिम कम देखिनुका साथै करिब आधा जनसङ्ख्याले खोप लगाइसकेकाले भौतिक दूरी अपनाएर स्वास्थ्य सुरक्षाका विधिसहित देवी मन्दिर खुला गर्न दिइएको छ । 
  
जहाँ भक्तजन पुग्ने गरेका छन् । सबैजसो भक्तजनले मास्क लगाए पनि दूरी कायम भने राम्रोसँग हुन सकेको छैन । कोरोनाबाट बच्न स्वास्थ्य सुरक्षाका विधि अपनाएर मात्र मठमन्दिर जाने, खानपिन गरी दसैँ, तिहारजस्ता चाडपर्व मनाउन तीनै तहका सरकारले आह्वान गरेका छन् ।