१५ असार २०८३, सोमबार
,
Latest
लुम्बो हिमशिखरको पहिचान नेपालको परराष्ट्र नीतिमा ‘तरुल’ होइन ‘लालीगुराँस’को अवधारणा आवश्यकः पूर्वप्रधानमन्त्री भट्टराई सामुदायिक वनमा एक हजार सात सय रुद्राक्ष रोपियो वैदेशिक सम्बन्ध कुनै पनि शक्ति राष्ट्रको पक्षमा उभिने जेरो–सम गेम होइन: परराष्ट्रमन्त्री शिशिर खनाल युरोपको सुरक्षा संरचनामा टर्कीलाई समावेश गर्न एर्दोगानको आग्रह प्रेमभावदेखि राष्ट्रभावसम्म समेटिएको विधान श्रेष्ठको पलेँटी हिजबुल्लाहद्वारा इजरायलमाथि युद्धविराम उल्लङ्घनको आरोप उद्योग मन्त्रालयमा ‘ड्यासबोर्ड’ सञ्चालनमा कोहलपुरमा भाइद्वारा दाजुको हत्या अफगानिस्तानमा एक वर्षमा ४५ हजारभन्दा बढी लागूऔषध दुव्र्यसनीको उपचार
तपाईं के खोज्दै हुनुहुन्छ ?

जिप दुर्घटनामा तीनको मृत्यु, गाउँ शोकमा



अ+ अ-

वालिङ । आइतबार साँझ वालिङ–१० मदिखोला नजिकै भएको जिप दुर्घटनामा परी एउटै गाउँका दुईसहित तीन जनाको मृत्यु भएको छ ।

गल्याङ नगरपालिका–१० लिहुडाँडाका ७७ वर्षीय दलबहादुर पल्ली र ३२ वर्षीया गङ्गा पल्ली, सोही वडाको गाउँसौराकी चार वर्षीया करिष्माको मृत्यु भएपछि अहिले गाउँ नै शोकमा डुबेको छ । जिपमा सवार रहेका १९ जनामध्ये आइतबार वालिङस्थित गह्रौँ प्राथमिक अस्पतालमा उपचारका क्रममा दुई जना र गए राति पोखरास्थित मणिपाल अस्पतालमा थप एकसहित तीन जनाको मृत्यु भएको हो ।

गल्याङ नगरपालिका–१० की करिष्मा थापाको मणिपाल अस्पताल पोखरामा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिनुभयो । 

ज्यान गुमाउनेमध्ये तीनै जना एउटै वडाका हुन् भने दुई जना लिहुडाँडाका र एकजना गाउँसौराका रहेका गल्याङ नगरपालिका–१० का वडाध्यक्ष ध्रुवप्रसाद शर्मा पङ्गेनीले जानकारी दिनुभयो । “वालिङबाट गाउँतर्फ जाँदै गरेको जिप आइतबार साँझ वालिङ–१० मदिखोला नजिकै कच्ची सडकबाट झण्डै ५० मिटर तल खसेर दुर्घटना भएको छ”, वडा अध्यक्ष पङ्गेनीले भन्नुभयो, “जिपमा सवार रहेकामध्ये धेरै लिहुडाँडाका हुन्, जहाँका दुई जनाको मृत्यु भइसकेको छ भने अन्यको पोखरामा उपचार भइरहेको छ, गाउँ पूरै शोकमा छ ।”

दसैँको बेला बजारबाट गाउँतर्फ फर्किदै गरेका एउटै गाउँका आफन्तलाई गुमाउनुपर्दा र अङ्गभङ्ग भएर अस्पतालमा बस्नुपर्दा अहिले गाउँमा निक्कै पीडा महसुस भएको वडाध्यक्ष पङ्गेनीले बताउनुभयो । वालिङबाट गल्याङ–१० लाखुडाँडातर्फ जाँदै गरेको ग१ज ४९१८ नम्बरको जिप कच्ची उकालो बाटोबाट आइतबार साँझ झण्डै ५० मिटर तल खसेको थियो । उक्त जिपमा चालकसहित १९ यात्रु थिए । चालकसहित अन्य दुई जना सामान्य उपचारपछि निको भएका छन् भने बाँकी रहेका १४ जनाको पोखरास्थित मणिपाल अस्पतालमा उपचार भइरहेको प्रहरी प्रवक्ता अधिकारीले जानकारी दिनुभयो ।