२३ भाद्र २०८३, मंगलवार
,
Latest
होर्मुज खुलाउनेबारे इरान–ओमान वार्तामा ‘महत्त्वपूर्ण प्रगति’ हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा जेनजी युवाका अधिकार र माग पूरा गर्न सरकार प्रतिबद्ध छः गृहमन्त्री गुरुङ अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ हरेक नेपालीको आशा पूरा गर्ने जिम्मेवारीमा छु, पदको घमण्ड र स्वार्थ छैन : गृहमन्त्री गुरुङ कृष्णभीरमा ट्रक महासंघको चासो, ७–१० दिनभित्र नयाँ ट्र्याकबाट गाडी चलाउने तयारी एक करोड २० लाखमा विद्यालय भवन निर्माण गरिँदै कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन बिपी जयन्तीमा क्यान्सर अस्पतालद्वारा नियमित सेवा सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

काभ्रेमा ‘स्मार्ट लकडाउन’ : चाडपर्वमा भीडभाड नगर्न आग्रह



अ+ अ-

काभ्रेपलाञ्चोक । जिल्ला प्रशासन कार्यालयले आजदेखि जिल्लाभित्र अनिश्चितकालीन ‘स्मार्ट लकडाउन’ थप गर्दै चाडपर्वमा भीडभाड नगर्न आदेश जारी गरेको छ । जिल्लास्थित कोभिड–१९ सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र (डिसीसिएमसी)को बैठकले समुदायमा सङ्क्रमणदर घटिरहेको तथा साप्ताहिकरूपमा मृत्युदर घटेको अवस्थामा काभ्रेमा ‘एल्लो–जोन’मा परेकाले स्मार्ट लकडाउन केही खुकुलो पार्दै निषेधाज्ञालाई थपिएको जनाएको छ ।

निषेधाज्ञा गए राति १२ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि भनिएको छ । चाडपर्वमा बजारमा भीडभाड नगर्न, हिँडडुल गर्दा तथा भेला, क्लब, पार्टी प्यालेस, स्वीमिङ पुल, ब्यूटीपार्लर, जिमखाना आदि सञ्चालन गर्दा स्वास्थ्य–सुरक्षा एवं सामाजिक दूरी कायम गर्नुपर्ने, हाट, मेला, जात्रा महोत्सवमा भीडभाड कम गर्ने तथा निर्धारित जनस्वास्थ्यका मापदण्ड अपनाउन जारी आदेशमा उल्लेख गरिएको छ ।

साथै गोष्ठी, सेमिनार, समीक्षा, प्रशिक्षणजस्ता क्रियाकलाप सकेसम्म भर्चुअल माध्यमबाट सञ्चालन गर्नुपर्ने, सार्वनजिक यातायातका साधानमा कूल सिट क्षमताभन्दा बढी यात्रु नबोक्न, विकास–निर्माणका सामग्री ढुवानी जिल्लाभित्र साँझ ७ देखि बिहान ६ बजेसम्म तथा जिल्ला बाहिर राति ९ देखि बिहान ५ बजेसम्म मात्रै गर्ने आदेश जारी गरिएको छ । आदेश अवज्ञा गर्ने जो–कोहीलाई कोभिड–१९ सङ्कट व्यवस्थापन अध्यादेश २०७८, सङ्क्रामक रोग ऐन, २०२० तथा स्थानीय प्रशासन ऐन, २०२८ अनुसार सजाय हुने जनाइएको छ ।

यसैबीच जिल्लाको चार गाउँपालिका कोरोना सङ्क्रमणमुक्त भएका छन् भने पछिल्लो केही दिनदेखि सङ्क्रमणमुक्त हुनेको सङ्ख्या भने बढिरहेको केन्द्रको तथ्याङ्कले देखाएको छ । कोरोना सङ्क्रमणमुक्त हुनेमा चौँरीदेउराली, रोशी, महाभारत र खानीखोला गाउँपालिका छन् । तेमालमा एक, मण्डनदेउपुर नगरमा दुई र बेथानचोक गाउँपालिकामा तीन सङ्क्रमित रहेका छन् । केन्द्रका अनुसार पछिल्लो २४ घण्टामा जिल्लामा चारमा कोरोना सङ्क्रमण देखिएको छ भने १७ सङ्क्रमणमुक्त भएका हुन् ।

जिल्लामा हाल ८९ सक्रिय सङ्क्रमितमध्ये बनेपा नगरपालिकामा २८, पाँचखालमा १४, धुलिखेलमा १८, पनौतीमा १०, बेथानचोक र नमोबुद्ध नगरमा ११ रहेको केन्द्रले जनायो । जिल्लामा हालसम्म १४ हजार ६७८ मा सङ्क्रमण देखिएकामा १९२ को मृत्यु भएको छ । हालसम्मका कूल सङ्क्रमितमध्ये ९८ प्रतिशत अर्थात् १४ हजार ३७९ सङ्क्रमणमुक्त भइसकेका छन् । कोरोना सङ्क्रमणको दोस्रो लहर सुरु भएपछि गत वैशाख २० गतेदेखि जिल्लामा निषेधाज्ञा जारी गरिएको थियो ।