१७ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

चार पूर्व प्रधान न्यायाधीशको दैलोमा राणा, १० न्यायाधीशको अदालत भित्रै दबाब



अ+ अ-

काठमाडौं । प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर राणा दशैं बिदाको समयमा केही पूर्व प्रधान न्यायाधीशको घरमा पुग्नु भयो । टेलिफोन समेत नगरी पूर्व जानकारी बेगर राणा पूर्व प्रधान न्यायाधीशहरु अनुपराज शर्मा, कल्याण कुमार श्रेष्ठ, मिनबहादुर रायमाझी र सुशीला कार्कीको निवासमा पुग्नुभयो । खबर नगरी पुगेका कारण प्रधान न्यायाधीश राणा केही समय उहाँहरुको घर बाहिर उभिनु पनि परेको थियो । 

राजनीतिक दल र सरकारसँग मन्त्री, राजदूत, संवैधानिक नियुक्ति जस्ता विषयमा सौदाबाजी गरेको आरोप खेपिरहनु भएका प्रधान न्यायाधीश राणाले सङ्कटमोचन उपाय खोज्दै पूर्व प्रधान न्यायाधीशहरुको साथ खोज्नु भएको हो । फूलपातीको अघिल्लो दिन गत असोज २५ गते सोमबार मध्याह्न पूर्व प्रधान न्यायाधीश सुशीला कार्कीको निवासमा पुग्नु भएका राणाले आफूबाट कमिकमजोरी भएको हुँदा अब त्यसलाई सच्याएर अघि बढ्ने भन्दै सहयोगको लागि आग्रह गर्नु भएको स्रोतले बताएको छ । 

पूर्व प्रधान न्यायाधीशहरुसँगको भेटमा प्रधान न्यायाधीश राणाले अदालतको अवहेलनामा मुद्दा चलाउनु आफ्नो गम्भीर गल्ती भएको स्वीकार गर्दै त्यसलाई सच्याएको बताउनु भएको थियो । आफ्ना विश्वासपात्र न्यायाधीश मनोज कुमार शर्मालाई साथमा लिएर भेटघाटमा निस्कनु भएका राणाले अदालत भित्रका सहकर्मी र बाहिरबाट पनि आफूलाई अप्ठ्यारोमा पार्ने प्रयास भएको गुनासो गर्नु भएको थियो ।  

सर्वोच्च अदालत स्रोतका अनुसार यतिबेला सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीशहरु १० जना उहाँको विपक्षमा  उभिएका छन् । उनीहरुले पछिल्लो केही समयदेखि हरेक साता प्रधान न्यायाधीशसँग सामूहिक भेट गर्दै अदालतभित्र अनधिकृत कार्यहरु भइरहेको, पेशी तोकेको नमिलेको, फैसलाहरु न्यायिक नभएको भन्दै चर्को रुपमा प्रधान न्यायाधीशको आलोचना गरिरहेका छन् । 

प्रधान न्यायाधीश राणाको व्यवहारको चर्को आलोचकका रुपमा चिनिनु भएका पूर्व प्रधान न्यायाधीश कल्याण कुमार श्रेष्ठको कुपण्डोलस्थित निवासमा पहिला पुग्नु भएका राणाले कमिकमजोरी प्रति आत्मआलोचित हुँदै  सहयोगको लागि आग्रह  गर्नु भएको थियो । स्रोतका अनुसार श्रेष्ठले न्यायपालिका अहिले जस्तो विवादित कहिल्यै नभएको स्मरण गराउँदै लोकतन्त्र जोगाउनु पर्ने न्यायपालिकाले नै लोकतन्त्र मास्न खोजेको शंका भएको बताउनु भएको थियो । ७० वर्षको इतिहासमा पहिलो पटक न्यायालयको भूमिका धुमिल हुन लागेको भन्दै श्रेष्ठले घुमाउरो पारामा राजीनामा गरेर निकास दिन सुझाव दिनु भएको थियो । लगभग चारै पूर्व प्रधान न्यायाधीशले राणालाई एकै खालको जवाफ दिएका थिए । 

न्यायपालिका भित्र संस्थागत रुपमा नै अनियमितता भएको भन्दै न्यायाधीशहरुले नै निरन्तर दवाब दिएपछि प्रधान न्यायाधीश राणा दोहोरो दबाबमा पर्नु भएको छ ।  सर्वोच्चका एक न्यायाधीशले न्युजपोलारसँग भन्नुभयो, “हरिकृष्ण कार्कीको संयोजकत्वमा बनेको कार्यदल र त्यसले तयार पारेको प्रतिवेदन न्यायपालिका सुधारमा लागि भन्दा पनि प्रधान न्यायाधीशमाथि अरु न्यायाधीशहरुको अविश्वासको प्रतिवेदन हो । मुल कारण पेशी तोक्दा मनलाग्दी भएपछि त्यसलाई रोक्न गोला प्रथाको सुझाव दिइएको हो, अरु विषय त त्यसमा पनि खासै छैन ।” 

अदालत भित्रको अवस्था नाजूक बन्दै गएपछि केही दिन अघि चार पूर्व प्रधान न्यायाधीशहरु सामूहिक छलफलमा बसेका थिए । एक पूर्व प्रधान न्यायाधीशका अनुसार प्रधान न्यायाधीश राणालाई सुध्रन समय दिने भन्दै केही सुझाव समेत पठाएको थियो । न्यायाधीश सपना मल्ल प्रधानले चार पूर्व प्रधान न्यायाधीशको सन्देश राणालाई सुनाउनु भएको स्रोतले जनायो । चारै पूर्व प्रधान न्यायाधीशले प्रधान न्यायाधीश राणाको विगतमा पनि विवादित छवी रहेको र प्रधान न्यायाधीश भएप्छि पनि सो छवीमा सुधार नगरेको कारण राजीनामाको वातावरण बनाउने तयारी गरेको स्रोतले जनायो । 

स्रोत भन्छ, केही दिन पनि प्रधान न्यायाधीशका बिरुद्ध नेपाल बार एशोसिएसन पनि आक्रामक रुपमा आउँछ । त्यसको तयारी भै सकेको छ । राष्ट्रिय सभामा नेपाली काँग्रेस संसदीय दलका नेता राधेश्याम अधिकारीले पनि प्रधान न्यायाधीशको क्रियाकलाप अशोभनीय रहेको भन्दै मार्गप्रशस्त गर्न सुझाव दिनु भएको छ ।

विवादका बीच गत बुधबार राणालाई भेट्न नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राणाको निवासका पुग्नु भएको थियो जुन भेटमाथि पनि चौतर्फी प्रश्न उठेको छ । यस बारेमा दुबै पक्षले कुनै दृष्टिकोण सार्वजनिक गरेका छैनन् । 

प्रधानन्यायाधीश राणा र प्रचण्डबीचको भेटघाटले उत्पन्न गराएको आशंका