काठमाडौंः नेपालको सेयर बजारमा नयाँ कम्पनीहरु प्रवेश गर्नेक्रम जारी छ । केही समयदेखि सेयरमा लगानीकर्ताको आकर्षण पनि बढेको छ । कुनै कम्पनीको सेयर खुल्नासाथ मागभन्दा कैयौं गुणा बढी आवेदन पर्ने गरेकाले पनि सेयर बजारप्रतिको सर्वसाधारणको रुचि देखाउँछ ।
नेपाल धितोपत्र बोर्डमा प्रारम्भिक सेयर निष्काशन (आइपिओ) का लागि निवेदन दिने कम्पनीहरुको संख्या २२ पुगिसकेको छ । उनीहरुले करिब ५ अर्ब ९५ करोड रुपैयाँ बराबरको सेयर जारी गर्न बोर्ड समक्ष आग्रह गरेका छन् । बोर्डले अनुमति दिएमा पुँजी बजारमा ५ करोड २८ लाख १२ हजार ८९४ कित्ता सेयर थपिनेछ ।
बोर्डमा आइपीओ निष्कासनका लागि अनुमति माग्नेमा अधिकांश कम्पनीहरु जलविद्युत समूहका रहेका छन् । आइपीओ निष्कासनका लागि अनुमति माग्ने २२ कम्पनी मध्ये १३ वटा जलविद्युत कम्पनी रहेका छन् भने ६ वटा लघुवित्त कम्पनी, २ वटा बीमा कम्पनी र डिस मिडिया नेटवर्क रहेको छ ।
तर, रिलायबल लाइफ इन्सुरेन्सले सर्वसाधारणका लागि प्रिमियममा आइपीओ बिक्री गर्न अनुमति मागेको बोर्डले जनाएको छ । रिलायबलले प्रतिकित्ता ११२ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता रू २१२ मा आइपीओ बिक्री गर्न अनुमति मागेको हो ।
आवेदन दिएका कम्पनीमध्ये डिस मिडिया, आइएमई लाइफ इन्सुरेन्स, माथिल्लो सोलु जलविद्युत कम्पनी, माथिल्लो हेवाको सेयर निष्काशनका बारेमा प्रारम्भिक मूल्याँकन सम्पन्न गरी टिप्पणी सम्बन्धित कम्पनीमा पठाइएको बोर्डले जनाएको छ ।