काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक सुरु भएको छ । महाधिवेशनको प्रतिनिधिहरुको मापदण्ड अनुमोदन गर्नका लागि आज केन्द्रीय कमिटी बैठक बसेको हो ।
महाधिवेशनमा १५ सय ३६ जना प्रतिनिधि सहभागी हुने गरी मापदण्ड तयार पारेको छ । ललितपुरको च्यासलस्थित तुल्सी लाल स्मृति प्रतिष्ठानमा बैठक सुरु भएको हो ।
एमालेका प्रवक्ता प्रदीपकुमार ज्ञवालीका अनुसार ३३ प्रतिशत महिलासहित समावेशीताका आधारमा सङ्घीय निर्वाचन क्षेत्रबाट प्रतिनिर्वाचन क्षेत्रमा एक हजार ५०० पार्टी सङ्गठित सदस्य बराबर दुई खुला र एक महिला चयन हुनेछन् ।
निर्वाचन क्षेत्रमा एक हजार ५०० प्रतिनिधिभन्दा एक हजार सदस्य बढी भएपछि थप एक जना प्रतिनिधि थपिने र तीन हजार बढी सदस्य भए दुई महिलासहित छ जना प्रतिनिधि चयन हुनेछन् ।
महाधिवेशनमा केन्द्रीय कमिटी, केन्द्रीय आयोग र सल्लाहकार परिषद्बाट २६२ जना पदेन प्रतिनिधि हुनेछन् । यस्तै भूगोलबाट एक हजार १९६ र प्रवास क्षेत्रबाट २० र पार्टी निकट प्रत्येक जनसङ्गठनबाट पाँच जना प्रतिनिधि चयन हुनेछन् ।
एमालेको महाधिवेशन आगामी मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुँदैछ ।