२३ भाद्र २०८३, मंगलवार
,
Latest
रास्वपा सभापति लामिछानेले भने : ‘जेनजी आन्दोलनको मर्मबाट एक इन्च पनि विचलित हुने छैनौँ’ देवीघाटदेखि सिंचाईसम्म तत्काल अस्थायी पुल बनाउन स्थानीयको माग ‘सामाजिक सञ्जालमा अफवाह फैलाउनेविरुद्ध तीव्र निगरानीसहित कडा कारबाही’ हामीसँग पनि जवाफ माग्न भोलि फेरि कोही उभिनेछ: रवि लामिछाने क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा जेनजी आन्दोलनको वर्षदिनमा २४ अगुवाको प्रश्न : छानबिन प्रतिवेदन किन लुकाइयो? जेनजी फ्रन्टको निष्कर्ष : नयाँ सरकार आए पनि शासन शैली पुरानै बाजुराको साँफे–मार्तडी सडक सञ्चालनमा मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान सामाजिक सञ्जालको अशिष्टता रोक्न एमाले बाँकेको निगरानी, स्क्रिनसटसहित बुलेटिन निकाल्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

पत्रकार आचार्यले ल्याए रुइबा उपन्यास



अ+ अ-

नेपाली साहित्य क्षेत्रमा पत्रकारहरुले पनि सक्रियतापूर्वक कलम चलाउन थालेका छन्। लेखन पेशामै लागिरहेका पत्रकारहरु बीचमा पछिल्लो समय आख्यान र गैरआख्यानका कृति प्रकाशनमा प्रतिस्पर्धा जस्तै चलेको छ। यही मेसोमा चिनियाँ अन्तर्राष्ट्रिय रेडियो सीआरआई नेपाली सेवामा कार्यरत पत्रकार चेतनाथ आचार्य पनि उपन्यास लिएर नेपाली साहित्यको बजारमा देखिएका छन्।  दशैँको अवसरमा आचार्यको उपन्यास रुइबा फिनिक्स बुक्सले प्रकाशन गरेको हो। 

नेपाली साहित्यिक बजारमा रुइबाले फरक स्वाद पस्किएको छ। नेपाली परिवेश र चिनियाँ परिवेशलाई यो उपन्यासले सँगसँगै प्रस्तुत गरेको छ। धादिङ जिल्लाको तामाङ समाजबाट सुरु भएको उपन्यास विभिन्न घुम्ती पार गर्दै चीनमा पुगेको छ। उपन्यासले तामाङ संस्कृति र चालचलनलाई निकै गहन ढङ्गले प्रस्तुत गरेको छ।  

तामाङ संस्कृतिलाई केन्द्रमा राखेर सिर्जना गरिएकाले उपनयासको नाम रुइबा राखिएको आचार्य बताउँछन्। धेरै नेपाली पाठकलाई रुइबा शब्दको अर्थ थाहा नभएकाले यो चिनियाँ शब्द हो कि भन्ठान्छन्। आचार्य चीनको राजधानी बेइजिङमा बसेर पत्रकारिता गरिरहेको र बेइजिङमै बसेर उपन्यास लेखेकाले उपन्यासको नाम चिनियाँ भन्ठान्नु स्वाभाविक पनि हो। रुइबा चिनियाँ शब्द नभएर तामाङ भाषाको शब्द हो।

तामाङ जातिको मृत्यु संस्कारमा पछ्याइने एउटा परम्परागत चलन हो 'रुइबा'। हिजोआज तामाङ जातिमै लोप हुँदै गएको यो चलनलाई आफूले उपन्यासमा उतारेका आचार्यले बताए। उपन्यासले नेपाली ग्रामिण क्षेत्रको सामाजिक तथा आर्थिक पाटोलाई बोकेको र युवाहरु खाडी क्षेत्र तथा मलेसियामा पठाउने दलाली पेशाले गाउँलाई खोक्रो बनाएको विषयबाट उपन्यास सुरु भएको उनले ‌औँल्याए।

तामाङ मातृसत्ता प्रणाली अपनाउने जाति हो। तामाङ जातिमा छोरीलाई बिहे गरेर दिँदा माइति पक्षले बाउको थर र हाड दिँदैनन्। बिहे गरेकी चेलीको मृत्यु भएपछि माइतिले अस्तुको रुपमा चेलीको हड्डी ल्याएर सेलाउने चलन छ। यही संस्कृतिलाई व्यक्त गर्ने शब्द हो रुइबा । तामाङ भाषामा हड्डीलाई रुइ भनिन्छ। अनि लाश जलाएपछि लिइने अस्तुलाई चाहिँ रुइस्याल अथवा रुइबा भनिन्छ। उपन्यासले बोकेको सार यही भएको आचार्य बताउँछन्।

काठमाडौँ वरिपरी निकै बाक्लो तामाङ जातिको बसोबास रहेको भए पनि तामाङ जातिलाई केन्द्रमा राखेर लेखिएका आख्यानका कृतिहरु निकै थोरै छन्। पूर्व इलाम स्थायी बसोबास गर्ने आचार्यले बेइजिङमा बसेर लेखेको उपन्यासको पृष्ठभूमि चाहिँ धादिङ जिल्लाको उत्तरपश्चिम क्षेत्रका तामाङ जातिको चालचलनका बारेमा केन्द्रित छ।  आफूले उपन्यासको आधा भाग तामाङ संस्कृति र आधा भाग चिनियाँ संस्कृतिलाई विषय बनाएर लेखेको उल्लेख गर्दै आचार्यले भने 'तामाङ संस्कृतिलाई आख्यानमा उतार्नका लागि निकै अध्ययन गर्नुपर्ने रहेछ। तामाङ संस्कृति अध्ययन गर्दै उपन्यास लेख्दा ७ वर्ष लाग्यो।

काठमाडौँ वरिपरीको भूभाग तामाङ बस्ती भए पनि सिन्धुपाल्चोक र धादिङका तामाङमा फरक संस्कृति अँगाल्ने थाहा पाएपछि उपन्यास लेखनमा आफूलाई अझ कठिन भएको उनी सुनाउँछन्। काठमाडौँ पूर्वका तामाङ र काठमाडौँ पश्चिममा तामाङका सांस्कृतिक गतिबिधिमा धेरै फरक रहेछु उपन्यास लेख्दाको अनुभवका आधारमा आचार्यले भने ुधादिङका तामाङको संस्कृति अध्ययन गर्नका लागि काभ्रेका तामाङलाई सोधेर नहुने रहेछ। आकाश जमिनको फरक पर्ने भएपछि मलाई निकै समस्या भयो।

रुइबा उपन्यासले नेपाली समाजमा व्याप्त गरिबी, भोकमरी, वैदेशिक रोजगार, शोषण, पीडा र आँशुलाई बोकेको छ। यथार्थवादी सामाजिक चित्रण गरिएको उपन्यासले धादिङ र काठमाडौँको जनजीवनलाई निकै आहतपूर्ण तरिकाले पाठकसामु राख्ने प्रयास गरेको आचार्य बताउँछन्।  

बिगत २५ वर्षदेखि पत्रकारिता पेशा अँगाल्दै आएका आचार्यको यो छैटौँ कृति हो भने साहित्यिक कृतिमा चाहिँ यो उनको चौथो सिर्जना हो। उनका साहित्यिक कृतिहरुमा रित्तो कथाको तस्बिर (कथा सङ्ग्रह)२०६८, बुद्धको उपहार (कथा सङ्ग्रह) २०७१ र उपहार (कथा सङ्ग्रह) २०७५ प्रकाशित छन्। गैर आख्यानमा मेरा आँखामा चीन (समसामयिक लेख सङ्ग्रह) २०७२ र चीन चियाउँदा (संस्मरण) २०७४  प्रकाशित छन्।