१६ आश्विन २०८१, बुधबार
,
Latest
प्रस्तावित प्रधानन्यायाधीश राउतको आज संसदीय सुनुवाइ हुँदै अन्तिममा सम्हालिन नसक्दा नेपाल क्यानडासँग चार विकेटले पराजित तर्पण पिण्डदानका साथ आज पितृपक्ष विधिवत् समापन हुँदै वर्षाको सम्भावना कायमै, विज्ञ भन्छन्– आत्तिनु पर्दैन बाढीपहिरोका कारण १७ अर्बभन्दा बढीको क्षति, पूर्ववत् अवस्थामा फर्काउन के छ तयारी ? जलविद्युत् आयोजनामा बाढीको कहर, ११ सय मेगावाट विद्युत् प्रणाली बाहिर आर्सनलले पिएसजीलाई हरायो प्रचण्डको सक्रियता : उत्तरदायित्व बोध कि छायाँ सरकारको कसरत ? नौबिसे नागढुङ्गा सडक र पृथ्वीराजमार्ग राति पनि सञ्चालन उद्धार र राहतमा क्रियाशील रहन कांग्रेस शुभेच्छुक संस्था समन्वय विभागको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

खोप भण्डारणमा लम्बिँदो समस्या



अ+ अ-

विश्वले कोभिड–१९ व्याधिविरुद्ध खोप लगाउन थालेको एक वर्ष हुन लाग्यो, नेपालमै पनि ९ महिना बितिसक्यो । भनिरहनु परोइन, यो महामारीविरुद्ध जुध्न खोप कति महत्त्वपूर्ण छस स्वास्थ्य सावधानीका अतिरिक्त अहिलेसम्म सबैभन्दा भरपर्दो उपाय नै यही ठहरिएको छ ।

विश्वव्याधि फैलिएयता नै सबैको आशा र भरोसा अडिएको यति महत्त्वपूर्ण खोपको भण्डारण कक्ष निर्माणमा भने नेपालमा अहिलेसम्म कुनै प्रगति नहुनु विडम्बनापूर्ण छ । डेढ वर्षअघि नै ठेक्का लागेको भण्डारण केन्द्रको जगसमेत अझै नखनिनु व्यवस्थापन कौशल शून्यताको दुःखद नमुना मात्र होइन, शासकीय संयन्त्रहरूको गैरजिम्मेवारीको पराकाष्ठा पनि हो ।

भण्डारण केन्द्र निर्माणमा ढिलाइ भएकै कारण गत बुधबार चीनबाट आएको १६ लाखमध्येको भेरोसेल खोप राजधानीको टेकुस्थित स्वास्थ्य सेवा विभाग परिसरमा रेफ्रिजेरेटरसहित गाडीमा छ । छिट्टै ३० लाख डोज ल्याउने तयारी भए पनि उपयुक्त भण्डारण कक्ष नहुँदा खोप राख्नै समस्या छ । केन्द्रीय भण्डारण कक्ष नै टहरामा छ जसमा कोभिडबाहेक गर्भवती महिला र शिशुलाई दिनुपर्ने— बीसीजी, डीपीटी, हेपाटाइटिस ‘बी’, पोलियो, दादुरा, रुबेला, जेई, टिटानस, टीडी खोप नै कोचाकोच गर्नुपर्ने अवस्था छ । राजधानीबाहिर निर्माण भएका भण्डारण कक्षमा पनि ‘कोल्ड चेन’ जडान भएका छैनन् ।

सरकारले वैशाखसम्ममा २ करोड ५१ लाख ३९ हजार डोज कोभिड खोप ल्याउने लक्ष्य राखेको छ । तर खोप राख्ने ठाउँ नभएकैले खोप अभियान प्रभावित हुने देखिन्छ, जुन दुर्भाग्यपूर्ण छ । यसको असर नियमित खोपमा पनि परिरहेको छ । विश्व स्वास्थ्य संगठनले प्राकृतिक विपत्तिलगायत व्यवस्थापन कमजोरीका कारण समयमा खोप ल्याउन नसकिने भन्दै ६ देखि ११ महिनासम्मका लागि मौज्दात राख्नुपर्ने मापदण्ड तोकेको छ । तर, विभागले मुस्किलले ३ महिनाका लागि मात्र खोप राख्दै आएको छ ।

विज्ञहरूले मुलुकमा अत्याधुनिक खोप भण्डारण कक्षको आवश्यकता औंल्याएको आज होइन । विश्वभर कोभिड–१९ खोप परीक्षण भइरहँदा फरक–फरक तापक्रमका खोपका निम्ति नेपालमा यस्तो कक्षको आवश्यकता झनै टड्कारो देखिएको थियो । तर त्यसअघि नै अर्थात् २०७६ कात्तिकमै सरकारले राजधानीमा केन्द्रीयस्तरको अत्याधुनिक र सातै प्रदेशमा खोप भण्डार केन्द्र बनाउन थालेको प्रक्रियासमेत अझै अघि बढ्न नसक्नु अचम्मलाग्दो छ । दुई वर्षमा सक्ने गरी ८ करोड ४० लाख रुपैयाँ बजेटमा भण्डारण केन्द्र बनाउन २०७६ फागुनमा कौशल बस्नेत र कुँवर जेभीले ठेक्का पाए पनि डेढ वर्ष बितिसक्दा जगसमेत नखनिनु सम्बन्धित ठेकेदार र सरकारी निकायको चरम हेलचेक्य्राइँ हो ।

खोप भण्डार कक्ष मुलुकको स्वास्थ्य क्षेत्रको प्राथमिक आवश्यकताको विषय हो । शिशु, गर्भवती र अरू बिरामीका लागि आवश्यक पर्ने नियमित खोपहरू नै झन्डै २ करोड डोज आउँछन्, तिनकै लागि समेत गतिलो कक्ष आवश्यक छ । नियमित रूपमै गर्नुपर्ने यस कार्यका लागि महामारीले अझ झकझकाएको छ, तापनि सम्बन्धित संयन्त्रहरू अझै नब्युँझनु सरकारी ढिलासुस्तीको परिचायक मात्र होइन, उत्तरदायित्वहीनताको सूचक पनि हो । समय, परिस्थिति र आवश्यकताअनुसार कामको प्राथमिकता निर्धारण गरी तिनलाई फत्ते गर्ने दायित्वबोध सम्बन्धित अधिकारीहरूमा हुनैपर्छ । जुनसुकै सरकार आए पनि नफेरिने यस्तो प्रवृत्ति उदेकलाग्दो छ, जसको उपचार खोजिनुपर्छ ।

यति संवेदनशील कार्यमा जसका तर्फबाट ढिलाइ भएको भए पनि त्यो स्वीकार्य हुन सक्दैन । ठेकेदारहरू सर्तबमोजिम समयमै काम सक्न बाध्य छन्, सरकारी संयन्त्रले तिनलाई बाध्य तुल्याउनुपर्छ । र, दोष ठेकेदारलाई मात्र दिएर सरकार उम्कन पाउँदैन, ठेकेदारलाई उत्तरदायी बनाउने र अन्यथा अरू विकल्प प्रयोग गरेर भए पनि यथासमय जरुरी काम गर्ने/गराउने दायित्व सरकारको हो ।

काबुबाहिरको परिस्थितिबाहेक निर्माण प्रक्रियाका क्रममा उत्पन्न प्राविधिक कठिनाइ समस्या सल्टाउन महिनौं लाग्ने हुँदैन । जग खन्दा कालो माटो, बालुवा मिसिएको माटो र पानी भेटिएका कारण डिजाइन परिवर्तन गर्नुपर्दा केन्द्रीय भण्डारण कक्ष निर्माण कार्यमा यति धेरै ढिलाइ हुन सक्दैन । कर्मचारीले फाइल स्वीकृत नगरेकाले ढिलाइ भइरहेको ठेकेदारको तर्क छ, त्यसैले यसमा स्वास्थ्य सेवा विभाग संवेदनशील बन्नुपर्छ, उसले अविलम्ब यथोचित निर्णय लिन सक्नुपर्छ । प्रभावकारी खोप अभियान सञ्चालनका निम्ति आधारशिलासरहको भण्डारण निर्माणमा अब थप ढिलाइ हुनु हुन्न ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक दीपेन्द्ररमण सिंहले आफू भर्खरै आएको भन्दै यसबारे अनभिज्ञता जनाएका छन् । हुन पनि, यस अवधिमा विभागमा तीन जना महानिर्देशक परिवर्तन भएका छन्, यसबाट सरकारको काम गर्ने शैली अवश्य झल्किन्छ । तैपनि के हेक्का राख्नुपर्छ भने, संस्थागत स्मृति बलियो बनाउने हो भने नेतृत्व परिवर्तनले मात्रै ठूलो कुनै आयोजनाको समयावधि निकै धकेलिने हुँदैन । त्यसैले अब बिनाकुनै बहानाबाजी केन्द्रमा समयमै भण्डार कक्ष निर्माण गरिनुपर्छ र प्रदेशका केन्द्रहरूलाई सञ्चालनयोग्य बनाइनुपर्छ । (आजको कान्तिपुर दैनिकमा प्रकाशित सम्पादकीयबाट)