१६ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रकाशमानले संयन्त्रको विरोध गरेका कि पौडेलको ?



अ+ अ-

सरकारले सरकार सञ्चालनसम्बन्धी एक कार्यदल गठन गरेको छ । सो कार्यदल गठन गर्न प्रधानमन्त्री शेरबहादुर देउवा तयार भएपछि दुई दिनअघिको मन्त्रिपरिषद बैठकले सो प्रस्ताव पास गरेको हो । तर प्रधानमन्त्रीले भने सो कार्यदलमा आफू नबसेर नेपाली काँग्रसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई अध्यक्ष प्रस्ताव गर्नुभयो । प्रस्ताव मन्त्रिपरिषदबाट पारित भयो र पौडेलकै संयोजकत्वमा यो गठन पनि भयो ।

त्यसो त प्रधानमन्त्रीले यो संयन्त्रमा पौडेललाई प्रस्ताव गर्लान् भन्ने नै थिएन । किनभने पछिल्ला दिनमा पौडेल देउवाका कटु आलोचक हुन् । काँग्रेसीजनहरु नै भन्छन्– बरु एमालेले त्यस्तो विरोध गर्दैनन् पौडेलले देउवाको त्यति विरोध गरेका छन् । यो प्रत्यक्ष देखिएको पनि छ । पौडेलले आफ्नै फेसबुक वालमा पनि यस्तो विरोध गर्ने गरेका छन् । पौडेल हाल काँग्रस पार्टीमा भन्ने गरिएको संस्थापन इतर पक्षका नेता नै हुन् । यता पार्टी सभापतिमा पुनः देउवाले उठ्ने तयारी गरेका मात्र होइनन् राम्रो तयारी गरेका छन् । देशैभरिमा अहिलेसम्म आएको अधिवेशनको परिणामबाट देउवाको स्पष्ट बहुमत नै देखिन्छ, सभापतिकै दरिलो अवस्था देखिन्छ । सायद त्यसैले पनि पौडेल र उनको पक्षका नेताहरु देउवासँग बढी आक्रामक देखिएको हुनसक्छ ।

तर पछिल्लो अवस्था फेरिएको छ । केही अघि मन्त्रिपरिषद पुनर्गठन भएपछि पौडेलमाथि प्रकाशमान सिंह र सुजाता खनिए । उनीहरुले पौडेलबाट पार्टी चल्दैन त्यसैले उनी पार्टी सभापतिमा लायक छैनन् भने । त्यो क्रम अहिले पनि जारी नै छ । देशकै सबैभन्दा ठूलो एवं पुरानो राजनीतिक पार्टी नेपाली काँग्रेसको १४औं महाधिवेशन प्रकृया जारी छ । दशैं, तिहार र छठ पर्वका कारण केही सुस्ताएको झैं देखिएको पार्टी गतिविधि पुनः पुरानै लयमा फर्किएको छ, र देशव्यापी चुनावी माहौल तातेको छ । पार्टीको आगामी नेतृत्व छान्ने भएकाले पनि यो महाधिवेशनको विशेष महत्व छ । तर काँग्रेस पार्टीको नेतृत्व लिने होडबाजीका क्रममा यसरी उनीहरुजस्ता वरिष्ठ नेताहरु नै यसरी सार्वजनिक रुपमा मिडियामार्फत् नै बाझ्न थालेपछि यो सोभनीय देखिएको छैन । त्यसो त अहिले देखिएका पात्रहरुका बारेमा सबैलाई राम्रैसँग थाहा नै छ ।

पार्टीको मुख्य नेतृत्व अर्थात् पार्टी सभापतिमा प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । तर यो घोषणा अघि नै वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति बिमलेन्द्र निधि, पूर्व उपसभापति प्रकाशमान सिंह, महामन्त्री डा. शशांक कोइराला, केन्द्रीय सदस्य डा. शेखर कोइराला र नेत्री सुजाता कोइरालाले सभापतिमा उठ्ने बताइ नै सकेका छन् । उनीहरुले आ आफ्ना तौरतरिकाबाट आफ्ना उम्मेदवारीहरु सार्वजनिक गरिसकेका छन् । तर देउवा बाहेकका सभापतिका यी आकांक्षीहरुको एउटै आरोप छ, देउवाले पार्टीलाई लथालिंग बनाए । जबकी यो आरोपको कुनै तुक छैन । किनभने आज पनि कुनै न कुनै पदाधिकारीको स्थान ओगटेर बसेका यिनीहरुबाट पनि पार्टीलाई उत्पात हुने कुनै काम भएको देखिएको छैन । यसप्रति काँग्रेसका सबै कार्यकर्ताहरु जानकार र जागरुक नै छन् ।

अहिले यहाँको प्रसंग प्रकाशमान सिंहको हो । उनी अहिलेको नेतृत्वप्रति त आलोचक छन् नै पछिल्ला केही हप्तायता अझबढी आलोचना उनले पौडेलको गर्न थालेका छन् । आज पनि उनले गणेशमान सिंहको स्मृति सभालाई सम्बोधन गर्दै सरकारले गठन गरेको संयन्त्रको विरोध गरे । उनले यो संयन्त्र आवश्यक नै नरहेको बताए । उनले यतिसम्म भने कि सरकारलाई नियन्त्रण गर्ने पनि कुनै संयन्त्र हुन्छ ? यो संविधानमा कहाँ व्यवस्था गरिएको छ ? उनले यो संयन्त्रको विरोध गरिरहँदा अरु काँग्रेसका नेताहरुले भने लख काट्न सकेनन् कि उनले यो विरोध संयन्त्रको गरेका हुन् कि पौडेलको भनेर ।

वास्तवमा उनले यो विरोध संयन्त्रको भन्दा पनि पौडेलको गरेका छन् । प्रकाशमानलाई एउटा के डर देखिन्छ भने पौडेल देउवासँग नमिलुन् । उनी देउवासँग मिले भने यसले देउवालाई पार्टी सभापनि जित्नका लागि अहिलेको भन्दा थप सहज अवस्था बन्न सक्छ । अर्काे कुरा उनले देउवा पौडेलप्रति नरम भन्दा पनि गरम बनुन् भन्ने चाहन्छन् ।  उनी गएको निर्वाचनमा देउवाको नेतृत्वका कारण पार्टीको भोट पहिलेभन्दा घटेको आरोप लगाउँछन् । काँग्रेसलाई बर्तमान नेतृत्वले लथालिंग बनाएकाले विधि, पद्धति र प्रक्रियामा लगेर काम गर्नेलाई आगामी महाधिवेशनबाट चयन नगरे फेरि पनि भद्रगोल अवस्था हुने जिकिर उनको छ । सिंहले यतिखेर चाक्सीबारीदेखि पार्टीका हरेक बैठक, भेलामा नेतृत्वमाथि मात्र गालीगलौज गरिरहेको सुनिन्छ । हिजोका दिनमा देउवाकै साथ र सद्भावबाट उनी यो राजनीतिक हैसियतमा पुगेको कुरा उनी अहिले सम्झिन चाहन्नन् ।

यो संयन्त्र वास्तवमा देउवाले सत्तारुढ गठबन्धनको गनगनले बनाएका हुन् । यसमा बढी चासो प्रचण्डको देखिन्छ । किनभने उनले यसको माग अघिल्लो ओली सरकारका समयमा पनि गरेका थिए । तर यसका लागि केपी ओली तयार भएनन् । देउवाले भने सत्तारुढ गठबन्धनका लागि पनि यो संयन्त्र निर्माण गरिदिएका हुन् । त्यसमा पनि प्रधानमन्त्रीले अझबढी राम्रो त पौडेललाई संयन्त्रमा राखेर गरेका छन् । यसबाट देउवा पार्टीमा संस्थापन इतर पक्षसँग मिलेर जान चाहन्छन् भन्ने स्पष्टै देखिन्छ । उनी पेलेर होइन कि मिलाएर जान चाहन्छन् भन्ने सन्देश पनि यसबाट लिँदा फरक पर्दैन । सरकार सञ्चालनका लागि निर्माण गरिएको यति संवेदनशिल संयन्त्रमा समेत उनले आफू नबसेर आफ्ना पार्टीका वरिष्ठ नेतालाई राख्नुको अर्थ के होला ? यसबाट देउवाको सदासयताबाहेक अरु के बुझ्न मिल्छ ? अनि हिजो सभापति एक्लै हिँडे, सरकार सञ्चालनका विषयमा पार्टीमा सरसल्लाह भएन भन्ने आरोप लगाउने उनीसहित पौडेलहरु नै हुन् । तर आज सरकार सञ्चालनका लागि सरकारभन्दा पनि माथि हुनेगरी निर्माण गरिएको संयन्त्रमा पौडेललाई राख्दा पनि विरोध गर्नु भनेको यो विरोधका लागि विरोधभन्दा अरु केही होइन । त्यसैले प्रकाशमानको यो विरोध पौडेलको हो या संयन्त्रकै ? यसको जवाफ काँग्रेसका समग्र कार्यकर्ताहरुले खोजिरहेका छन् ।