नेपाल हिमाल, पहाड र मधेस–तराइको साझा घर हो । यो आधारअभूत रुपमा नै बहुजातिय, बहुभाषिक र बहुधार्मिक देश हो । यहाँँ थुप्रै जाति, जनजाति, धर्म र सम्प्रदायका मानिसहरु मिलेर बसेका छन् । यहाँँका धेरैजसो अञ्चलहरु भूगोलको नाममा, जिल्लाहरु स्थानीय भाषामा भूगोल, ऐतिहासिक व्यक्ति र ठाँउको नाममा, र गाविसहरु भने स्थानीय भाषामा भूगोल, जातजाति र थरको नाममा समेत नामाकरण गरिएका छन् ।
तर, राजनैतिक दलहरु संघीयताको निर्माणको सन्दर्भमा समाधानको बाटोमा भन्दा द्वन्दको बाटोमा अग्रसर भएको देखिन्छ । वास्तवमा, हाम्रो देशमा हालसम्ममा पनि धेरैजसो जिल्ला र गाबिसहरुको नामाकरण स्थानीय भूगोल, ऐतिहासिक व्यक्ति र वास्तविकताको आधारमा निर्माण भएको देखिन्छ ।
क) जात–जाति र थरको नाममा राखिएका गाबिस, वडा र टोलहरु :
हाम्रो देशको कतिपय वडा, गाबिस र टोलका नामहरु धेरै पहिलेदेखि नै त्यस ठाउँँमा सबैभन्दा पहिले बसोबास गर्ने जाति र थरको नाममा पनि राखिएका छन् । उदाहरणको लागि काठमाडौंको ब्रह्मटोल र थापा गाउँ, ललितपुरको मगरगाउँ, काभ्रेको खरेलथोक, सिन्धुपाल्चोकको लामिडाँडा (लामागाँउ) र कामीथोक, धादिङको माझीगाँउ, लमजुङको घलेगाँउ, बाग्लुङको बोहराचौर र अधिकारी चौर, अछामको तिमिल्सैन, दैलेखको नौलेकटुवाल, जाजरकोटको रोकायगाँउ, बझाङको कोइरालाकोट, दार्चुलाको सितौला इत्यादी ।
देशको बिभिन्न ठाँउमा बाहुनडाँगी, कार्कीथोक, गुरुङगाँउ , शेर्पागाँउ, घलेगाँउ, दमै टोल, कामीगाँउ, घरतीगाँउ भन्ने चलन अध्यापि छँदैछ । जाति र थरको नामले बनेका त्यत्रा बिघ्न गाबिस र टोलहरुले मुक्तियुद्द गरेको र देश टुक्र्याउन खोजेको कहिले पनि देखिएन । बिभिन्न जात–जातिका नेपालीहरु सह–अस्तित्व र अन्तर निर्भरताकै आधारमा संगसंगै बाँचेका छन् ।
ख) स्थानीय भाषामा नामाङ्कित नामहरु :
देशको कतिपय गाविस र ठाँउका नामहरु स्थानीय भाषामा पनि नामाङ्कित गरिएका छन् । जस्तै काठमाडौंको मरु, मखः, थँहिती, ललितपुरको क्वाबहाः, न्याढ, लूँहिटी, भक्तपुरको झौखेल, लायकु, ता पुखु, सिन्धुपाल्चोकमा ह्यल्मू, लिस्ती, काभ्रेमा धुलिखेल (धौख्यः), ताप्लेजुङमा हाङपाङ, हाङ्देव, र खोप्लिङ र पाँचथरमा पनि आङ्ना, आङ्सराङ्, लुङ्रुरुपा आदी जस्ता धेरैजसो गाबिसहरु स्थानीय भाषामा नै राखिएका छन् ।
तराइमा पनि रुपेन्देहीमा भैरहवा, धनुषामा झोझी, कतैया र पटेर्वा, बारामा बतरा, पुरैनिया र सिहोर्वा, मोरङमा आमगाछी, सिसबनी र झुर्किया जस्ता स्थानिय भाषामा नामाकरण गरिएको छ । त्यस्तै, मनाङमा पिसाङ र घ्यारु, स्याङ्जामा क्याकमी र ओरास्ते, रोल्पामा भवाङ, लिवाङ र खुङ्री, डोल्पामा दुनै र साल्डङ, हुम्लामा मेल्चम र मिमी, मुगुमा माङ्री र मिही, सुर्खेतमा गुथु र गुमी, डोटीमा जिजोदमान्डौ र कदमन्डौं जस्ता गाबिसहरु पनि छन् । देशमा यस्ता धेरै उदाहरणहरु रहेका छन् ।
ग) स्थानीय भाषा तथा नेपाली राष्ट्रिय भाषामा नामाकरण गरिएका नामहरुः
हाम्रो देशको धेरै जसो जिल्लाका नामहरु त्यहाँको स्थानीय भाषा वा राष्ट्रिय भाषामा स्थानीय नदीनाला, हिमाल, ताल र ऐतिहासिक स्थान आदिबाट नामाकरण गरिएका छन् । उदाहरणको लागि संखुवासभा, सोलुखुम्बु, म्याग्दी, स्याङ्जा, रोल्पा, डोल्पा, रुकुम, मुगू, मनाङ, मुस्ताङ, सोलुखुम्बु, सिन्धुली, सिन्धुपाल्चोक, ताप्लेजुङ, इलाम, मोरङ, सप्तरी, रौतहट, ताप्लेजुङ् इत्यादी ।
तसर्थ, अब संघीय राज्यको नामाकरण भूगोल, ऐतिहासिक वास्तविकता र परम्परागत जातिय (राष्ट्रिय) बसोबासको आधारमा वा सबैलाइ मिलाएर पनि राख्न सकिन्छ । मुख्य कुरा देशमा सबैको समान अधिकार र स्वामित्व स्थापना गर्नुस् । गरीब, सुबिधाबिहीन र सिमान्तक्रित जाति, वर्ग र समुदायलाई राष्ट्रिय मूलप्रवाहमा समाहित र समावेश गर्न विशेष सुविधाको बन्दोबस्त गर्नु र राष्ट्रिय अखण्डताको संवद्र्धन गर्नु नै हो । कसैले पनि यो देशमा जातिय राज्य (एथ्निक स्टेट्) स्थापनाको लागि राजनीति गर्नु राम्रो कुरा होइन ।
तर, ऐतिहासिक वास्तविकताको आधारमा आफ्नो भाषा, भेशभुषा र संस्कृतिको संरक्षण र संवद्र्धनको लागि आवाज उठाउनु जायज कुरा हो । कसैले पनि आफ्नो अधिकारको उपयोग गर्दा अरु कसैको पनि हक–अधिकारको हनन् गर्नु सही कुरा होइन । तर राष्ट्रिय एकताको नाममा एकल जातिय र भाषिक प्रभुत्व कायम गर्नु कुनै पनि हालतमा देश र जनताको हितको कुरा निश्चय पनि होइन । साथै, अबको संघीय लोकतान्त्रिक गणतन्त्रमा देशका सबै जातजाति, भाषाभाषी, धर्म–सम्प्रदायको जनताको समान अधिकार स्थापना हुनु र सो मुताविक राष्ट्रको संरक्षण र संवद्र्धन गर्नु आजको आवश्यक्ता र युगको माग हो । आआफ्नै राजनीतिको डम्फु मात्रै बजाएर समस्याको समाधान पक्कै हुने छैन । अन्यथा, देशमा कसैको हित हुने छैन, सबैमा चेतना भया !!!
(लेखकको फेसबुकबाट)