२० जेष्ठ २०८३, बुधबार
,
Latest
फिर्के खोला वरपरका १६० संरचना हटाइयो खेलकुदका माध्यमबाट अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा महत्त्वपूर्ण योगदान पुग्छ : राष्ट्रपति तापक्रममा वृद्धि, काठमाडौँमा पनि बढ्यो गर्मी छल्न बर्दिबासका विद्यालय बन्द अन्नपूर्ण आरोहण दिवसमा लमजुङको दोर्दीमा पर्वतारोहीहरू सम्मानित इरानी आक्रमणमा कुवेत विमानस्थलमा एकको मृत्यु, ६३ घाइते गाजाको ७० प्रतिशत क्षेत्र नियन्त्रण गर्ने विषय अमेरिकी शान्ति योजनामा समावेश छैन : रुबियो अष्ट्रेलियामा विद्युतीय सवारी बजारमा तीव्र वृद्धि दुर्गम क्षेत्रमा इन्टरनेट विस्तारसँगै इन्डोनेसियाको नयाँ डिजिटल नीति पोखरा–जोमसोम हवाई सेवा तीन महिना बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रदेशसभाको बैठक प्रतिपक्षद्वारा बहिष्कार



अ+ अ-

धनगढी, १७ असोज (रासस) : सुदूरपश्चिम प्रदेशको प्रदेश सभाको आज बसेको बैठक पनि प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेसले बहिष्कार गरेको छ ।

बैठक प्रारम्भ हुनासाथ आ–आफ्नो स्थानमा उठेर काङ्ग्रेसका सदस्यहरुले विरोध गरेपछि सभामुख अर्जुनबहादुर थापाले बोल्ने समय दिनुभयो ।

प्रतिपक्षी काङ्ग्रेस संसदीय दलका नेता डा रणबहादुर रावलले असोज १२ गतेको प्रदेशसभाको बैठकमा प्रदेशको स्थायी राजधानी रहने स्थान र नामाङ्कनको प्रस्ताव पारित गर्दा संसदीय विधि र प्रक्रिया मिचिएको जिकिरसहित काङ्ग्रेसका सदस्यहरु बैठक कक्षबाट बाहिरिने बताउनुभएको थियो ।

सरकारका तर्फबाट सामाजिक विकासमन्त्री दीर्घबहादुर सोडारीले स्थायी राजधानी तोकिएको ठाउँमा पर्यावरणको समस्या निम्तिने भन्दै राजधानीको विषयलाई मुद्दा बनाएर बैठक बहिष्कार गर्नु उचित नभएको बताउनुभयो ।

आजको बैठकको विशेष समयमा बोल्ने सत्तापक्षका सदस्यले स्थायी राजधानीको विषयमा प्रदेशसभाले पारित गरेको निर्णयमा प्रतिपक्षीले देखिएको व्यवहार लोकतन्त्र विपरीत भएको र पत्रपत्रिकामा आएका समाचार भ्रमपूर्ण भएको भनी विरोध गरेका थिए ।

बैठकमा सभामुख थापाले प्रदेशसभाका विभिन्न समितिका सभापतिको निर्वाचन यही असोज २२ गते हुने कार्यतालिका रहेको जानकारी दिनुभयो । प्रदेशसभामा अर्थ विकास तथा प्राकृतिक स्रोत समिति, विधायन तथा प्रदेश मामिला समिति, सार्वजनिक लेखा समिति र सामाजिक विकास समिति गरी चार वटा समिति रहेका छन् ।

यसअघि गत जेठ १३, २१ र ३१ गते तीन पटक समितिका सभापतिको निर्वाचनको मिति तोकिएकामा दलको आग्रहमा त्यति बेला निर्वाचनको कार्यक्रम स्थगित गरिएको थियो । आजको प्रदेशसभा बैठक प्रमुख प्रतिपक्षी काङ्ग्रेसले बहिष्कार गरे पनि अर्को प्रतिपक्षी दल राजपाले प्रदेशसभा बैठक धेरै दिन अनिर्णयको बन्दी बनाउन नहुने भन्दै बैठकमा सहभागिता जनाएको थियो ।

प्रदेशसभाको अर्को बैठक असोज १८ गते बिहीबार दिउँसो २ बजे बस्नेछ ।