३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar संविधानको रक्षा र राष्ट्रिय एकताका लागि एकजुट हुनुपर्नेमा अध्यक्ष ओलीको जोड News Polar दरवाङ–मुना–ढोरपाटन सडक : १४ महिनामा २५ प्रतिशत प्रगति News Polar मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीद्वारा संविधान दिवसको शुभकामना News Polar सङ्घर्षका सात वर्ष : सूचना र सामाजिक उत्तरदायित्वको प्रतिबद्धता News Polar भक्तपुरमा ट्याङ्करको ठक्करबाट मोटरसाइकलमा सवार महिलाको मृत्यु, श्रीमान् घाइते News Polar आज कागे अष्टमी पर्व मनाइँदै News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar नोर्डक्याप यात्रा, उत्तरी नर्वेको आकर्षक गन्तव्य News Polar विदेशी विद्यार्थीलाई नेपालमा अध्ययनका लागि वातावरण बनाउनुपर्छः मुख्यमन्त्री कार्की News Polar कृषिमन्त्री चौधरीसँग पाकिस्तानका राजदूतको शिष्टाचार भेट News Polar मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा News Polar पत्रकार अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ जापानमा विमोचन News Polar बाढीको कटानले मुग्लिनदेखि गल्छीसम्मको सडकमा क्षति News Polar फ्लाइ दुबईले पोखराका लागि दैनिक प्रत्यक्ष उडान सञ्चालन गर्ने घोषणा News Polar धनधान्यकी देवी महालक्ष्मीको आजदेखि १६ दिनसम्म विशेष आराधना सुरु News Polar सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि १४ कार्यक्रम सञ्चालनमा News Polar अर्थमन्त्री डा स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री डा एस जयशङ्करबीच भेटवार्ता News Polar रेग्मीको अध्यक्षतामा नेफेजमा नयाँ कार्यसमिति चयन News Polar स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित गर्न ऐन संशोधनको तयारी News Polar देशमा द्रुत आर्थिक वृद्धिका लागि कृषि क्षेत्रमा लगानी वृद्धि गर्नुपर्छः संयोजक दाहाल

आकर्षक गन्तव्य बन्दै डाेल्पाकाे राजारानी क्षेत्र

आकर्षक गन्तव्य बन्दै डाेल्पाकाे राजारानी क्षेत्र
अ+ अ-

– रामचन्द्र न्यौपाने

दुनै, डोल्पा, १८ मङ्सिरः  डोल्पा जिल्लाका ऐतिहासिक स्थलहरुमध्येको एक हो, राजारानी क्षेत्र । मनमोहक ठाउँ र रोचक इतिहास भएकै कारण हिजोआज यो ठाउँ आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्न थालेको छ ।

त्रिपुरासुन्दरी नगरपालिका–१ रल्ली गाउँमा राजारानी डाँडा रहेको छ । क्षेत्री र दलित समुदायको बसोबास रहेको यो गाउँ राजारानी क्षेत्रको इतिहासको साक्षीको रुपमा रहेको छ । गाउँको तलतिर मध्यभागमै छ, राजारानी डाँडा । हराभरा सल्लाको जङ्गलले त्यस क्षेत्रको सुन्दरतालाई थप मनमोहक बनाइदिएको छ । बाह्रै महिना एउटै गतिमा बहने हावाले चैत–वैशाखको गर्मीमा पनि यहाँका बासिन्दालाई शीतलता प्रदान गर्छ ।

प्राकृतिक सुन्दरता मात्रै यहाँको परिचय होइन । रोचक प्राचीन इतिहास पनि यो ठाउँसँग जोडिएको छ ।

डाँडाको पूर्वतर्फको फेदैमा छ सिमालो (भिजेको) जमीन । करीब दश रोपनी क्षेत्रमा फैलिएको सेरा खेतको आफ्नै इतिहास छ । सयौँ वर्ष अघि बाजागाजासहित यहाँ धान रोपाइँ गरिन्थ्यो । जेठ महिनामा गरिने धान रोपाइँमा खेताला, गोरु, रोपार्नी जिल्लाका विभिन्न विकट गाउँहरुबाट रल्लीगाउँ पुग्थे ।

रोपाइँ शुरु गर्नु पूर्व मान्छेको बलि दिने अनौठो परम्परा थियो । यदि मान्छेको बलि नदिएरै रोपाइँ शुरु गरिए सबै खेताला, गोरु हिलोमा फस्ने र अनिष्ट हुने विश्वास थियो ।

“खेतबाट पचास मिटर टाढा मानव बलिका लागि प्रयोग गरिने पाँच मिटर लामो त्यत्तिकै गहिरो अनौठो ढुङ्गा छ, त्यसैमा मान्छेलाई राखेर बलि दिने गरिन्थ्यो,” स्थानीय विषमान नेपालीले भन्नुभयो – “त्यो अनौठो ढुङ्गा अझै पनि देख्न पाइन्छ । त्यसैमा रोपाइँका दिन काटिने मान्छेको नाम लेखिएको हुन्थ्यो ।”

यो प्रथालाई निरन्तरता दिँदा सबैजना आफ्ना परिवारका सदस्य जिउँदै काटिने त्रासले गाँउघरमा रुवाबासी नै चल्थ्यो । यो डरलाग्दो प्रथा बाबुछोराको जोडीले जुक्ति लगाएर हटाएको बताइन्छ । साविकको माझफाल गाविसका बाबुछोराले ढुङ्गामा लेखिएका अक्षर बासो(फलामे औजार)ले ताछेर मेटाएपछि आफूहरु काटिन नपरेको र यसपछि यो प्रथा टुटेको यहाँका बूढापाकाहरु बताउँछन् । बाइसे–चौबीसे राज्य हुँदा डोल्पाका नौ राज्यमध्ये शक्तिशाली मानिने एक राज्यमा लिम्बुल्याप्चे नामका भोटे राजाले शासन गर्थे ।

रोपाइँ गरेको खेत अहिले बाँझो अवस्थामा छ । स्थानीयवासीले पशुबस्तु चराउने ठाउँको रुपमा यसलाई प्रयोग गर्दैआएका छन् ।

राजारानी डाँडामा हालै प्राचीन वस्तु भेटिएका छन् । चार वर्ष अगाडि पुरातत्व विभागको टोली अनुसन्धानका लागि यहाँ पुगेको थियो । चौध दिनसम्म बसेर यो टोलीले स्थानीय बासिन्दासँग परामर्श ग¥यो र विभिन्न स्थानमा उत्खनन् ग¥यो । उत्खनन्मा सयौँ वर्ष पुराना वस्तुरुहरु फेला परे जसमा पत्थरबाट बनेका बहुमूल्य माला (पुलिक) दुई थान, फलामबाट बनेको तीर पाँच थान, माटाका भाँडा ३ थान, मानव साङ्लो, धातुका हातहतियार र केही मानव अस्थिपञ्जर थिए । अनुसन्धान गर्ने भन्दै ती वस्तुहरु विभागले काठमाडौँ लगेको थियो ।

फेला परेका पुरातात्विक वस्तुहरु त्रिपुराकोटमा एक पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको थियो ।

“धामी (देउता चढेर भविष्यवाणी गर्ने मान्छे) ले उत्खनन् गर्न रोक लगाएका थिए, पुरातत्वको टोलीलाई पनि उत्खनन् नगर्न भन्यौं तर मानेन, उत्खनन् ग¥यो,” स्थानीयवासी टोपबहादुर शाहीले भन्नुभयो ।

स्थानीयवासीले फेला परेका ती वस्तु डोल्पामै राख्न आग्रह गरेको थियो । “परीक्षण पछि पुनः डोल्पा फर्काउने भन्दै लगिएका प्राचीन वस्तुहरु कहाँ, कस्तो अवस्थामा छन् अत्तोपत्तो छैन,” शाहीले भन्नुभयो ।

“राजारानी क्षेत्रलाई संरक्षित क्षेत्रको रुपमा प्रवद्र्धन गर्ने र थप अनुसन्धानका लागि केही समयभित्रै डोल्पा पुग्ने बाचा गरेर उक्त टोली फर्केको शाहीले स्मरण गर्नुभयो ।

डाँडाभरी जमीनमुनि घर

राजारानी डाँडा वरिपरि ठाउँठाउँमा जमीनमुनि बनाइएका खाडल आकारका घर भेटिन्छन् । जमीनभित्रै ढुङ्गाबाट बनाइएका जस्ता देखिने घरहरुको अवलोकन गरेपछि त्यहाँ पुग्ने मान्छेहरु अचम्ममा पर्छन् । त्यहाँभित्र सयौँ वर्ष पुरानाजस्ता लाग्ने मानव अस्थिपञ्जरहरु अझै देख्न पाइन्छ ।

नेपाल एकीकरणका क्रममा डोल्पा पुगेका बहादुर शाहको टोलीबाट बच्न यस्ता खाडल बनाइएको बताइन्छ । उक्त टोलीसँग युद्धमा मरेका सैनिकहरुलाई गाडिएकाले पनि धेरै परिमाणमा मानव अस्थिपञ्जर भेटिएको अनुसन्धानकर्ताहरुको तर्क छ ।

उत्खनन्मा भेटिएका पुरातात्विक वस्तुहरु त्यहाँका राजा र प्रजाका सम्पति भएको अनुमान गरिएको छ ।

राजारानी देवल

त्यस क्षेत्रको अर्को आकर्षण राजारानी देवल हुन् । प्राचीन ढुङ्गा कुँदेर बनाइएका उक्त देवलहरु निकै नै आकर्षक देखिन्छन् । त्यहाँ पुग्ने जो कोही ती देवल क्यामरामा कैद गर्न आतुर हुन्छन् ।

यहाँका राजाले सम्झनाका लागि राजारानी देवल खडा गरेको एकथरीको भनाइ छ भने अर्काथरी मान्छेहरु डोल्पा एकीकरण गर्न आएको बहादुर शाहको टोलीले त्यहाँको राजालाई मारिसकेपछि उनीहरुको स्मारकको रुपमा देवल खडा गरेको बताउँछन् ।

राजारानी क्षेत्र अहिले लोप हुने अवस्थामा पुगेको छ । सयौँ वर्ष पुरानो इतिहासको साक्षीको रुपमा रहेको र पुरातत्व विभागले सूचीकरण गरेको यस क्षेत्र मानवीय अतिक्रमणको चपेटा पर्न थालेको हो ।

स्थानीय बासिन्दाले जथाभावी उत्खनन् गरेर माटो र ढुङ्गा निकाल्न थालेपछि ऐतिहासिक पहिचान मेटिने खतरा बढेको स्थानीयवासी तुलबहादुर श्रेष्ठले बताउनुहुन्छ ।

यस क्षेत्रको अवलोकन भ्रमण गर्न जिल्लाका विभिन्न ठाउँबाट आन्तरिक पर्यटकहरु आउने गरेका छन् तर, संरक्षणका लागि कतैबाट पहल भएको छैन ।

यहाँबाट भेरी नदी, त्रिपुरासुन्दरी मन्दिर, मुकुटेश्वर हिमाललगायत चारैतिरको दृश्य अवलोकन गर्न सकिने भएकाले भ्यु टावर निर्माण गर्न उपयुक्त हुने स्थानीय बासिन्दा बताउँछन् ।

धेरै विद्यालयबाट विद्यार्थीहरु यस ठाउँमा शैक्षिक भ्रमणमा आउने क्रम बढेर गएको छ ।

आगन्तुकहरु यहाँ पुगेर मान्छे बलि दिन प्रयोग भएको ढुङ्गा, सेरा खेत, राजारानी देवल, जमीनमुनिका घर, मानव अस्थिपञ्जरको अवलोकन गर्ने गर्छन् । पछिल्लो चार महिनायता मात्रै दर्जनौं विद्यालयबाट आएका विद्यार्थीले सो क्षेत्रको भ्रमण गरेको स्थानीयवासी पन्न उखेडाले बताउनुभयो ।

रमाइलो वातावरण भएकै कारण चलचित्र छायाङ्कन गर्न समेत मान्छेहरु यहाँ पुग्ने गरेका छन् । केही महिना अगाडि मात्रै डोल्पाको मौलिक परिवेश र यहाँको कष्टकर जीवन शैलीलाइ कथा बनाएर निर्माण गर्न लागिएको चलचित्र म्हेन्दुको छायाङ्कन यहाँ गरिएको थियो ।

अनौठो र रोचक इतिहास बोकेको राजारानी क्षेत्र अवलोकन भ्रमणका लागि सबैजना एकपटक पुग्नैपर्ने शिक्षक लोकेश खत्रीले बताउनुभयो ।

जिल्लाकै प्रमुख ऐतिहासिक ठाउँ भएर पनि कुनै पनि निकायले संरक्षणका लागि चासो नदेखाएकामा स्थानीय बासिन्दा चिन्तित बनेका छन् । शुरुमा घेराबार गरेर यसलाई संरक्षण गर्नुपर्ने उनीहरुको सुझाव छ । (रासस)