एकराज पाठक
हरेक अनाज, उपज या बनस्पतिको उत्पत्ति माटोबाटै हुन्छ, माटो नभई यो सृष्टि चल्दैन । त्यसैले पृथ्वीलाई जननी मानिएको हो । तर आमालाई जस्तै गाह्रो छ पृथ्वीलाई पनि चराचर जगत पाल्न । किनकि जननीलाई माटो बनाउन गाह्रो छ । खेतीगर्ने जमिनको १ सेन्टीमीटर माटोको तह जम्मा हुनलाई कम्तीमा ४ हजार वर्ष लाग्छ । तर हलोको सियोले भेट्ने माटोको गहिराई २५ सेन्टीमीटर हुन्छ । हिसाब छर्लङ्गै छ । फेरि हलोको सियोले मात्र भेट्ने त्यो माटोको तह भनेको सानो वा छोटो जरा भएका खेतीबालीहरु जस्तै धान, गहूँ, कोदो, तरकारीका झालहरु आदिका लागि मात्र हो । मकैलाई त्यतिमात्र गहिराईले पुग्दैन किनभने मकैका जरा २ मीटर गहिराइसम्मै पुग्छन् । अब दुई दुई मीटर माटो बन्न कति हजार वर्ष लाग्यो ?
जल, स्थल र वायुको भण्डारण नै माटो हो । यो प्रांगारिक पदार्थ, जिवाणु र चिस्यान मिलेर बन्छ । यसरी माटो बन्ने प्रक्रियाले पछिल्लो समयमा गति लिन सकेको छैन । जिवाणुहरुले चिस्यानको माध्यमबाट प्रांगारिक पदार्थ कुहाएर माटो बनाउनुपर्नेमा कीटनाषक औषधि या बालीमा विषदीको प्रयोगले गर्दा जिवाणुहरु पनि मर्छन् । यसका कारण माटो बन्ने प्रक्रियाका लागि जिवाणु कुहिन छाडेका छन् । अहिलेको विश्वमा धेरै विषादिको प्रयोगले गर्दा पनि माटो बन्ने प्रक्रियामा ह्रास आइरहेको छ । यसबाहेक माटोको कमी हुदै गएका अरु पनि धेरै कारण छन् । तर जिवाणुबाट बन्ने नियमित र वैज्ञानिक प्रक्रिया यसरी नै कमहुदै गयो भने यसले मानव र जिवमा पार्ने स्वास्थ्यको असर पनि भयावह हुदै जाने देखिन्छ ।
कृषि अनुसन्धान परिषद, नार्कका वरिष्ठ कृषि बैज्ञानिक डा.टीकाबहादुर कार्कीलाई अहिले यसैको छ बढी चिन्ता । यति कठिन प्रक्रियाबाट बनेको माटो बगेर गएको र क्षीण भएकोमा उनी चिन्तित छन् । माटो बन्ने प्रक्रिया नै यति मन्द गतिमा छ फेरि यसरी बनेको माटो पनि बगेर गएको छ । उनी भन्छन्— यति महंगो माटो प्रति हेक्टर ०.५ देखि २५ मेट्रिक टनसम्म बगेर गएको छ । यो माटो मनशुुन पूर्वमा पर्ने पानीले बढी बगाउँछ । मनशुन पूर्वको जमिन खाली हुन्छ । अनि त्यस समयमा नियमित र मन्द नभएर खहरे बढ्ने प्रकृतिको पानी पर्छ । यस्तो अवस्थामा खाली जमिनको माटो बगेर जाने सम्भावना धेरै हुन्छ । त्यसैले यो माटो बगेर जाने गर्दछ । तर मनशुन सुरु भएपछि भने नेपालको सन्दर्भमा अध्ययन गर्दा त्यस जमिनमा मकै तथा अन्य बनस्पतिहरु उम्रिने भएकोले त्यति धेरै माटो बग्न पाउँदैन । फेरि मनशुनको पानी एक्कासी धेरै पर्ने नभई धैर्यताका साथ वर्षा हुने भएकोले पनि माटो त्यति धेरै बग्दैन, रोकिन्छ । यस्तो मनशुन पूर्वको अवस्थामा बाढीले माटो बग्ने मात्र नभएर पहिरोको सम्भावना पनि हुन्छ । लामो समयपछि पानी पर्ने र ठूलो पानी पर्ने भएकोले यस्तो बेलामा आएको पानीले जमिनमा चिरा पार्ने र पहिरो हाल्ने काम गर्दछ ।
त्यसो भए यो महंगो माटो कसरी बचाइराख्ने त ? वरिष्ठ वैज्ञानिक डा.कार्की गएको दशकदेखि यही उपायको खोजीमा छन् । उनको माटो बचाइराख्ने हतियार बनेको छ संरक्षण कृषि । संरक्षण कृषिमा नै उनले विद्यावारिधी हासिल गरेका हुन् । सन् १९९० मा अमेरिकाबाट शुरु भएको यो कृषि प्रणाली विश्वका दर्जनौँ देशहुँदै सन् २०१० मा नेपाल भित्रियो । त्यसयता यो खेतीको अभियानको शुरुवात भयो र त्यसको अगुवाई डा.कार्कीले गरेका छन् । संरक्षण कृषिको यो अभियान यतिखेरसरम्म आइपुग्दा नेपालका विभिन्न जिल्लामा फैलिएको छ । कपिलवस्तु, नवलपरासी, चितवन, पाल्पा, गुल्मी, अर्घाखाँचीमा यसको प्रयोग भएको छ । यो कृषि प्रणाली झन् व्यावहारिक र उब्जाउ देखिएको छ । परीक्षणबाट यो प्रणाली प्रभावकारी देखिएकोले यसलाई देशैभरि विस्तार गर्नुपर्ने धारणा छ डा.कार्कीको ।
बिना खनजोत या कम खनजोत गरी बाली विरुवाका नल, पराल, ढोँड जमिनमै छोडेर गरिने खेती प्रविधिलाई संरक्षण कृषि भनिन्छ । वैज्ञानिक कार्की भन्छन्– जमिनमा खनजोत नै नगर्ने या कम खमजोत गर्ने, खेती गर्ने जमिनमा छापो लगाउने या माटो खुला नछा्ड्ने र बाली चक्र अपनाउने प्रक्रियाहरु नै सबै संरक्षण कृषिमा पर्छन् । डा.कार्कीको भनाई छ— हुनत नेपालमा अहिले पनि खोतीगर्ने जमिनलाई धेरै खनजोत गर्र्ने, माटोलाई टुक्र्याउने मात्र नभई धुलौटे र फुरफुराउँदो बनाउने गरिन्छ । बाँझो जमिनमै या अलिकतिमात्र खनजोत गरेर खेती गर्न मान्दैनन् कृषकहरु । तर मानिस अबभने माटो नष्ट नगर्नेतर्फ सचेत बनेका छन् । भोलिका दिनमा संरक्षण कृषिबाट मात्र कृषियोग्य माटो जोगाउन सकिन्छ भन्ने चेतना नागरिकमा बढेको डा.कार्कीको भनाई छ ।
संरक्षण कृषिले कसरी संरक्षण गर्छ माटो ? माटो टुक्रिन नदिँदा बग्ने डर हुदैन । माटो धेरै खेलाउने र बढी धुलो बनाउने गर्दा भूक्षयको डर हुन्छ जुन होचो जमिनतिर बग्न थाल्छ । यस्तो बग्ने क्रम पनि रोकिनेछ । डा.कार्की भन्छन्– यो प्रणाली पहाडमा झन् धेरै आवश्यक छ । किनभने पहाडको खेतीयोग्य जमिन बढी भिरालोमा हुने र यस्तोमा धान रोप्दा पानी नपुग्ने र बग्ने त्रास हुन्छ । नेपालको सबै कृषियोग्य जमिनमध्ये करिब ३० प्रतिशत भिरालोमा छ । यस्तो भिरालो जमिनमा अलिअलि मात्र खनेको वा बाँझो जमिनमै खेती गर्दा पनि उत्पादनमा कमी होइन बृद्धि नै भएको छ । यस्तोमा छरुवा धान वा गहुँको खेती गर्न सकिन्छ । यस्तोमा लगाउने घैया धानको उत्पादन झन बढी देखिएको छ । अनि यसरी गरिने खेतीमा परम्परागत खेतीको भन्दा ४० देखि ५० प्रतिशतसम्म लागत कम लाग्ने गरेको र अध्ययनले देखाएको छ ।
वैज्ञानिक डा.कार्की भन्छन्— अब हामीले कुनै न कुनै नयाँ प्रविधि र खेती गर्ने तरिकाको बारेमा नसोची हुदैन किनभने हाम्रो जमिन यही हो, बढ्दैन । तर खाने मुख भने वर्षेनी बढ्दै छ जुन स्वाभाविकै हो । अनि यही जमिनमा र पुरानै विधिले खेती गरेर खान पनि पुग्दैन । माटो बचाउने, यसको उर्भर शक्ति बढाउने र फसल पनि बढाउने उपाय यही संरक्षण कृषि हुनसक्छ भन्छन् उनी । दुनियाँ आधुनिक खेती प्रणाली र अत्याधुनिक प्रविधिमा पुगिसकेको छ तर हामी उही हलो र जुवामै छौँ डा.कार्की भन्छन् । उनी भन्छन्— हेर्नुस् त ५० वर्षअघि र आजको हलो जोत्ने प्रविधिमा फरक छ त ? छैन नि । हुनत अहिले तराईमा ट्याक्टर आदि आएका छन् तर पहाड त उही हो । खेती लगाउने तरिका उही हो खनजोत उही हो । अब सधैँ यसरी हुदैन । माटो र पानी बचाउन र उत्पादन बढाउन अब संरक्षण कृषिकै अभ्यासमा हामी जानुपर्छ ।
© 2023