४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar परराष्ट्रमन्त्री आज अमेरिका जाँदै, अवसर गुमाउँदै प्रधानमन्त्री News Polar सडक किनारमा नगरपालिकाको बेसार खेती News Polar गोरुगाडामा मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु News Polar राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक बस्दै News Polar मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु News Polar छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प News Polar वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व संकलन News Polar विकास–निर्माणका काम व्यास नगरपालिकाकाे प्राथमिकतामा News Polar सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न

मर्छु कि भन्ने चिन्ता अब लाग्दैन कालिका गाउँवासीलाई

मर्छु कि भन्ने चिन्ता अब लाग्दैन कालिका गाउँवासीलाई
अ+ अ-

सिन्धुपाल्चोक ।
हाम्रो यो गाउँमा।।।।।
घरहरु बनाइसक्या छौं, मिलेर सब ठाउँमा
विकास गरौं हामी मिलेर, सबैले गाउँ गाउँमा

सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका–३ कालिकाका भूकम्पपीडितले आफ्नो खुशी गीतमार्फत यसरी मुखरित गरे । तीन वर्षअघि भूकम्पले घर भत्काएपछि रुखको ओतमा कैयौ रात बिताएका यहाँका पीडित सुरक्षित घरमा सर्न पाएको खुशीयालीमा गीतमार्फत आफ्ना भावना प्रष्ट्याएका हुन् ।

विसं २०७२ सालको भूकम्पपछि उनीहरुको बस्ने बास र खाने गाँस थिएन । भएकाले ढोड, पराल, स्याउला जे पाइन्छ त्यही बारेर बसे । कतिपयले भत्किएको मन लिएर खुला आकाशमा रात बिताए । गाउँमा कोलाहल थियो । बालबालिका र वृद्धवृद्धाको हालत दयनीय थियो । विसं २०७२ वैशाख १२ पछिको त्यो अवस्थालाई सुनकोशी कालिकाका स्थानीय बासिन्दाले भुल्न सकेका छैनन् । उनीहरुले सहयोगी र आगन्तुकका सामु गीतमार्फत नै त्यो पीडा पनि स्मरण गरे ।

जता हेर्यो धुलो र मैलो
भूकम्पले मच्चायो भाँडभैलो ।।।।।

लालाबालासहित भत्किएको घरबाट खनीखोस्री लुगाफाटो बोकेर निस्किँदाको पीडा उनीहरुलाई अहिले पनि झल्झली सम्झना आउँछ । बेलाबेलामा सपनाले झस्काउँछ । पुरिएका र च्यापिएका आफन्तहरु निकाल्न गाउँलेहरु आफैं जुट्थे । दिउँसो भूकम्प गएकाले लालाबाला र वृद्धवृद्धाहरु बढी थिचिने पुरिने गरेको अनुभव सुनाउनुहुन्छ स्थानीयवासी सरस्वती न्यौपाने ।

अहिले सुरक्षित घर निर्माणसँगै विस्तारै त्यो पीडा विस्मृतिमा गएको छ । “हाम्रो घर एकैचोटि भताभुङ्ग भएको थियो, पहिलाको भन्दा सजिलो छ, भूकम्प आउँला भन्ने डर छैन, सरकारले दिने तीन लाख रुपैयाँ लिन दुःख पाउनु परेन,” अहिले नयाँ घरमा बस्न पाएकामा दङ्ग न्यौपाने भन्नुहुन्छ । केही लाख आफैंले थपेर न्यौपानेले आकर्षक र सुरक्षित घर निर्माण गर्नुभएको छ । “भूइँचालोले भत्काउँछ, मरिन्छ, किच्छ भने डर छैन सर, ढुक्कै छु,” न्यौपानेले थप्नुभयो ।

केराको बोटमुनि बिताइएका ती रात सम्झँदा उहाँलाई कहाली लाग्छ । ससुरा बुबा घरभित्र हुनुहुन्थ्यो । भत्किएको ढुङ्गा पन्छाएर बुबालाई निकालेको स्मरण ताजै छ उहाँलाई । कति दिन बारीको पाटामा जीवन गुजारेका थिए त्यो परिवारले ।

धेरै ठाउँका भूकम्पपीडितहरु राहत नपाएर भौँतारिरहेका बेला कालिका गाउँमा स्थानीय बासिन्दा पीडा भुलेर खुशी साट्न थालेका छन् । निजी संस्थाको पहलले सम्भव भएको भन्दै पीडितहरुले अन्य जिल्लामा पनि यसैगरी पहल गर्ने हो भने घर बन्ने अनुभव सुनाउँछन् ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले लाभग्राहीको सूचीमा राखेको थियो ६५६ घर । तीन घर सम्झौता गर्न नआएपछि सुनकोशी गाउँपालिका वडा नं १, २ र ३ ९साविक ठोकर्पा र कालिका गाविस० मा ६५३ घर निर्माण सम्पन्न भएको छ । झण्डै एक सयको गुनासा आए पनि अरु घर राम्ररी बनेकामा सुनकोशी गाउँपालिकाका अध्यक्ष श्रवणकुमार जिसी पनि खुशी हुनुहुन्छ । आएका गुनासा सम्बोधनको पहल भैरहेको समेत उहाँले बताउनुभयो ।

एक महिनामै घर बनाएर गाउँमै सबैभन्दा पहिलो घर निर्माण सम्पन्न गर्ने व्यक्तिको रुपमा सम्मानित गौराटोलका मोहनबहादुर खड्का सुरक्षित घर बनेपछि ढुक्क हुनुहुन्छ । उहाँको घरमा १०३ वर्षकी आमा गजिन्द्रकुमारी सुतिरहेका बेला घर गल्र्यामगुर्लुम ढलेको थियो ।

खड्काले भन्नुभयो, “आमा रहनुभएन भनेको त लिउनले मात्रै थिचेको रहेछ, । खोतलखातल गर्दा जिउँदै भेटिनुभयो । आमाले पनि नयाँ घर देख्न पाउनुभयो ।” सरकारले दिने रु ३ लाखमा पैसा थपथाप गरेर सुरक्षित घर निर्माण गरेको खड्का बताउनुहुन्छ ।

हरिकृष्ण खड्काको भतिजो उदयलाई भूकम्पले लग्यो । सुतेको अवस्थामा घर लड्दा दलिन भाँचिएर पुरेको थियो । आमा नीलकुमारी र छोरा सागर घाइते भए । एक त मुत्युको पीडा, अर्को घाइते परिवारजन । त्यसमाथि खुला आकाशमुनिको बासले उहाँलाई धेरै दिनसम्म पिरोल्यो । विस्तारै सहयोगी हात आउन थालेपछि कच्ची घरमा सरेको उक्त परिवार नयाँ घर पाएसँगै पीडा भुल्दैछन् । स्थानीयवासी रणबहादुर घर्ती पनि नयाँ घर बनेकामा खुशी हुनुहुन्छ ।

सिन्धुपाल्चोक जिल्ला सुनकोशी गाउँपालिकाका तीन वडामा शतप्रतिशत घर निर्माण भएका छन् । भूकम्प पुनःनिर्माण परियोजनाअन्तर्गत राष्ट्रिय पुनःनिर्माण प्राधिकरणसँगको समन्वयमा कारितास नेपाल नामक संस्थाले यहाँका ६५३ घर निर्माण गरिदिएको हो । प्राविधिक सहयोग तथा सरकारले दिने रकम संस्थाले नै उपलब्ध गराएको कार्यक्रम व्यवस्थापक मणिन्द्र मल्ल बताउनुहुन्छ ।

देशका धेरै जिल्लामा पुनःनिर्माणको कामले गति लिन सकिरहेको छैन । ‘सुरक्षित आवास, आफैं बनाऔं’ भन्ने उदेश्य अनुरुप यहाँ भएको प्रगतिले स्थानीय बासिन्दा दङ्ग छन् । समयमै पैसा निकासा हुने र गाउँलेहरु एकजुट हुने हो भने हरेक कुरा सम्भव छ भन्ने नमूना हो कालिका गाउँ । सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीले सुरक्षित घर बनेपछि सर्वसाधारण खुशी र सुखी पाएको बताउनुहुन्छ ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका अनुसार सिन्धुपाल्चोकका ८७ हजार लाभग्राहीमध्ये ८४ हजारले पहिलो किस्ता लिइसकेका छन् । यसमध्ये ७५ हजारले दोस्रो र ५५ हजारले तेस्रो किस्ता बुझिसकेका छन् ।

अब आयआर्जन र विकास

यहाँ आयआर्जन, मनोविमर्श सेवा, जीविकोपार्जन तथा जोखिम न्यूनीकरणका कार्यक्रम सञ्चालन भएको छ । कृषि र पशु तालीम लिएर बाख्रापालन र तरकारी खेतीमा समेत स्थानीय बासिन्दा जुट्न थालेका छन् ।

यस अभियानमा गाउँपालिकासमेत सक्रिय भएर लागेको छ । सुनकोशी गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी पौडेल आवश्यक सहयोग गाउँपालिकाले गर्ने आश्वासन दिँदै गाउँवासीलाई आयआर्जनमा लाग्न आग्रह गर्नुहुन्छ ।

स्थानीयवासी मोहनबहादुर खड्काले तालीम पाएपछि अहिले बाख्रापालन र तरकारी खेती शुरु गर्नुभएको छ । उहाँका अनुसार गाउँमा अरु धेरै आयआर्जनका कार्यक्रममा सहभागी भएका छन् ।

यहाँका प्रदेशसभा सदस्य सरेश नेपालले घर पुनःनिर्माणपछि अब विकासतर्फ अग्रसर हुनुपर्ने बताउनुहुन्छ । “मेरो पहल हुन्छ, स्थानीय बासिन्दा लाग्नुप¥यो, अबको बाटो आयआर्जन नै हो,” नेपालले भन्नुभयो ।

४३ प्रतिशत घर निर्माण सम्पन्न

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका अनुसार नेपालमा आठ लाख २२ हजार ७१९ लाभग्राही सूचीमा छन् । त्यसमध्ये सात लाख ३८ हजार ५२३ परिवारसँग अनुदान सम्झौता भएको छ जसमा सात लाख ३१ हजार ४४१ ले पहिलो किस्ता, पाँच लाख २१ हजार ४३१ ले दोस्रो किस्ता र तीन लाख ३१ हजार ५४३ ले तेस्रो किस्ताबापतको रकम लिएका छन् ।

अहिलेसम्म तीन लाख ४७ हजार ३११ घर पुनःनिर्माण सम्पन्न भएको प्राधिकरणले जनाएको छ । प्राधिकरणमा दुई लाख ३७ हजार गुनासा दर्ता भएकामा दुई लाख गुनासाको सुनुवाइ भैसकेको छ । प्राधिकरणका प्रवक्ता पिताम्बर घिमिरेका अनुसार अहिलेसम्म ४३ प्रतिशतले घर निर्माण सम्पन्न गरिसकेका छन् र ३४ प्रतिशत घर निर्माणाधीन अवस्थामा छन् । पछिल्लो समयमा घर निर्माणले तीव्रता पाइरहेको जनाइएको छ । रासस