१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अझै चार हजारले पहिलो किस्ता लिन बाँकी



अ+ अ-

ललितपुर । जिल्लामा भूकम्पपीडितको निजी आवास निर्माणका लागि पहिलो किस्ता लिने लाभग्राहीको सङ्ख्या २४ हजार ४११ पुगेको छ ।

जिल्लाभरमा जम्मा २८ हजार ३८२ लाभग्राही रहेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण केन्द्रीय योजना कार्यान्वयन एकाइअन्तर्गतको जिल्ला आयोजना कार्यान्वयन एकाइले जनाएको छ । अहिलेसम्म सूचीकृत लाभग्राहीमध्ये चार हजार लाभग्राहीले पहिलो किस्ता लिन बाँकी रहेको एकाइका आयोजना प्रमुख बीरबहादुर रावलले बताउनुभयो ।

पहिला किस्ता लिनेभन्दा दोस्रो किस्ता लिनेको सङ्ख्या धेरै कम छ । नौ हजार ३३४ जनाले दोस्रो किस्तावापतको रकम लिइसकेका छन् । तेस्रो किस्ता लिने लाभग्राही छ हजार १३० छन् । उहाँले भन्नुभयो, “पहिलोभन्दा दोस्रो र दोस्रोभन्दा तेस्रो किस्ता लिनेको सङ्ख्या अझै कम छ ।”

जिल्लामा एक महानगरपालिका, दुई नगरपालिका र तीन गाउँपालिका छन् । यीमध्ये गाउँपालिकामा दोस्रो र तेस्रो किस्ता लिनेको सङ्ख्या बढी छ । शहरी क्षेत्रमा कम क्षेत्रफलमा घर बनाउनुपर्ने, एउटै घरमा धेरै परिवारको बसोवास, नक्सापास गर्र्न कठिनलगायतका कारण घर बनाउन ढिलाइ भइरहेको प्रमुख रावलले बताउनुभयो ।

उहाँले भन्नुभयो, “यी विषयमा पुनःनिर्माण प्राधिकरण र स्थानीय सरकारका बीचमा समझदारी भएकाले अव गति लिन सक्छ ।” जिल्लाभरमा प्रबलीकरणका लाभग्राही एक हजार ३८१ रहेको छ । रासस