बेइजिङ । नेपाल–चीन दुई पक्षीय परामर्श संयन्त्रको बैठकमा रेल र चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणबारे छलफल भएको छ। बिहीबार दिउँसो सम्पन्न बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका बेला भएको चिनियाँ रेललाई नेपालसम्म लैजाने सम्झौता, दुई देशबीचको सडक सञ्जाल, नेपालमा चिनियाँ लगानी, नेपालमा चिनियाँ पर्यटनको प्रवर्धनलगायतका विषयमा छलफल भएको थियो ।
बैठकमा नेपाली पक्षको नेतृत्व सचिव वैरागी,चिनियाँ पक्षको परराष्ट्र मन्त्रालयका उपमन्त्री खोङ सुआनयौ र चिनियाँ राजदूत होउ यान्छीले गरेका थिए । बैठकमा नेपालले बेहोर्दै आएको व्यापार घाटाको विषयसँगै कसरी नेपाली उत्पादनलाई चीनमा बजार बिस्तार गर्ने भन्ने बारेमा पनि छलफल भएको छ ।
दुवै देशका परराष्ट्र सचिवको नेतृत्वमा परामर्श संयन्त्रको बैठक हरेक वर्ष आलोपालो गरी दुवै देशमा बस्ने भनिए पनि हुन सकेको थिएन । गत वर्ष संयन्त्रको ११ औँ बैठक काठमाडौँमा बसेको थियो । १२ औँ बैठक चीनमा भयो भने १३ औँ बैठक आगामी वर्ष काठमाडौँमा बस्नेछ ।