५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा

मानवीय क्षतिका दृष्टिले वर्ष २०१८

मानवीय क्षतिका दृष्टिले वर्ष २०१८
अ+ अ-

काठमाडौँ । सन् २०१८ मानवीय क्षतिका दृष्टिले नेपाल र नेपालीका दुःखद वर्ष बन्न पुग्यो ।

विमान दुर्घटनासँगै यही वर्ष भ्रमणमा हिँडेका सहकारीकर्मी, विद्यार्थी, काम विशेषमा हिँडेका एकै ठाउँमा काम गर्ने मजदूर, एउटै गाउँका स्थानीयवासी सवार गाडी दुर्घटनामा परेर थुप्रै नेपाली दाजुभाइ दिदीबहिनीको मृत्यु भयो ।

एउटै घरमा पुरिएर एकै परिवारका सदस्यले समेत अनाहकमा ज्यान गुमाउनु पर्यो सन् २०१८ मा । सडकको नाजुक अवस्था, चालकको लापरवाही, तीव्र गति, ओभरटेक लगायतका कारण सडक दुर्घटना हुने गरेका छन् ।

सबैभन्दा कहालिलाग्दो घटनाको रुपमा यो वर्ष बङ्गलादेशबाट आएको युएस एयर–बङ्गला विमान दुर्घटना भयो । गएको फागुनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा विमान दुर्घटनाग्रस्त हुँदा ४९ जनाको मृत्यु भएको थियो । यो वर्षकै सबैभन्दा ठूलो दुर्घटना बन्न पुग्यो ।

यही पुसमा दाङको घोराहीस्थित शहीद कृष्णसेन इच्छुक प्राविधिक विद्यालयका विद्यार्थी चढेको गाडी सल्यान भ्रमणबाट फर्कने क्रममा तुलसीपुरमा दुर्घटना हुँदा शिक्षक–विद्यार्थी गरी २३ जनाको निधन भयो । दाङमै मङ्सिरमा चितवनबाट बेहुली लिएर बाँकेको शमशेरगञ्ज फर्कंदै गर्दा चाँडै घर पुगेर दुलही भित्र्याउने तयारी गर्न भनी जीपमा अगाडि हिँडेका दुलाहाका बाबुआमासहित छ जनाको दुर्घटनामा मृत्यु भयो ।

त्यस्तै, दुर्घटना मङ्सिरमा नुवाकोटमा पनि भयो । नुवाकोट दुप्चेश्वर गाउँपालिका १ घ्याङ्फेदीमा तामाङ जातिको मृत्यु संस्कारमा सहभागी भएर फर्कने क्रममा मिनिट्रक दुर्घटनामा एकै गाउँका २० सर्र्वसाधारणले ज्यान गुमाउन पुगे ।

असार महिनामा उपल्लो मुस्ताङको स्याङ्बोचेमा सडक निर्माणमा कार्यरत मजदूर निर्माणको काम रोकेर खाना खान टिपरको पछाडि बसेर आउँदै गर्दा दुर्घटनामा परेका थिए ।

जेठमा पाल्पा रम्भा गाउँपालिका ४ हुमिनमा तानसेनबाट रामपुरमा रहेको एक सहकारीको भ्रमणमा जाने क्रममा लक्ष्मी बचत तथा ऋण सहकारी संस्थाका सदस्यहरु चढेको बस भिरबाट खस्दा १५ जनाको मृत्यु हुन पुग्यो ।

डडेल्धुराको उग्रतारा भगवती मेलाबाट डोटी जाँदै गरेको से १ प २९३ नम्बरको स्कुल बस गएको मङ्सिरमा अमरगढी नगरपालिका ११ रडुवा खोलामा दुर्घटना हुँदा १६ जनाले ज्यान गुमाउनु प¥यो ।

कात्तिकमा डोल्पाको ठुलीभेरी नगरपालिका ९ कालागौंडास्थित बतासेबाट एउटा जीप भेरी नदीमा खस्दा १० जनाको मृत्यु भयो । भदौमा रौतहटको लालबकैया नदीमा डुङ्गा दुर्घटना हुँदा खेतबाट घाँस काटेर फर्कंदै गरेका १५ स्थानीयवासी बेपत्ता हुन पुगे ।

धेरै दुर्घटना हुने चितवनको मुग्लिन–नारायणगढ सडकखण्ड सन् २०१८ सुखद बन्यो । तर गएको साउनमा चितवनको इच्छाकामना गाउँपालिकाको चुम्लिङटारमा काठमाडौँबाट स्याङजा जाँदै गरेको बस अर्को गाडीसँग ठक्कर खाएर त्रिशूली नदीमा खस्दा आठ जनाको ज्यान गयो । साउनमा रुकुम पूर्वको सिस्ने गाउँपालिकास्थित मध्यपहाडी राजमार्गमा जीप दुर्घटना हुँदा सात जनाको अनाहकमा मृत्यु भयो ।

असोजमा दाङको तुलसीपुरबाट नेपालगञ्ज जाँदै गरेको तीव्र गतिमा रहेको माइक्रोबस बाँकेको शमशेरगञ्जमा ट्रकसँग ठोक्किँदा छ जनाको मृत्यु भयो । गएको माघमा काठमाडौँबाट झापा जाँदै गरेकोे जीप धनुषामा दुर्घटना हुँदा ६ जनाको ज्यान गयो । उक्त दुर्घटना चालक निदाएका कारण भएको र सडक नजीकैको पोखरीमा डुबेकाले निस्सासिएर यात्रुको मृत्यु भएको प्रहरीको भनाइ थियो ।

मङ्सिरमा तीन वर्ष अघि मात्रै ट्रयाक खुलेको बाँके बहाकोट सडकको डाङ्ग्रे घुम्तीमा सुर्खेतबाट बाँके आउँदै गरेको जीप दुर्घटनाग्रस्त हुँदा पाँच जनाले ज्यान गुमाए ।

माघमा छोरा डा रञ्जनको बिहे छिनेर कपिलवस्तुबाट काठमाडौँ फर्कने क्रममा बा १ झ ३१४० नम्बरको सरकारी जीप धादिङको सलाङ्घाटबाट त्रिशूली नदीमा खस्दा सिँचाइ मन्त्रालयका सचिव रामानन्दप्रसाद यादव र भाञ्जी उन्नति गुप्ताको निधन भयो भने छोरा सन्तोष यादव बेपत्ता भए ।

पहिरोले पनि लग्यो ज्यान

बाढीपहिरोबाट पनि सन् २०१८ को वर्ष दुःखद बन्न पुग्यो । सुतिरहेका बेला एकै घरका मानिस पहिरोमा पुरिन पुगे ।

राति सुतिरहेका बेला साउनमा रसुवाको टिमुरेमा पहिरोमा पुरिएर नौ जनाको मृत्यु भयो । भदौमा सल्यानको बागचौर नगरपालिका ४ स्थित रामबहादुर विकको घर भत्कँदा एकै परिवारका पाँच जनाको मृत्यु भयो ।

साउनमा वर्षासँगै आएको पहिरोले जाजरकोटको भेरी नगरपालिकाको ठाँटी बजारका दुई घर पुरिंँदा सात बालबालिका सहित ८ जनाको मृत्यु भयो । उक्त पहिरोमा एकै घरका ४ जना परेका थिए ।

यता, सन् २०१८ मा एयर बङ्गलाको विमान दुर्घटनासँगै अन्य दुई वटा दुर्घटना पनि भए । गोरखाको सामागाउँबाट काठमाडौँका लागि उडेको अल्टिच्युड एयरको हेलिकप्टर नुवाकोट जिल्लाको मेघाङ गाउँपालिका १ मैलुङपाखामा भएको दुर्घटनामा ६ जनाको मृत्यु भयो । भाग्यवश एकजना बाँच्न सफल भए । यस्तै जेठमा मकालु एयर जहाज हुम्लामा दुर्घटना हुँदा चालक दलका दुई सदस्यको ज्यान गुम्यो ।

विशिष्ट व्यक्तिको निधन

सन् २०१८ नेपालका केही विशिष्ट व्यक्तिको निधन भयो । पूर्व प्रधानमन्त्री, पूर्व प्रधानन्यायाधीश, राजनीतिज्ञ, चिकित्सक, कलाकार, साहित्यकार, गायक र सञ्चार उद्यमीलाई मुलुकले गुमाए ।

कलेजोसम्बन्धी रोगका कारण पुस ३ गते पूर्व प्रधानमन्त्री तुलसी गिरीको ९३ वर्षको उमेरमा निधन भयो । विसं २०३२ सालमा प्रधानमन्त्री बन्नुभएका गिरी विसं २०१९ मा मन्त्रिपरिषद् अध्यक्ष हुनुभयो । पञ्चायती व्यवस्थाका सूत्रधार मानिने गिरी विसं २०१५ सालका वी पी कोईराला जननिर्वाचित प्रधानमन्त्री हुँदा परराष्ट्रमन्त्री हुनुहुन्थ्यो ।

मङ्सिरमा पूर्व प्रधानन्यायाधीश केदारप्रसाद गिरीको उच्च उक्तचाप र निमोनियाका कारण निधन भयो । उहाँ २०६४ सालमा प्रधान न्यायाधीश बन्नुभएको थियो । उहाँ संसदीय सुनुवाइको सामना गर्ने पहिलो प्रधान न्यायाधीश हुनुहुन्थ्यो ।

सन् २०१८ मा नेपाली काँग्रेसका दुई नेतालाई मुलुकले गुमाए । करीब छ वर्ष अघिदेखि अर्धचेत अवस्थामा रहनुभएका काँग्रेस नेता चक्रप्रसाद बास्तोलाको गएको असोजमा बाँसबारीस्थित न्यूरो अस्पतालमा निधन भयो । विसं २०४८ सालमा भारतका लागि नेपालका राजदूत रहेका बास्तोला २०५८ सालमा गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा परराष्ट्रमन्त्री बन्नुभएको थियो ।

मिर्गौला, छाती र नशासम्बन्धी रोगबाट पीडित नेपाली काँग्रेसका अर्का नेता तथा पूर्व मन्त्री खुमबहादुर खड्काको चैतमा निधन भयो । पञ्चायती शासनको अवसान र प्रजातन्त्र स्थापनामा उहाँको महत्वपूर्ण योगदान छ ।

कात्तिकमा मानवअधिकारकर्मी एवं वामपन्थी नेता पद्मरत्न तुलाधरको मस्तिष्काघातका कारण ७८ वर्षको उमेरमा नर्भिक अस्पतालमा निधन भयो । कम्युनिष्ट आन्दोलन र शान्ति प्रक्रियामा उहाँको महत्वपूर्ण योगदान छ ।

यही वर्ष असारमा एशियाकै अब्बल न्यूरो सर्जन डा उपेन्द्र देवकोटाको निधन भयो । पित्तथैलीको क्यान्सरबाट पीडित डा देवकोटाको न्यूरो अस्पताल बाँसबारीमा निधन भएको हो । पूर्व स्वास्थ्यमन्त्री हुनुभएका देवकोटा लामो समय बेलायत उपचार गरे पनि स्वास्थ्य अवस्था सुध्रिएन ।

एयर बङ्गलाका विमान दुर्घटनामा चितवनका वरिष्ठ न्युरो सर्जन डा बालकृष्ण थापाको निधन भयो । बङ्गलादेशमा भएको चिकित्सासम्बन्धी गोष्ठीमा भाग लिएर नेपाल फर्कने क्रममा उहाँको निधन भएको थियो ।

नेपाली साहित्यमा लोकप्रिय कथाकारका रूपमा परिचित साहित्यकार मनु ब्राजाकीको यही वर्ष निधन भयो । माघमा बाज्राकीको ब्रेन स्ट्रोकका कारण निधन भएको हो । ब्राजाकीको सातवटा कथासङ्ग्रह र गजल सङ्ग्रहहरू प्रकाशित छन् ।

व्यावसायिक पत्रकारिताका अगुवा हेमराज ज्ञवालीको ७९ वर्षको उमेरमा असोजमा निधन हुन पुग्यो । उहाँ कान्तिपुर दैनिक र नेपाल रिपब्लिक मिडियाका संस्थापक हुनुहुन्थ्यो ।

साहित्यकार तथा सञ्चारकर्मी यज्ञनिधि दाहालको मिर्गौलासम्बन्धी रोगबाट साउनमा निधन भयो । विसं २०५७ सालमा दाहालको मिर्गौलाले काम नगरेपछि प्रत्यारोपण गरिएको थियो ।
वरिष्ठ कलाकार भीमबहादुर थापाको ९२ वर्षको उमेरमा जेठमा निधन भयो । ब्रिटिश आर्मीमा भर्ना भएर दोस्रो विश्वयुद्धमा लड्नुभएका थापाले झण्डै एक सयवटा चलचित्र र टेली चलचित्रमा अभिनय गर्नुभएको थियो ।
रासस