५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा

कुलुङ जातिको महान् चाड चाक्चाकुर

कुलुङ जातिको महान् चाड चाक्चाकुर
अ+ अ-

सोलुखुम्बु । कुलुङ जातिको महान् चाड चाक्चाकुर आइतबारदेखि शुरु भएको छ । यो पर्व प्रत्येक वर्षको पुस १५ देखि शुरु हुन्छ । कुलुङ समुदायले पुस १५ देखि ३ दिनसम्म यो पर्वलाई भव्यरुपमा मनाउने गर्छन् ।

चाक्चाकुरमा सबै गाउँभरिका मानिस भेला भएर नाचगान, मनोरञ्जनात्मक कार्यक्रम, विभिन्न किसिमका खेल खेलेर रमाइलो गर्दै मनाउने गरिएको गुदेल माविकी महिला शिक्षक तारा कुलुङको भनाइ छ । उहाँका अनुसार संस्कार संस्कृतिको जगेर्ना गर्दै पर्वलाई निरन्तरता दिने गरिएको छ ।

कुलुङ समुदायमा यसको महत्व अति विशिष्ट रहेको कुलुङ अगुवाको भनाइ छ । कुुलुङ जातिले पुस १५ लाई नयाँ वर्ष, पुस १६ लाई नयाँ अन्न खाने दिन र पुस १७ लाई कुलुङ सङ्घको स्थापनाका रुपमा चिनारी दाचाम्री चाक्चाकुर भनेर मनाइने महाकुलुङ गाउँपालिकाका अध्यक्ष सागर किराँतीको भनाइ छ ।

उहाँका अनुसार कुलुङ भाषामा मीनाको अर्थ ‘मान्छे’ र मिनारीको अर्थ ‘मान्छेको पाखुरी’ हुन्छ । दाचाम्को अर्थ ‘भण्डार वा ढुकुटी’ हो भने निङ्दोङले ‘नयाँ वर्ष’ र चाक्चाकुरले ‘चासुम् अर्थात अन्नको सह’ तथा पुस महीनालाई जनाउँछ । मानव पाखुरीको बलबाट फलेर भण्डारण गरिएको अन्नको नयाँ वर्षमा सह होस् र नयाँ सालमा अनिकाल नलागोस् भनेर पितृ र प्रकृतिलाई नयाँ यामको प्रारम्भमा पुज्नु नै मिनारी दाचाम निङदोङ चाक्चाकुर हो ।

औपचारिकरुपमा देशभर चाक्चाकुर पर्वलाई मनाउने शुरुआत नेपाल किराँत कुलुङ भाषामा संस्कृति उत्थान सङ्घ, केन्द्रीय कार्यसमितिको पहलमा २०६२ बाट थालिएको कुलुङ सङ्घले दाबी गर्दै आएको छ । कुलुङ जातिको बसोबास भएका जिल्ला सोलुखुम्बु, भोजपुर, सङ्खुवासभा, इलाम, धनकुटालगायतका जिल्लामा मिनारी दाचाम निङदोङ चाक्चाकुर मनाइन्छ । त्यस्तै भारतको सिक्किम, पश्चिम बङ्गाललगायतका राज्यमा पनि चाक्चाकुर मनाउने गरिएको छ ।

कुलुङजातिको महान् चाडका रुपमा लिइने चाक्चाकुरको अवसरमा महाकुलुङ गाउँमा विभिन्न प्रतियोगिताको आयोजना गरिएको छ । वडा कार्यालय नै आयोजक बनेरसमेत कार्यक्रमको आयोजना गरिएको छ ।

वडा नं ३ छेस्कामको आयोजना फुटबल प्रतियोगितालगायतको कार्यक्रमको आयोजना गरिएको वडा अध्यक्ष डेकबहादुर कुलुङले जानकारी दिनुभयो । कार्यक्रमको शनिबार सोलुखुम्बुका प्रतिनिधिसभा सदस्य हेमकुमार राई ९शुरवीरले० उद्घाटन गर्नुभएको थियो । महाकलुङको वडा नं २ ले साविक वडास्तरीय खुला महिला पुरुष भलिबल प्रतियोगिता, गायन, नृत्य, टेबलटेनिस प्रतियोगिताको साथमा भाग्यशाली उपहारसमेत आयोजना गरिएको छ ।

कार्यक्षेत्रमा रहेका कुलुङ जाति पर्व मनाउन गाउँ आउने गर्छन् । कुलुङ जातिको महान् पर्व मिनारी दाचाम निङदोङ चाक्चाकुरलाई राज्यले पनि विशेष महत्वको चाडका रुपमा मान्यता दिनुपर्ने कुलुङ जातिको भनाइ छ ।

महाकुलुङमा कुलुङ जातिको बाहुल्यता रहेको छ । स्थानीय खरिधन कुलुङले अन्य जातिको जस्तै कुलुङको समेत महत्वपूर्ण पर्व चाक्चाकुर भएकाले राज्यबाट राष्ट्रिय पर्वको मान्यता दिनुपर्ने बताउनुभयो । “हिन्दूको दशैँ, तिहार जस्तै आफूहरुको चाक्चाकुर पर्व हो”, स्थानीय विनोद कुलुङले भन्नुभयो, “हाम्रो पर्वलाई पनि केन्द्र सरकारले नभए पनि प्रदेश सरकारले मान्यता दिन आवश्यक छ ।” कुलुङ जातिको बसोबास प्रदेश नं १ को सोलुखुम्बु, भोजपुर, सङ्खुवासभा, इलाम, धनकुटालगायतका क्षेत्र भएकाले प्रदेश सरकारले यस वर्षलाई मान्यता दिनुपर्ने उनीहरुको माग छ ।

चाक्चाकुरका अवसरमा गाउँपालिकाले स्थानीय सार्वजनिक बिदा दिएको छ । गाउँकार्यपालिकाको निर्णयअनुसार कुुलुङ जातिको बाहुल्यता रहेको गाउँपालिकामा चाक्चाकुरको अवसरमा पुस १५, १६ र १७ गते स्थानीय बिदा दिइएको हो ।

गाउँपालिकाको छैटौँ गाउँसभाको बैठकले यस्तो निर्णय गरेको गाउँपालिकाका प्रमुख सागर किराँतीले जानकारी दिनुभयो । गाउँ कार्यपालिकाको निर्णयअनुसार गाउँपालिकाभित्रका सामुदायिक विद्यालय, सङ्घसंस्था तथा सकारी कार्यालय सबै बन्द छन् । १५ गते आइतबारदेखि बन्द भएको उक्त कार्यालय पुस १८ अर्थात् बुधबारदेखि मात्र खुल्नेछन् ।

चाक्चाकुर पर्व मनाउन कार्यक्षेत्रबाट गाउँ आएकाले बस्ती भरिभराउ भएको छ । विशेष गरी अध्ययन तथा रोजगारीको सिलसिलामा गाउँ बाहिर भएकासमेत छुट्टी मिलाएर घर आएका छन् । महाकुलुङका केडी कुलुङले भन्नुभयो, “अन्य पर्वभन्दा चाक्चाकुर महत्वपूर्ण पर्व हो, यो पर्वमा सबै गाउँका मानिसको जमघट हुन्छ ।” चाक्चाकुरका कारण महाकुलुङको घर भरिभराउ भएको छ । यातायातमा समेत महाकुलुङ जानेको लर्को देख्न सकिने यातायात व्यवसायी बताउँछन् ।
रासस