• १४ असार २०८१, शुक्रबार
  •      Fri Jun 28 2024
  •   Unicode
Logo

सिंहदरबारकै कर्मचारी कालोपट्टी बाँधेर काम गर्दै



सिंहदरबारका कर्मचारीले सोमबार हातमा कालोपट्टी बाँधेर काम गरिरहेका छन् । दरबन्दी स्वीकृतिमा विभेद गरेको भन्दै लेखा समूहका कर्मचारीले आन्दोलन थालेका थिए र उनीहरुले आन्दोलनकै रुपमा सोमबार हातमा कालो पट्टी बाँधेर काममा गएका हुन् । प्रमुख प्रशासकीय केन्द्र सिंहदरबारभित्रै आज सो समूहका कर्मचारीले हातमा कालोपट्टी बाँधेर काम गरेका बताइएको छ । एकातर्फ समायोजनको विरोधका कारण सिंहदरबारका कर्मचारीहरु आन्दोलित नै रहेका बेला आज फेरि लेखाका कर्मचारीले कालो पट्टी बाँधेर काम गर्न थालेका हुन् ।

‘दरबन्दी स्वीकृत हुँदा लेखा समूहमा प्रदेश र स्थानीय तहमा धेरै संख्या दिइयो, केन्द्रमा चाहिनेजति पनि राखिएन र त्यसैको विरोधमा आज कालोपट्टी बाँधेर काम गरेका हौं,’ एकजना कर्मचारीले बताएका छन् । उनीहरूले लेखा समूहअन्तर्गतका प्रदेश र स्थानीय तहमा अनावश्यक भएको संख्या केन्द्रमा दरबन्दी हुनुपर्ने माग राखेका छन् ।

सरकारले ल्याएको कर्मचारी समायोजन अध्यादेशमा असहमति जनाउँदै सिंहदरबारभित्रै कर्मचारीले घेराउलगायतका आन्दोलन जारी राखेका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले आन्दोलनरत कर्मचारीसँग वार्ता भइरहेको बताएका छन् । उनले कर्मचारीसँग वार्ताको क्रम चलिरहेको आफूलाई थाहा भएको तर कालो पट्टी बाँधेर काम गरेको भने कुनै जानकारी आफूलाई नरहेको बताएका छन् ।