१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालको २९ औँ प्रधानन्यायाधीशका रुपमा राणाले लिए सपथ



अ+ अ-

काठमाडौँ : नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाले बुधबार बिहान सपथ लिएका छन् । उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको सपथ गराएकी हुन् ।

शीतलनिवासस्थित राष्ट्रपति कार्यालयमा बुधबार बिहान आयोजना गरेको विशेष समारोहमा राष्ट्रपति भण्डारीले नवनियुक्त प्रधानन्यायाधीश राणालाई पद तथा गोपनीयताको सपथ गराएकी हुन् ।

त्यस समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महरा, कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकाललगायत मन्त्री, सर्वोच्च अदालतका न्यायाधीशलगायतको उपस्थिति रहेको थियो ।

राणा मङ्गलबार संसदीय सुनुवाइ समितिबाट सर्वसम्मत अनुमोदन भएका हुन् । उमेरहदका कारण प्रधानन्यायाधीश ओमप्रकाश मिश्र मङ्गलबार अवकाश लिएका हुन् । राणाले नेपालको २९औँ प्रधानन्यायाधीश बन्ने अवसर पाएका छन् ।

पिता युवराजशम्शेर र माता उमा राज्यलक्ष्मीका सन्तानका रुपमा विसं २०१४ मङ्सिर २८ गते काठमाडौँको कालिकास्थानमा उनको जन्म भएको थियो । त्रिभुवन विश्वविद्यालयअन्तर्गत नेपाल ल क्याम्पसबाट कानूनमा स्नातक गरेका राणा विसं २०३६ मङ्सिर ६ गतेदेखि अधिवक्ताको प्रमाणपत्र प्राप्त गरी विसं २०५२ चैतसम्म कानून व्यवसायीका रुपमा काम गर्नुभयो ।

राणाले विसं २०५३ वैशाखमा पुनरावेदन अदालतको अतिरिक्त न्यायाधीशका रुपमा काम शुरु गरेका थिए ।

राणा विसं २०७१ जेठ १३ गते सर्वोच्च अदालतमा स्थायी न्यायाधीशका रुपमा नियुक्त भएका हुन् । उनले आजै सर्वोच्च अदालतमा पुगी पदभार ग्रहण गर्ने छन् । उनको कार्यकाल चार वर्षको हुनेछ ।