३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ News Polar राष्ट्रपति पौडेल संविधान दिवस विशेष समारोहमा सरिक News Polar संविधानका लक्ष्य पूरा गर्न सबै पक्ष प्रतिबद्ध हुनुपर्ने News Polar बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् News Polar संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको समीक्षा मागेको छ: रवि लामिछाने News Polar नेवानिका दुई वटै वाइडबडी ग्राउन्डेड News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा प्रदेश प्रमुख कर्णको जोड News Polar भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद News Polar संविधानको रक्षा र राष्ट्रिय एकताका लागि एकजुट हुनुपर्नेमा अध्यक्ष ओलीको जोड

फेरि आँखा देख्न पाउँदा खुशी साट्दै वृद्धवृद्धा

फेरि आँखा देख्न पाउँदा खुशी साट्दै वृद्धवृद्धा
अ+ अ-


बर्दिवास : घरको अँध्यारो कुनामा थन्किएको बुढ्यौली उमेरमा आँखा फेरि देख्न पाएपछि महोत्तरी बर्दिवास–४ भब्सी माइस्थानका ९६ वर्षीय शेरबहादुर राउतलाई धेरै बाँच्न पाउने आश पलाएको छ ।

मोतीयाबिन्दुले आँखा ढाक्दा संसार नै अँध्यारो भएको विगत सम्झदै एक साताअघि शल्यक्रियाले मोतीयाबिन्दु हटेपछि चारैतिर झलमल्ल उज्यालो देख्न पाएपछि जिन्दगी रमाइलो लाग्न थालेको राउत बताउनुहुन्छ ।

“बाबु, आँखा देख्दैनथें, ईश्वरसँग सुखद मृत्युको कामना गर्थें” बिहानीको पारिलो घाम ताप्न आँगनमा बस्नुभएका राउतले आज बिहान सञ्चारकर्मीसँग पूmर्तिसाथ भन्नुभयो, “अब त झलमल्ल उज्यालो देख्नेभएँ, यो जिन्दगी प्यारो लाग्न थालेको छ, आँखाले संसार हेर्न पाएपछि बाँच्ने रहर अझ जाग्ने रहेछ ।” बर्दिवास आँखा अस्पतालले मोतीयाबिन्दुको शल्यक्रिया गरेर आँखाको पट्टी खोलिएर हेर्ने ज्योति फेरि पाएपछि राउतको अनुहारमा खुशी छाएको छ ।

पछिल्लो एक दशकयता मोतीयाबिन्दुले आँखा टालिँदा घरको ओछ्यानमा र परिवारजनको सहयोगमा लौरो टेकेर दिसापिसाब गर्दै आएको आपूmलाई अब भने सानातिना काम आफैं हेरेर गर्नसक्ने आँट पलाएको राउत बताउनुहुन्छ ।

नेपाल नेत्रहीन सङ्घ, पुनःस्थापन कार्यक्रम महोत्तरीको आर्थिक सहयोगमा बर्दिवास आँखा अस्पतालले यही पुस १४ र १५ गते सञ्चालन गरेको निःशुल्क शल्यक्रिया शिविरमा राउतसहित ८९ जनाको सफल शल्यक्रिया भएको थियो । जसमा ८० वर्षमाथिका १० जना रहेका छन् । वृद्धवृद्धा लक्षित यो शिविरमा शल्यक्रिया गरिएका सबै (८९ जना) नै ५० वर्षमाथिका रहेको बर्दिवास आँखा अस्पतालका कार्यकारी सञ्चालक मुकुन्द पौडेलले जानकारी दिनुभयो । शल्यक्रिया गरिएकामध्ये ३५ जना महिला रहेका अस्पतालले जनाएको छ ।

राउतजस्तै महोत्तरीकै गौशाला नगरपालिका रामनगर बस्तीका ९० वर्षीया गुदल महतो पनि मोतीयाबिन्दुको शल्यक्रियापछि फेरि हेर्नसक्ने हुनुभएको छ । “आशभरोस किछ नई छल, जे फेरु दुनींया देखब” (फेरि आँखाको जालो हटेर हेर्नसक्ने हुला भन्ने आश थिएन) शल्यक्रियासँगै लगाइएको आँखापट्टी खोलिएयता फुरुङ्ग देखिनुभएका महतोले भन्नुभयो, “आँइख नइ देखवालासब चलैने संस्था हमरा अई बुढारीमें फेरु नव जिनगी देलक, भगवान हुनका सबके निक रखौत” (आँखा नदेख्नेहरुले चलाएका संस्थाले यो बुढो उमेरमा फेरि मलाई नयाँ जिन्दगी दिएको छ, तिनलाई भगवानले राम्रो गरुन्)।

राउत र महतोजस्तै सर्लाही लालबन्दी–१६ का ९२ वर्षीय मणिलाल घलान, बर्दिवास–५ की ८५ वर्षीया इन्दुमाया कार्की, बर्दिवास–३ गौरीवासकी ८२ वर्षीया सुकमाया राना मगर, बर्दिवास–४ कामीडाँडाका ८६ वर्षीय बुद्धबहादुर थापा, धनुषा क्षिरेश्वर नगरपालिका महेन्द्रनगरका ८८ वर्षीय श्रीनारायण चौधरी र बर्दिवास–४ वरडाँडाका ८५ वर्षीय छत्रबहादुर थापा पनि शल्यक्रियापछि हेर्नसक्ने हुनुभएको छ ।

मोतीयाबिन्दुको जालो हटाइँदा संसार हेर्न पाउने भएपछि खुशी भएका वुद्धवृद्धाजस्तै शल्यक्रिया गर्ने आँखा चिकित्सक डा दीपक खड्का पनि प्रशन्न देखिनुहुन्छ । “पुस्ताको ख्यालले यसपालिको शिविरमा वृद्धवृद्धाकै शल्यक्रिया गरियो, पट्टी खोलिएको दिन वृद्धवृद्धाको अनुहारमा छाएको खुशीले निकै आनन्द लाग्यो” डा खड्काले अस्पताल परिसरमा पुगेका सञ्चारकर्मीसँग भन्नुभयो, “कुनैकुनै कामले त मज्जाको खुशी दिँदोरहेछ, यसपालिको शिविरमा मैले त्यहीँ आनन्द महसुस गरेँ ।”

आँखामा छाएको मोतीयाबिन्दुको जालो शल्यक्रियाले हटेपछि वृद्धवृद्धाको जीवनचर्या (दैनिकी) फेरिएको छ । सधँैं घरभित्रै हँहँ भनेर घोत्लिने वृद्धवृद्धा अब घर ओरपर डुल्ने, छिमेकीलाई बोलाउने, हासख्याल गर्ने र फूर्तिला देखिने गरेको शल्यक्रिया गरेका आफ्नै बस्ती ओरपरका वृद्धवृद्धालाई नियाल्नु भएका बर्दिवास–४ भब्सी कामीडाँडाका सामाजिक, राजनीतिक कार्यकत्र्ता सोम कार्की बताउनुहुन्छ ।

शिविरमा महोत्तरी, धनुषा, सर्लाही, रौतहट, बारा र सिन्धुलीका आँखाका बिरामीले सेवा पाएका छन् । शल्यक्रिया गरिएका सबै वृद्धवृद्धाको आँखासहित अन्य स्वास्थ्य अवस्था अहिले नियमित अनुगमन गरिएको अस्पतालले जनाएको छ । यसअघि दृष्टिविहीन र अपाङ्गता भएका व्यक्तिलाई लक्षित गरी सीप विकास र आयआर्जनमूलक कार्यक्रम सञ्चालनमा सहयोग गर्दै आएको नेपाल नेत्रहीन सङ्घ, पुनःस्थापन कार्यक्रम महोत्तरीले यसपटक वृद्धवृद्धा लक्षित मोतीयाबिन्दु शल्यक्रियालाई सघाइएको जनाएको छ ।

“हामी दृष्टिविहीनको सानो प्रयत्नले समाजका ज्येष्ठ नागरिक हाम्रा अभिभावकले फेरि संसार हेर्नसक्ने हुनुभएको छ” आफैं दृष्टिविहीन रहनुभएका सङ्घको पुनःस्थापन कार्यक्रमका कार्यकारी निर्देशक अमृत राईले भन्नुभयो, “शल्यक्रियापछि पट्टी खोलिँदा उहाँहरुले व्यक्त गर्नुभएको खुशीले हामीलाई सकारात्मक काममा लाग्न निकै ऊर्जा थपेको छ ।”