६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

कठिन जङ्गल युद्धकला सिक्न विदेशी सैनिक आकर्षित हुँदै

कठिन जङ्गल युद्धकला सिक्न विदेशी सैनिक आकर्षित हुँदै
अ+ अ-

कलैया । विशेषगरी सुरक्षा अङ्गको प्रतिविद्रोह तथा प्रतिआतङ्कवाद क्षमता अभिवृद्धि गर्न जङ्गल युद्धकला तालीम अति महत्वपूर्ण अङ्ग मानिन्छ । नेपाली सेनाद्वारा यहाँ सञ्चालित प्रतिविद्रोह तथा जङ्गल ‘वारफेयर’ शिक्षालय अहिले विदेशी सैनिकलाई समेत जङ्गल युद्धकला सिक्ने उत्कृष्ट तालीम केन्द्र बन्न पुगेको छ ।

पछिल्लो वर्षयता विशेषगरी अमेरिका, चीन तथा भारतका सैनिक अधिकृतका लागि प्रतिविद्रोह तथा प्रतिआतङ्कवाद क्षमता अभिवृद्धि गर्न शिक्षालय पहिलो रोजाइ नै बन्न पुगेको छ । नेपाली सेनाका अधिकृत क्याडरका लागि शिक्षालयको तालीम अनिवार्य त छँदैछ ।

शिक्षालयका प्रमुख महासेनानी गौरवकुमार केसीका अनुसार शिक्षालयबाट भारतका छ, पाकिस्तानका सात, बङ्गलादेशका पाँच, मलेशियाका एक, चीनका २०, श्रीलङ्काका आठ, अमेरिकाका चार, कोरियाका आठ, केन्याका एक र म्यान्माका दुई सैनिक अधिकृतले अत्यन्त कठिन जङ्गल युद्धकलाको तालीम शिक्षालयबाट प्राप्त गरिसकेका छन् ।

विसं २०६७ देखि ती देशका सैनिक अधिकृत यस्तो तालीम लिन शिक्षालयमा आउन शुरु गरेका थिए । विदेशी सेनाका लागि तालीम खुला भएसँगै छिमेकी देशलगायत अन्य देशका सैनिक यहाँ तालीम लिन पहिलो रोजाइमा परेको बताइन्छ ।

यसैगरी सो शिक्षालयबाट नेपाली सेनाका १३ हजार ४३२ अधिकृत क्याडरले हालसम्म तालीम प्राप्त गरेका छन् । पछिल्लो समय सेनाका अधिकृत क्याडरका लागि यहाँस्थित जङ्गल युद्धकला र जोमसोमस्थित उच्च हिमाली युद्धकलामध्ये एक तालीम अनिवार्य गरिएको छ ।

विसं २०३४ मा नेपाली सेनाले यहाँ वारफेयर शाखा स्थापना गरी तालीमको शुभारम्भ गरेको थियो । यसपछि विसं २०५५ मा शाही नेपाली सैनिक जङ्गल शिक्षालय, विसं २०६३ मा सैनिक जङ्गल वारफेयर शिक्षालय, विसं २०६६ मा प्रतिविद्रोह तथा जङ्गल वारफेयर शिक्षालयमा रूपान्तरण भएको थियो ।

बारा, जितपुर नगरपालिका–२१ मा अवस्थित सो शिक्षालय १२३ बिघामा फैलिएको छ । विशेषगरी सैनिक तथा सुरक्षा अङ्गका लागि शिक्षालयले प्रदान गर्ने जङ्गल युद्धकला तालीम विश्वमा उत्कृष्ट तालीमभित्र पर्ने बताइन्छ ।

महासेनानी केसी भन्नुहुन्छ, “विदेशी सैनिकले यहाँ सिकेका ज्ञान, सीप तथा दक्षतालाई आफ्नो देशमा प्रदान गर्दछन् ।” नेपाली सेनाको प्रतिविद्रोह तथा प्रतिआतङ्कवाद क्षमतालाई अभिवृद्धि गर्न आवश्यक जनशक्ति उत्पादन गर्ने ध्येयले स्थापित सो शिक्षालयले पछिल्लो समय ती विषयमा गहन विश्लेषण गरी सम्बन्धित निकायमा सुझावसमेत दिने गर्दछ । शिक्षालयले भविष्यमा आइपर्नसक्ने विद्रोह तथा आतङ्कवादसित समान गर्न सक्नेगरी आफ्ना तालीमका पाठ्यक्रमलाई परिमार्जन गर्दै जाने नीतिसमेत लिएको छ ।

साथै शिक्षालयले आवश्यकताअनुसार सुरक्षा निकायका अन्य अङ्गलाई पनि ती विषयमा तालीम प्रदान गर्ने गर्दछ । विगतको द्वन्द्वका समयमा सो शिक्षालयबाट करीब १५० जनाभन्दा बढी प्रहरीले तालीम लिएका थिए ।

तालीमको अवधि कम्तीमा १० हप्ताको रहेको छ । शिक्षालयले जङ्गल युद्धकलाको प्रशिक्षक प्रशिक्षण (टिओटी) पनि उत्पादन गर्दछ । तालीमका विधिअन्तर्गत जङ्गल युद्धकलासम्बन्धी सैद्धान्तिक कक्षा, प्रस्तुतीकरण, कक्षामा अध्ययन गरेका विषयलाई स्थलगतरूपमा व्यावहारिक अभ्यास रहेको महासेनानी केसीले बताउनुहुन्छ ।

उहाँ भन्नुहुन्छ, “रिभर क्रसिङ, फाइरिङ, पोक्चरिङ, २० केजी बोकेर रनिङलगायत अभ्यास तालीमका क्रममा अनिवार्य रहेको छ ।” तालीमका अवधिमा ती अभ्यास गर्न शिक्षार्थीलाई अनिवार्य जङ्गलमा छाडिन्छ । उनीहरूले जङ्गलमा पाइने कन्दमूल, जडीबुटी खाएर दिन रात बिताउनुपर्छ । कम्तीमा तीन दिन र बढीमा सात दिनसम्म जङ्गलमा बिताउनुपर्छ । तालीमका अवधिमा जङ्गलमा कस्ताकस्ता कन्दमूल, जडीबुटी पाइन्छ, तीमध्ये कुन खाने हुन, पानीको मात्रा कसरी पूरा गर्ने, वन्यजन्तुको आक्रमणबाट कसरी जोगिने, उनीहरूलाई कसरी संरक्षण गर्ने, प्राथमिक उपचार, विपद्का समयमा मानवीय सेवालगायतका विषयमा ज्ञान दिइने शिक्षालयले जनाएको छ ।

वैशाखदेखि भदौ महीनासम्म यस स्थानमा सर्प र बिच्छीको समस्या हुने गर्दछ । अर्कोतर्फ पर्सा राष्ट्रिय निकुञ्जका क्षेत्र यही तालीम केन्द्रसित जोडिएकोे छ । निकुञ्जका अनुसार निकुञ्जभित्र ६० देखि ६५ वटा जङ्गली हात्ती, सात वटा पाटेबाघ, १०५ वटा गौरी गाई, तीनदेखि पाँचसम्म गैँडा, ३७ स्तनधारी प्रजाति, ४९० चराचुरुङ्गीका प्रजाति, ३१ प्रकारका पुतलीका प्रजाति तथा ३३६ प्रकारका वनस्पतिका प्रजाति रहेका छन् ।

वन्यजन्तु र विविध प्रजातिका बासस्थानसँग शिक्षालय जोडिएकाले विदेशी सैनिकका लागिसमेत आकर्षक तालीम मानिएको हो । शिक्षालयमा तालीम लिइरहेका एक कोरियाली सैनिक जङ्गलमा बाँच्ने कलाको ज्ञान लिने विषय चुनौतीपूर्ण र साहसिक हुँदाहुँदै आनन्दसमेत रहेको अनुभव सुनाउनुहुन्छ ।

पछिल्लो समयमा सेनाको प्रतिविद्रोह तथा प्रतिआतङ्कवाद क्षमता अभिवृद्धि गर्न विकसित देशले आफ्नो लगानी वृद्धि गरिरहेको बताइन्छ । अर्कोतर्फ सम्बन्धित देशका भू–राजनीतिक अवस्थाका कारण पनि यस किसिमका तालीमको महत्व विश्वमा दिनप्रतिदिन बढ्दै गएको देखिन्छ । गत महीनामात्र रक्षामन्त्री ईश्वर पोखरेलले सो शिक्षालयको निरीक्षण भ्रमण गर्नुभएको थियो ।
रासस