१४ भाद्र २०८३, आईतवार
,
Latest
अमेरिकाद्वारा बाढीपीडितका लागि ३६ लाख डलरभन्दा बढी अतिरिक्त सहायता घोषणा भोटेकोशीमा पुनः बाढी, सतर्कता अपनाउन स्थानीय प्रशासनको आग्रह सवारीसाधन उपलब्ध गराउन निर्माण व्यवसायीको अपिल आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर विपदमा सेलिब्रेटीहरुको उद्धारको नाटक, त्रिशुलीपारि पुगेन सरकार बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुवै आँखा नदेख्ने दर्जीको सहारा: लट्ठी र हथौडा



अ+ अ-

गलेश्वर । म्याग्दीको बेनी नगरपालिका–२ ज्यामरुककोट फापरखेतका दुवै आँखा नदेख्ने आइतबहादुर दर्जीको हातमा सधैँ एउटा लट्ठी र हथौडा हुन्छ ।

दृष्टिविहीन दर्जी विगत पाँच वर्षदेखि एकाबिहानै एउटा हातले लट्ठी टेकेर र अर्को हातले हथौडा बोकेर घरबाट निस्कनुहुन्छ । गाउँमा निर्माण हुने विद्यालय भवन र व्यक्तिगत घरको लागि गिट्टी कुटेर गुजारा चलाउनु उहाँको बाध्यता बनेको छ । दैनिकजसो बिहानै ज्याला मजदूरी गर्न जाने दर्जी दृष्टिविहीन भए पनि परिवारमा उहाँको जिम्मेवारी भने ठूलो छ । आर्थिक अवस्था कमजोर भएका दर्जीले भकुण्डेको अर्जुन माविमा निर्माणाधीन भवनका लागि गिट्टी कुट्ने गर्नुभएको छ ।

फापरखेतमा सार्वजनिक जग्गामा बसिरहेका दर्जी गत साल पत्रकार हरिकृष्ण गौतमको अगुवाइमा करीब रु एक लाख ५० हजार आर्थिक सहयोग जुटेपछि जस्तापाताले छाएको घर बनाएर बस्नुभएको छ भने रु ५० हजारमा अरुको खेत बन्धकीमा लिनुभएको छ ।

दैनिक घरखर्च चलाउनका साथै छोराको पढाइ खर्च जुटाउन गिट्टी कुट्ने गरेको दर्जीले बताउनुभयो । दर्जीका दुई छोरा र श्रीमती छन् । जेठा छोरा गाउँकै अर्जुन माविमा कक्षा १२ उत्तीर्ण गरेपछि उच्च शिक्षाका लागि आर्थिक अभाव भएकाले वैदेशिक रोजगारीमा जाने तर्खरमा छन् भने कान्छा छोराले पनि राम्रोसँग आँखा देख्दैनन् । कान्छा छोरा अनिल ७ कक्षामा पढ्छन् ।

“मैले दुवै आँखा देख्दिनँ, मेरो कमाइले घरमा चुलो बल्छ”, दर्जीले भन्नुभयोे । दर्जीले आफ्नो सहारा भनेकै एउटा लट्ठी र हथौडा भएको बताउनुभयो । सहाराका रूपमा रहेको लौरोभन्दा प्यारो गिट्टी कुट्नका लागि आवश्यक पर्ने हथौडा आफ्नो लागि महत्वपूर्ण रहेको दर्जीको भनाइ छ । दर्जी परिवार गाउँकै सबैभन्दा कमजोर परिवारको रूपमा रहेको स्थानीय समाजसेवी भीमबहादुर पौडेलले बताउनुभयो । छोरालाई लत्ताकपडा, कपीकलमसहित खाजा खर्च जुटाउनसमेत मुस्किल छ । “सकिनसकी दैनिक रु ३०० जति कमाइ हुन्छ । बिरामी हुँदा आफ्नो शरीरभन्दा छोराहरूको चिन्ता लाग्छ” दर्जीले भन्नुभयो । दर्जीले पैसाको अभावमा कहिलेकाहीँ एकछाक खाने गरेकोसमेत बताउनुभयो ।

“पत्रकार हरिकृष्ण गौतम मेरो जीवनमा भगवान् नै बनेर आउनुभयो”, अर्जुन माविको चौरमा गिट्टी कुट्दै गरेका दर्जीले भन्नुभयो, “उहाँकै आग्रहमा देश विदेशमा रहेका व्यक्तिले मलाई सहयोग गरे र त्यसैको भरमा जस्ताले छाएको घरमा बस्न पाएको छु ।” “दर्जीको अवस्था अत्यन्त टिठलाग्दो थियो”, पत्रकार गौतमले भन्नुभयो, “उहाँको दयनीय अवस्था देखेर मैले सहयोग जुटाएको हुँ ।”

अपाङ्गताको क्षेत्रमा काम गर्ने धेरै सङ्घसंस्था भए पनि आफ्नो घरमा सानो सहयोगसमेत नगरेको दर्जीको गुनासो छ । “गरीबको घरमा त सहयोग गर्ने सङ्घसंस्था पनि आउँदैनन्, कमाइ गर्न पनि सकिँदैन” उहाँले भन्नुभयोे । श्रीमती बिरामी हुने समस्याले समेत नियमित मजदूरीमा जान समस्या हुने गरेको दर्जीको भनाइ छ । दर्जीले मनकारी व्यक्तिसँग सहयोगको आग्रह गर्नुभएको छ ।