१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मातृभूमिको अस्तित्वमा कालो बादल मडारियो : पूर्वराजा ज्ञानेन्द्र



अ+ अ-

काठमाडौं: पूर्वराजा ज्ञानेन्द्र शाहले देश सकसपूर्ण र कपटपूर्ण अवस्थाबाट गुज्रिरहेकाे बताएका छन् ।

२९७औं पृथ्वीजयन्तीको पूर्वसन्ध्यामा बिहीबार शुभकामना सन्देश दिँदै उनले ‘भुलेर, अल्मलिएर र आफ्नै अस्तित्वबोधबाट विमुख हुँदा देश सकसपूर्ण र कपटपूर्ण अवस्थामा आएको’ उल्लेख गरेका छन् ।

पूर्वराजा शाहले ‘पृथ्वीनारायण शाहका दिव्योपदेशअनुरुप व्यवहार गर्न नखोज्दा मातृभूमिको अस्तित्वमा घात–प्रतिघातको कालो बादल मडारिरहेको’ बताएका छन् ।

उनले ‘एउटा नागरिकका निम्ति देशभन्दा ठूलो अर्को वाद र विचार हुन सक्दैन’ भन्दै नेपाली–नेपालीबीच फाटो पैदा गर्ने, दुराग्रह बढाउने, सार्वभौमिक सर्वोच्चता, राष्ट्रिय एकता र सामाजिक सद्भावलाई क्षति पुर्‍याउने, अनुशासनहीनता र अराजकतालाई प्रोत्साहन गर्नेजस्ता कार्य कुनै वाद र विचारका आडमा गरिनुहुँदैन’ भन्ने आफ्नो मान्यता रहेको उल्लेख गरेका छन् ।

शुभकामना सन्देशमा पूर्वराजा शाहले ‘नेपाल रहँदामात्र नेपाली हुनुको गौरव जीवन्त रहने यथार्थलाई आत्मसात् गर्न’ आह्वान पनि गरेका छन् ।