३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ News Polar राष्ट्रपति पौडेल संविधान दिवस विशेष समारोहमा सरिक News Polar संविधानका लक्ष्य पूरा गर्न सबै पक्ष प्रतिबद्ध हुनुपर्ने News Polar बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् News Polar संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको समीक्षा मागेको छ: रवि लामिछाने News Polar नेवानिका दुई वटै वाइडबडी ग्राउन्डेड News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा प्रदेश प्रमुख कर्णको जोड News Polar भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद News Polar संविधानको रक्षा र राष्ट्रिय एकताका लागि एकजुट हुनुपर्नेमा अध्यक्ष ओलीको जोड News Polar दरवाङ–मुना–ढोरपाटन सडक : १४ महिनामा २५ प्रतिशत प्रगति News Polar मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीद्वारा संविधान दिवसको शुभकामना

दूध उत्पादक किसानसामु समस्यै–समस्या

दूध उत्पादक किसानसामु समस्यै–समस्या
अ+ अ-

तेह्रथुम । तेह्रथुमको छथर गाउँपालिका–५, ओख्रेका घमण्ड भट्टराईले तीन वटा गाई पाल्नुभएको छ । उहाँ दैनिक १८ लिटर दूध बेच्नुहुन्छ । रातदिन गाईको स्याहारसुसारमा श्रीमान् श्रीमती दुबै खटिनु हुन्छ । दूध बेचेर मात्रै भट्टराई दम्पतीलाई मासिक २४ हजार रुपैयाँ आम्दानी हुन्छ । दूध बेचेर आउने यो रकमले उहाँको परिवार त चलेको छ तर, बचत गरेर अन्य खर्च धान्न भने पुगेको छैन ।

उहाँलाई गोठभरि एक दर्जन गाई पाल्ने धोको छ । त्यसका लागि आवश्यक इच्छाशक्ति र जमीन पनि छ उहाँसँग । तर, लगानी गर्ने रकम जुटाउन नसक्दा उहाँले व्यावसायिक गाईपालन गर्न सक्नुभएको छैन । सस्तो ब्याजमा ऋण लिएर गाईपालन गर्न प्रयत्न गरे पनि गाउँका जग्गा धितो लिएर बैंकले ऋण नदिँदा र सुलभ ब्याजदरमा ऋण नपाउँदा समस्या भएको उहाँले बताउनुभयो ।

“सरकारले किसानलाई हेपेको छ, किसानले उत्पादन गर्छ र त्यसलाई सबैले उपभोग गर्छन्,” उहाँ भन्नुहुन्छ – “तर सरकारको नीति चाहीँ तिनै किसानलाई अपहेलना गर्ने किसिमको छ ।” युवालाई यो पेशामा लाग्न सरकारी नीतिले प्रोत्साहन नमिल्ने गरेको उहाँको अनुभव छ । भट्टराईको जस्तै दुःखेसो छ, छथर गाउँपालिका–१, आङ्दिमका किसान राजकुमार पन्तको पनि ।

चार वटा दूधालु गाई पालेर मासिक ३० हजार रुपैयाँ आम्दानी गरिरहनु भएका पन्तले गाईपालनलाई नै मुख्य पेशा बनाउनुभएको छ । आफूसहित अन्य दुई जनालाई रोजगारी दिनुभएका उहाँ गाईपालनमा थुप्रै सम्भावना देखे पनि समस्याहरुको थुप्रो रहेको बताउनुहुन्छ । “ढुवानीमा समस्या छ, उन्नत जातका घाँसमा लगानी छैन, दूध बेच्यो, भुक्तानी समयमा हुँदैन,” उहाँ भन्नुहुन्छ ।

दुग्धजन्य व्यवसायबाट आर्थिक लाभ लिन चाहने किसानले उतिकै समस्या भोगिरहेका उहाँले बताउनुभयो । गाउँपालिकाका हरेक वडामा गाउँ–गाउँसम्म पनि सडक पुगेको छ तर, बाह्रै महिना सवारी चल्दैनन् । पन्त भन्नुहुन्छ – “सडक त छन्, तर भरपर्दा छैनन्, त्यसैले ढुवानीमा हामीले घोडाको प्रयोग गरिरहेका छौँ ।”

उहाँका अनुसार अहिले पनि गाउँबाट सङ्कलन केन्द्रसम्म पिठ्युँमा क्यान बोकेर दूध ढुवानी गनुपर्ने अवस्था छ । भट्टराई र पन्तजस्तै छथर गाउँपालिकाका धेरै किसानले यस्तै समस्या सुनाउँछन् । यहाँको आम्दानीको स्रोतमध्ये दूध र दुग्धजन्य उत्पादन मुख्य हुन् । किसानले दुग्धजन्य वस्तुबाट आम्दानी त लिएका छन्, तर थाकका थाक समस्या पनि बोकेर बसेका छन् ।

छथर गाउँपालिकाबाट किसानले दैनिक सरदर ५ हजार लिटर दूध बिक्री गरिरहेका छन् । गाउँपालिका क्षेत्रभित्रका अधिकाँश दूध यहाँको छथर दुग्ध उत्पादक सहकारी संस्थाले सञ्चालन गरेको चिस्यान केन्द्रमार्फत खरिद–बिक्री भइरहेको छ । गाउँपालिका क्षेत्रका हमरजुङ, फाक्चामारा, पञ्चकन्या, सुदाप, ओख्रे र आङिदमका किसानले करीब एक दर्जन सहकारीहरुले सञ्चालन गरेका सङ्कलन केन्द्रमार्फत चिस्यान केन्द्रमा दूध पठाउँछन् ।

यहाँ उत्पादित दूध स्थानीय छुर्पी उद्योगहरु, धरान डेरी र हिलेस्थित डेरीले खरिद गर्दैआएका छन् । दूधबाटै छथर गाउँपालिकाका किसानले मासिक ५० लाख रुपैयाँ भन्दा बढी आम्दानी गरिरहेका छथर दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष बुद्धि खुलालले बताउनुभयो । उहाँले भन्नुभयो – “किसानले आम्दानी पनि लिइरहेका छन् तर, त्यसबाट जति आम्दानी लिन सकिने हो, त्यति चाँही लिन सकेका छैनन् ।” दूध ढुवानी गर्ने कृषि सडकहरु बाह्रै महिना सवारी सञ्चालन गर्न योग्य छैनन् ।

किसानलाई विना धितो सस्तो ब्याजमा ऋण पाउने व्यवस्था छैन । उन्नत जातका गाई खरिद गर्न प्रतिगोटा डेढ लाख रुपैयाँसम्म पर्छ । बीउका लागि साँढेहरु उपलब्ध छैनन् । कृत्रिम गर्भाधानका लागि प्रविधिज्ञहरु छैनन् । उन्नत जातका घाँस र आधुनिक प्रविधिको गोठ व्यवस्थापनमा किसानलाई प्राविधिक ज्ञान छैन । किसानका समस्याबारे बताउँदै अध्यक्ष खुलालले भन्नुभयोे – “धेरै समस्या छन् जुन प्रत्यक्ष/अप्रत्यक्ष छन् । सामान्य ढङ्गले समाधान हुने समस्यामा पनि सरकारी निकायको चासो गएको छैन ।”

जिल्लाका दुई नगरपालिका र चार गाउँपालिकामध्ये सबैभन्दा धेरै दूध उत्पादन हुने क्षेत्र छथर नै हो । यसबाहेक लालीगुराँस नगरपालिका र म्याङलुङ्ग नगरपालिकामा पनि गाईपालन गर्ने किसानहरुको सङ्ख्या बढ्दो छ । मेन्छ्यायेम, फेदाप र आठराई गाउँपालिकामा उत्पादन भएको दूधले स्थानीय मागलाई नै धान्न सकेको छैन ।

म्याङलुङ्गमा किसानले उत्पादन गरेका दूधले बजारको मागलाई धान्न सकेको छैन । लालीगुराँस नगरपालिकामा उत्पादित दूध किसानले दुग्ध विकास संस्थानलाई बिक्री गर्दैआएका छन् । सडक राम्रो नभएको भन्दै संस्थानले छथर क्षेत्रमा उत्पादित दूध लैजान नमानेको किसानको गुनासो छ । “दूध त निजीले पनि लैजान्छन्, तर पैसा ढिलो दिन्छन्, कतिले दिँदैनन्,” सोल्माका किसान दिलकुमार लिम्बुले भन्नुभयो ।

“हामी किसानले उत्पादन गर्छौँ तर, त्यसको उचित बजार व्यवस्थापन गर्न सरकारले सघाएन,” उहाँले गुनासो गर्नुभयोे । दुग्ध विकास संस्थानले पनि किसानलाई प्रोत्साहन मिल्ने गरी काम गर्न नसकेको उहाँले बताउनुभयो । दुग्ध उद्यमी किसानहरुको ठूलो आशा छ स्थानीय तह र जनप्रतिनिधिहरुमाथि । अहिले स्थानीय सरकारको रुपमा रहेका गाउँपालिका र नगरपालिकाहरुमा जनप्रतिनिधि निर्वाचित भएर आएपछि किसानलाई समस्या राख्न सजिलो भएको छ । तर जनप्रतिनिधिले भने किसानका समस्यामा केन्द्रित हुन मेसो पाएका छैनन् । जिल्लाका कुनै पनि स्थानीय तहले दूध उत्पादक किसानलाई लक्ष्य गरी खास कार्यक्रम राखेका छैनन् । किसानले जनप्रतिनिधिहरु मार्फत उत्पादित दूधको बजारीकरण, विना धितो सस्तो ब्याजमा ऋण, अनुदान, कृत्रिम गर्भाधानको व्यवस्था, उन्नत जातका गाई र घाँस खरिदका लागि अनुदान, उन्नत गोठ निर्माणमा अनुदानलगायतको व्यवस्था गर्न माग गरेका छन् । किसानहरुको मागबारे थाहा पाएर पनि पहिलो वर्ष केही गर्न नसकिएको छथर गाउँपालिकाका अध्यक्ष सन्तवीर लिम्बुले बताउनुभयो ।

आगामी वर्ष किसान लक्षित कार्यक्रमहरुलाई प्राथमिकता राखेर आफ्नो कार्यकालमा सिङ्गो गाउँपालिका गाईपालनको विशेष पकेट क्षेत्रको रुपमा विकास भइसक्ने उहाँले बताउनुभयो । जिल्लाका किसानले वार्षिक बीस करोड रुपैयाँ भन्दा बढीको दूध उत्पादन गर्ने गरेका थिए । किसानले आर्थिक वर्ष २०७३÷७४ मा मात्रै २४ करोड रुपैयाँ बराबरको दूध उत्पादन गरेका जिल्ला पशुसेवा कार्यालयको तथ्याङ्क छ । सो वर्ष जिल्लामा ६ हजार ७० मेट्रिक टन दूध उत्पादन भएको थियो जसको सरदर बजार मूल्य २४ करोड २८ रुपैयाँ भन्दा बढी हुन्छ । आर्थिक वर्ष २०७२÷७३ मा २३ करोड ९२ लाख रुपैयाँको मात्रै दूध उत्पादन भएको थियो ।

जिल्लामा उत्पादन भएको दूधमध्ये करीब ७ हजार २ सय लिटर दूध दैनिक रुपमा जिल्ला बाहिर निर्यात हुने गरेको कार्यालयका पशु विकास अधिकृत लोकनाथ ढुंगानाले बताउनुभयो । यहाँको दूध दुग्ध विकास संस्थान विराटनगर, जीवन विकास डेरी, कामधेनु सहकारी संस्था, तरहरा लगायत ठाउँहरुमा निकासी हुन्छ । आर्थिक वर्ष २०७३÷७४ मा जिल्लाबाट १० करोड २२ लाख रुपैयाँ बराबरको दूध जिल्ला बाहिर निकासी भएको कार्यालयको तथ्याङ्क छ । कार्यालयका अनुसार जिल्लामा उत्पादन भएकामध्ये २ हजार ५५५ मेट्रिक टन दूध मात्रै जिल्लाबाहिर निकासी भएको हो । यहाँ दूध प्रतिलिटर सरदर ४० रुपैयाँका दरले किनबेच भइरहेको छ ।
जिल्लाका किसानले उत्पादन गरेको दूध सहकारी संस्था र चिस्यान केन्द्र गरी ३६ भन्दा बढी स्थानबाट दैनिक सङ्कलन हुने गरेको छ । जिल्लामा हाल १० वटा व्यावसायिक कृषि फार्म खुलेका छन् । जिल्लामा २०५१ सालमा इलामबाट उन्नत जातका गाई ल्याएर गाईपालन शुरु गरिएको थियो ।

कार्यालयका अनुसार जिल्लामा २ हजार २०३ वटा उन्नत जातका सहित ६५ हजार ८ सय ५५ वटा गाई पालिएका छन् । यस्तै, १५ हजार ८०३ वटा उन्नत जातका सहित ४३ हजार १७३ वटा भैँसी पालिएका छन् ।