• १६ असार २०८१, आईतवार
  •      Sun Jun 30 2024
  •   Unicode
Logo

प्रहरी परिसरमा ‘नागरिक सहायता कक्ष’



काठमाडौँ । नागरिकका गुनासो सुन्न प्रहरी परिसर काठमाडौँले ‘नागरिक सहायता कक्ष’ स्थापना गरेको छ ।

झण्डै रु १९ लाख ५० हजारको लागतमा निर्माण गरिएको सहायता कक्षको आज प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले उद्घाटन गरेका छन् । समुदाय–प्रहरी साझेदारी अवधारणाअनुसार स्थापना भएको सहायता कक्षबाट नागरिकहरूले महसुस गर्ने गरी सेवा उपलब्ध गराउन महानिरीक्षक खनालले प्रहरी अधिकारीहरूलाई निर्देशन दिए ।

अधिकांश स्थानीय तहमा समुदाय–प्रहरी साझेदारी समितिहरू स्थापना भइसकेको जानकारी दिंदै उहाँले प्रहरीको एउटै मात्र उद्देश्य समुदायसँग मिलेर अपराध न्यूनीकरण तथा शान्ति, सुरक्षा र अमनचैन कायम गरी समृद्ध राष्ट्र निर्माणमा सहयोग गर्नु रहेको बताए । गुण्डागर्दीलाई जरैदेखि फाल्न निर्देशन दिँदै उनले यस्ता गतिविधि समाजमा देखिए खबर गर्न समुदायलाई आग्रह गरे ।

कार्यक्रममा काठमाडौंका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले शान्ति र भयरहित समाज निर्माणले मात्रै समृद्ध नेपाल बन्नसक्ने भएकाले यसतर्फ सबैको ध्यान जानुपर्नेमा जोड दिनुभयो । प्रहरी परिसर काठमाडौँका प्रमुख वसन्त लामाले सेवाग्राहीलाई अन्योल नहोस् भनेर अस्थायी कार्यालयमा नै सहायता कक्ष स्थापना गरिएको बताउँदै काठमाडौँको शान्ति सुरक्षा कायम गर्न प्रतिबद्ध रहेको बताए।

सामुदायिक सेवा केन्द्रका प्रतिनिधि अच्यूत सापकोटाले प्रहरीसँगको साझेदारीले नागरिकलाई शान्ति सुरक्षाको महसुस भएको बताए । भवन निर्माणका लागि नेपाल बङ्गलादेश बैंकले सहयोग गरेको जनाइएको छ ।

यस्तै काठमाडौँ महानगरपालिका, विश्वास नेपाल र संरक्षक समुहबाट फर्निचर र टेलिभिजन उपलब्ध भएको परिसरका प्रहरी नायव उपरीक्षक राजेन्द्र पोखरेलले जानकारी दिनुभयो । उनका अनुसार सहायता कक्षबाट सचेतनामूलक श्रव्यदृष्य सामाग्री प्रसारणका साथै चेतनामूलक कार्यक्रम तथा नागरिकका गुनासाहरूको सुनुवाइ गरिने छ ।