२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

डा. केसी ठूलो अपराधी हुन् : पूर्वमन्त्री मिश्र



अ+ अ-

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्र यादवले अनशनरत डा. गोविन्द केसीका सबै माग पूरा भएको स्पष्ट पारेका छन् । उनले भने,‘डाक्टर केसीले उठाउनुभएको माग विद्येयकमा लगभग सबै समेटिएका छन् ।’


आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले आफू पनि संसदको स्वास्थ्य तथा शिक्षा समितिको सदस्य भएको नाताले र मन्त्रालयको तर्फबाट पनि आफू नै समितिको बैठकमा सहभागी भएको सुनाए । उनले भने,‘यसमा जसरी उहाँहरुले भन्नुभयो एउटै कुरा, मात्रै एउटा कुरा, त्यो के छ अब उपत्यकाबाहिर खोल्ने एउटा कुरा आयो । फेरि दोस्रो कुरा के आयो भने ५ भन्दा बढि नदिने, र तेस्रो कुरा के आयो भने जो सँग आफ्नो मेडिकल कलेज छैन, त्यसलाई दिन नपाउने । भनाईको मतलव के हो भने जम्मा दुई वटा भयो । एउटा केएमसी र अर्को टियु । जो संग यसअगावै पाँचभन्दा बढि कलेज छन् । यसको मतलव यो भयो कि बाहिर नखोल्नुहोस् ।’


उनले भने,‘जबसम्म मेडिकल युनिभर्सीटी हुँदैन् । काठमाडौंमा नखोल्नेबारे सबै सहमति भए । यो ठिक छ । तर, काठमाडौं बाहिरको हकमा, लेटर अफ ईन्टेन्ट दिएको र जसको तीन वर्ष पढाएको पूरा भएको छ । यो बाहेक अरु के भएन त ? सरकारले समयपनि माग्न नपाउने ? तपाई हामीलाई केही दिन समय दिनुहोस, बरु पाँच , ६ वटा छन्, त्यसलाईपनि झार्छौं हामी । मेडिकल युनिभर्सीटी बनाउनको लागि समय चाहिन्छ । जसरी बिपीकेएच धरान छ, जसलाई बनाउन मिल्छ ।’
मन्त्री यादवले सरकारको विरोध गर्नेहरुलेमात्रै गोविन्द केसीको माग पूरा नभएको भनेर यसलई मुद्दा बनाएको आरोप लगाए ।


सत्तारुढ दल नेकपाका नेता एवम् पूर्व स्वास्थ्यमन्त्री डा. वंशिधर मिश्रले डाक्टर गोविन्द केसीले उठाएका ९९ प्रतिशत माग पूरा भैसकेको दाबी गरेका छन् । उनले भने,‘उहाँले दिपावली मनाउनुपर्दथ्यो, तर अनशन बस्नुभएको छ । मनमोहन मेडिकल कलेज अब काठमाडौंमा खुल्दैन । उहाँको मुख्य माग नै त्यही थियो । त्यो अहिले पूरा भएको छ।’


डा. केसीले आफूहरुलाई नैतिकताको पाठ सिकाउन नमिल्ने पनि उनले जिकिर गरे । उनले थपे,‘उहाँले नैतिकताको पाठ सिकाउनुभन्दापनि पहिले आँफैले सिक्नुपर्छ । उहाँ सरकारी कर्मचारी भएरपनि राजनीति गरिरहनुभएको छ । प्राध्यापक पद नछोड्ने अनि पढाउन पनि नजाने ? नैतिकता त उहाँले सिक्नुपर्छ ? अनि अपरेशनपनि नगर्ने ?’


राजनीति नै गर्न मन भए डा. केसीले राजिनामा दिएर खुल्ला राजनीतिमा आउन पनि उनले चेतावनी दिए । डाक्टर केसीसँग भएको सम्झौता पालना गर्छु भनेर सरकारले नभनेको बरु विद्येयक पास गराउन पहल गर्छु भनेर लेखिएको पनि उनले स्पष्ट पारे ।


उनले भने,‘सरकारले विद्येयक पास गर्छु भनेर सम्झौता लेखिएको छैन । बरु, विद्येयक पास गराउन पहल गर्छु भनेको छ । म सम्झौतापत्र हेर्न आग्रह गर्छु ।’
मिश्रले गोविन्द केसीको ज्यान बचाउन उनकै समर्थकहरुले नचाहेको पनि गम्भिर आरोप लगाए । उनले भने,‘उहाँहरुमा लचकता छैन । सरकारले हेलिकप्टरमार्फत उहाँलाई काठमाडौं ल्याएर उपचार गरिरहेको छ । अहिले आईसियुमा उपचार भैरहेको छ।’ उनले डा. केसीलाई अपराधीको संज्ञासमेत दिए ।


फरक प्रसँगमा उनले डाक्टर केसीको विरुद्धमा अनशन बस्ने विजय थापालाई आफूले नचिनेको पनि स्पष्ट पारे । उनले भने,‘उहाँ पनि अनशन बस्नुभएको छ भन्ने कुरा मिडियामार्फत सुनेको छु, तर म चिन्दिन् । उहाँका माग पनि सुनाई हुनुपर्छ ।’


डाक्टर केसीको माग सबैभन्दा बढि ओली सरकारले नै पूरा गरेको उनको दाबी छ । उनले मुलुकलाई अनशन रोगबाट बचाउनुपर्नेपनि बताए ।
डाक्टर गोविन्द केसीका समर्थक एवम् अधिवक्ता डा. सुरेन्द्र भण्डारीले सरकारले केसीसँग गरेको सम्झौता उल्लंघन गरेको आरोप लगाएका छन् । उनले भने,‘सरकारले नै अहिलेको समस्याको सिर्जना गरेको हो । अब यसको समाधानपनि सरकारले नै गर्न सक्छ ।’ डाक्टर केसीको अनशन आम नागरिकको पक्षमा रहेको उनको भनाई छ ।


दुई तिहाईको नाममा वर्तमान सरकार निरंकुश बन्दै गैरहेको पनि उनले आरोप लगाए । उनले थपे,‘सरकारले केसीसँग गरेको सम्झौता पूर्ण रुपमा पालना गर्नुपर्छ ।’ अबको समाधान भनेको नै सरकार लचिलो बन्नुपर्ने उनले सुझाए ।
आफूहरुले अहिले संविधानको सर्वोच्चतामा रहेकोले प्रधानमन्त्री केपी शर्मा ओलीले केसीसँग गरेको सम्झौता पूरा गर्नुपर्नेमा जोड दिए । उनले भने,‘प्रधानमन्त्री भनेको त मुलुकको अभिभावक हो । अभिभावकले ढाँट्दैन् ।’


उनले भने,‘कतै प्रधानमन्त्री संसदमा अल्पमतमा त हुनुहुन्न भन्ने प्रश्न उब्जिएको छ । उहाँले आँफै सम्झौता गरेको कुरा किन लागु गर्नुभएन ? किन सम्झौता कार्यान्वयन गर्नुभएन ? प्रधानमन्त्रीजस्तो व्यक्तिले उदण्ड रुपमा बोल्न मिल्दैन् ।’
डाक्टर केसी निष्ठापूर्वक देश र जनताको पक्षमा अनशन बसेको भण्डारीको भनाई छ । तर, केसीको विरुद्धमा विजय थापा अनशन बसेको कुरालाई अनशनको रुपमा लिन नसकिने उनको तर्क छ । उनले भने,‘विजय थापा निष्ठापूर्वक अनशन बसिरहेका होईनन् । उनलाई कसैले उक्साएका छन् ।’


डाक्टर केसीका समर्थक डा. अभिषेक प्रताप सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिप्रति आफूहरुलाई दुःख लागेको बताएका छन् । उनले भने,‘प्रधानमन्त्रीले संसदमा दिएको अभिव्यक्तिले हामीलाई दुःख लागेको छ । अब राज्यमाथि शंकाको प्रश्न उठेको छ।’
सरकारले अहिले ईगो देखाईरुहेको पनि उनले गुनासो पोखे । सिंहले भने,‘डाक्टर केसी तीन करोड नेपालीको हित र पक्षमा सत्याग्रहमा हुनुहुन्छ । तर, सरकारले आँफै गरेको सम्झौता पालना गरेन । समस्या राज्यबाट नै सिर्जना भएको छ ।

अब समाधानपनि उहाँहरुबाटै हुनुपर्छ ।’
उनले वर्तमान सरकार मुद्दा केन्द्रित नभएको पनि जिकिर गरे । आफुहरु शान्तिपूर्ण रुपमा आवाज बुलन्द गर्ने पक्षमा रहेको उनले जनाए ।