१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बन्ने भो अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, धुर्मुस–सुन्तली फाउन्डेसनले गरे सहमतिपत्रमा हस्ताक्षर



अ+ अ-

काठमाडौं । भरतपुर महानगरपालिका र धुर्मुस–सुन्तली फाउन्डेसनको सहकार्यमा बन्न लागेको अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको लागि सहमतिपत्रमा हस्ताक्षर भएको छ ।

राष्ट्रिय सभागृहमा प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा रंगशालाको औपचारिक घोषणा भएको हो । गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला नामाकरण गरिएको रंगशाला भरतपुर महानगरपालिका–१५ मा बन्न लागेको हो । महानगरपालिकाले उपलब्ध गराउने २० बिघा ६ कठ्ठा जग्गामा रंगशाला बन्ने छ ।

हालसम्म जग्गाको मुआव्जाको कार्य अगाडि बढिरहेको र अब छिट्टै काम सुरु गरिने महानगरपालिकाले जनाएको हो ।

गुरुयोजना तयार भएको २ वर्षभित्र रंगशाला निर्माण गरी महानगरलाई हस्तान्तरण गरिने फाउन्डेसनका प्रमुख सीताराम कट्टेल धुर्मुसले बताएका छन् ।

रंगशाला निर्माणको लागत ३ अर्ब अनुमान गरिएको छ । देश–विदेशका नेपालीहरुबाट प्राप्त हुने स्वैच्छिक सहयोगबाट आर्थिक स्रोत जुटाइने फाउन्डेसनका अध्यक्ष धुर्मुसले बताएका छन् । उनले यसअघि चारवटा वस्ती निर्माण गर्दाको अनुभव रंगशालामा खन्याउने उल्लेख गरे ।

रंगशाला करिब ३० हजार दर्शक क्षमताको हुनेछ । ‘यो रंगशाला नेपाली मौलिकताले भरिपूर्ण र विश्वमै नमूना हुनेछ,’ फाउण्डेसनका प्रमुख धुर्मुसले भने, ‘साथै हामी आईसीसीका सम्पूर्ण मापदण्डहरु पूरा गर्नेछौं ।’

रंगशालाको थ्रीडी डिजाइन तयार भएको छ । अब गुरुयोजना तयार पारिनेछ, जसका लागि ६ महिना लाग्नेछ । त्यसपछि रंगशालाको शिलान्यास गरिने छ । रंगशालाको आर्थिक दायित्व फाउन्डेसनको काँधमा रहेको र जनसहयोगबाटै सम्पूर्ण रकम जुट्ने अपेक्षा गरिएको धुर्मुस बताउँछन् ।

विदेशी सहित स्वेदेशी क्रिकेट प्रतियोगिता चलाउन सक्ने गरि बनाईन लागेको हो । हासम्म नेपाली क्रिकेट टिमले त्रिभुवन बिश्व बिद्यालय (त्रिबि) को मैदान भाडामा लिएर राष्ट्रिय तथा अन्र्तराष्ट्रिय प्रतियोगिता संचालन गर्दै आईरहेको छ ।