१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

लगानीको वातावरण बनाउन सके नेपाली युवाहरु विश्व बजारमै सक्षम हुन सक्छन् : राष्ट्रपति भण्डारी



अ+ अ-

काठमाडौँ । राष्ट्रपति विद्या भण्डारीले नविन सोच भएका युवाहरुमा लगानी र उद्यमशील वातावरण बनाउन सके नेपाली युवाहरु विश्व बजारमै सक्षम हुने बताएकी छिन् । उनले मुलुकको आर्थिक विकासमा उद्यमशीलताको भूमिका अपरिहार्य रहेको भन्दै युवाहरुमा लगानी गर्नुपर्ने कुरामा जोड दिएकी हुन् ।

नेपाल उद्यमशीलता शिखर सम्मेलनको बिहीबार काठमाडौंमा उद्घाटन गर्दै उनले भनिन्, ‘नविन सोच भएका युवाहरुमा लगानी र उद्यमशील वातावरण बनाउन सके नेपाली युवाहरु विश्व बजारमै सक्षम हुने र त्यसले मुलुकको समृद्धिको अभियानमा महत्वपूर्ण योगदान दिनसक्छ।’

राष्ट्रपति भण्डारीले नेपाली युवाहरुलाई मुलुकभित्रै रोजगारीको अवसर सृजना गर्न तथा मुलुकमा बढ्दो व्यापार घाटालाई सन्तुलनमा ल्याउन पनि उद्यमशीलताको विकास अति महत्वपूर्ण हुने विश्वास पनि व्यक्त गरेकी छिन् ।

नेपाल उद्योग परिसंघको संयोजनमा आयोजना गरिएको सम्मेलनमा देशभरका उद्यमीहरु सहभागी भएका छन ।

सम्मेलनले नेपालमा उद्यम विकास, लगानी र त्यसका लागि आवश्यक नीतिगत तथा कानुनी व्यवस्थाका विषयमा ठोस धारणा तय गर्ने अपेक्षा गरिएको छ ।