२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

जम्मु-कश्मिरको आत्मघाती हमलाप्रति देउवाद्धारा दुःख व्यक्त



अ+ अ-

काठमाडौँ । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले भारतको जम्मु–कश्मिरको पुलवामामा बिहीबार भएको आत्मघाती हमलाप्रति दुःख व्यक्त गर्नुभएको छ ।

सभापति देउवाले आज एक विज्ञप्तिमार्फत सो घटनाले सम्पूर्ण विश्वलाई नै शोकविह्वल र स्तब्ध बनाएको उल्लेख गर्दै त्यस्ता आतङ्ककारी घटनाको पुनरावृत्ति हुनु अत्यन्त दुःखद भएको बताउनुभएको छ । उक्त हमलामा भारतको केन्द्रीय रिजर्भ पुलिस बलका ४० जनाको मृत्यु भएको थियो ।

‘विश्वको जुनसुकै कुनामा हुने मानवता विरुद्धका यस्ता आतङ्ककारी घटनाको काङ्ग्रेस सदैव घोर निन्दा र भत्र्सना गर्दछ, हत्या, हिंसा र आतङ्क सदाका लागि अन्त्य गरिनुपर्दछ भन्ने काङ्ग्रेसको स्पष्ट धारणा रहँदै आएको छ,’ विज्ञप्तिमा उल्लेख छ । उहाँले यस दुःखद क्षणमा आफ्नो व्यक्तिगत र पार्टीका तर्फबाट भारत सरकार र भारतीय जनताप्रति सहानुभूति प्रकट गर्दै धैर्यताका साथ अगाडि बढ्न आग्रह गर्नुभएको छ ।

सभापति देउवाले घटनामा परी निधन भएका सबैप्रति श्रद्धाञ्जलि अर्पण गर्दै दिवङ्गत आत्माको चिरशान्तिको कामना, उहाँहरुका परिवारजनप्रति समवेदना र घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।