काठमाडौँ । ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका संयोजक फणिन्द्र नेपालको घरमा प्रहरीले छापा मारेको छ । स्वीट्जरल्यान्डको जेनेभामा आयोजित मानवअधिकार परिषदमा भाग लिएर फर्किएका नेपालको घरमा आज प्रहरीले छापा मारेको हो ।
नेपालको चाबहिलस्थित निवासमा प्रहरीले आज बिहान ८ बजे खानखानतलासी गरेको हो । नेपाल प्रहरीका ६ जनाले घरमा पसेर सोधपुछ तथा खानतलासी गरेको नेपालले जानकारी दिएका छन् ।
खानतलासी र पक्राउ पूर्जी बिना घरभित्रै धरपकडको प्रयास गरिएको भन्दै उनले फेसबुकमा विरोध जनाएका छन् ।
उनले लेखेका थिए, ‘भारतका विदेश सचिव विजय गोखले भोलि बिहीबार काठमाडों आउँदा कसरी र कुन शैलीमा विरोध गर्ने भन्ने विषयमा छलफल हुँदैछ । नेपाल प्रहरीले निगरानी राखेको हुन सक्छ । तसर्थ ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका साथीहरु सचेत र सतर्क भएर बस्नुहोला ।’
यसअघि पनि उनले भारतबाट उच्चस्तरीय भ्रमणहरु हुँदा एयरपोर्टमा कालो झण्डा देखाउने गरेका थिए । अघिल्लोपटक भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउनुअगाडि उनलाई प्रहरीले निवासबाहिरबाटै पक्राउ गरेको थियो ।
नेपालले सुगौली सन्धिमार्फत भारतमा गाभिएको ६० हजार बर्ग किलोमिटर नेपाली भूमि फिर्ता हुनुपर्ने माग राखेर अभियान सञ्चालान गर्दै आएका छन् ।
‘यस प्रकारको प्रहरी क्रियाकलापले नागरिकको वाक् तथा प्रशासन स्वतन्त्रताको हनन भएसँगै मेरो मानवअधिकारको पनि हनन भएको छ,’ नेपालले भनेका छन्, ‘सरकारले यस्तो आतंक बन्द गरोस् भन्ने चाहन्छु ।’