काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले ३० कित्ता शेयर पाएका छन् । सरकारको घोषणा गरेको जनताको जलविद्युत् आयोजना अन्तर्गतको माथिल्लो त्रिशुली–३ ‘बी’ जलविद्युत आयोजनाको १० हजार आवेदन दिएको भए पनि जम्मा ३० कित्तामात्रै सेयर प्रधानमन्त्रीको भागमा परेको हो ।
बिहीबार उर्जा मन्त्रालयमा आयोजित कार्यक्रमकाबीच बाँडफाँट कार्यक्रममा शुरुमा २० कित्ताका दरले सबै आवेदकहरुलाई बाँडफाँट गरिएको र बाँकी रहेको शेयर गोला प्रथाबाट बाँडफाँट गरिएको थियो ।
जनताको जलविद्युत् आयोजना कार्यक्रम सार्वजनिक समारोहमा नै पहिलो शेयर आफूले किन्ने घोषणा गरेका प्रधानमन्त्री ओलीले उक्त आयोजनाको १० हजार कित्ता शेयरका लागि आवेदन दिएका थिए । त्यस्तै प्रधानमन्त्री पत्नी राधिका शाक्यले १० हजार कित्ताकै लागि आवेदन दिएकी थिइन् । उर्जा, जलश्रोत तथा सिचाईं मन्त्री वर्षमान पुनले भने १ हजार कित्ताका लागि आवेदन दिएका थिए । उनीहरुलाई कति कति शेयर पर्यो भन्ने खुलाइएको छैन ।
आयोजनाको आईपीओमा माग गरिएको भन्दा धेरै संख्यामा आवेदन परेको थियो । आयोजनाको धितोपत्र बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ । उसका अनुसार एक लाख चार हजार २९२ जना आवेदकले २० कित्ताका दरले र ५० हजार २ सय ६७ जनाले ३० कित्ताका दरले आईपीओ पाएका छन् ।
आईपीओमा एक लाख ५४ हजार ६२४ आवेदनबाट ६ करोड ४५ लाख ५२ हजार ९०० कित्ताको आवेदन परेको क्यापिटलले जनाएको छ ।