नयाँदिल्ली । भारतको प्रमुख प्रतिपक्षी कंग्रेसले प्रधानमन्त्री नरेन्द्र मोदीको जीवनीमा आधारित बायोपिक फिल्म ‘पीएम नरेन्द्र मोदी’को रिलिज रोक्न माग गरेको छ । कंग्रेसले मोदीको बायोपिक प्रोपागान्डा रहेको उल्लेख गर्दै लोकसभा चुनावअघि रिलिज गर्न नदिन माग गरेको छ ।
कंग्रेसले बुधबार निर्वाचन आयोगसमक्ष फिल्म रिलिजको मिति पछाडि सार्न माग गरेको हो । यो फिल्म ५ अप्रिलमा रिलिज मिति तोकिएको छ । भारतमा आगामी अप्रिल ११ मा लोकसभा निर्वाचन सुरु भई ६ सातासम्म जारी रहनेछ । उक्त अवधिमा निर्वाचन आयोगको सहमति नलिई राजनीतिक विज्ञापनजन्य सामग्री प्रचारप्रसार गर्न प्रतिबन्ध छ ।
फिल्मको पोस्टरलाई २३ भाषमा तयार पारिसकिएको छ । उक्त बायोपिकमा मोदीको भूमिकामा बलिउडका अभिनेता विवेक ओबर रहेका छन् ।
यो फिल्ममा रेलमा चिया बेच्ने बालक, हिमालयमा बिताएका २ वर्षदेखि सन् २०१४ को लोकसभा निर्वाचनमा भारी मत पाएर केन्द्रीय सत्तामा पुग्दासम्मको मोदीको जीवनका कथा समेटिएका छन् ।
अन्य पार्टीले पनि निर्वाचनअघि गरिने रिलिजप्रति आपत्ति जनाएका छन् । यसै साता ४७ पूर्व कर्मचारीले निर्वाचन आयोगलाई पत्र लेख्दै यसबारेमा अनुसन्धान गर्न माग गरेका थिए । दिल्ली निर्वाचन आयोगले भने यसबारे फिल्मका निर्माताको जवाफको प्रतीक्षामा रहेको जनाएको छ । फिल्मको ट्रेलर पनि हालै सार्वजनिक गरिएको छ ।
फिल्मलाई उमंग कुमारले निर्देशन गरेका हुन् । यसअघि कुमारले मोरी कोम र सर्वजित जस्ता बायोपिक बनाइसकेका छन् ।