१३ आश्विन २०८१, आईतवार
,
Latest
झ्याप्ले खोलामा पहिरो हटाइयो, ४८ घण्टापछि सडक दुईतर्फी खुल्यो बाढीपहिरो र डुबानमा परी देशभर एक सय ७० जनाको मृत्यु, ४२ जना अझै बेपत्ता सिधा कुरा प्रकरण: अदालतले मानहानी गरेको ठहर पछि प्रकाशक र सम्पादक जेल चलान बिपत्तिमा पनि उडान सुचारु गरेर यात्रुलाई सहज यात्राको अवसर दिऔ: चाइना साउदर्न सिधाकुराले मानहानी गरेको ठहर: प्रकाशक र सम्पादकलाई ३ महिना कैद सजायको फैसला कमल थापालाई दोहोरो स्वर्ण माथिल्लो सडकबाट खसेको पहिरो तल्लो सडकका सवारीसाधनमा खस्दा झ्याप्ले खोला दुर्घटना समलिङ्गी विवाहलाई छुट दिएर नेपालमा सांस्कृतिक अतिक्रमण गरिएको छः महासचिव गुरुङ प्रधान सेनापतिसँग चीनको राजदूतको भेट हिउँदमा विद्युत आयातमा भर पर्नुपर्छः कुलमान घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

उत्तर कोरियालाइ मनाउन फेरि पहल शुरू, मून अमेरिका भ्रमणमा



अ+ अ-

सियोल – दक्षिण कोरियाका राष्ट्रपति मून जाए–इन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ताका लागि आगामी अप्रिल १० मा वासिङ्टन डिसी जानुहुने भएको छ ।

दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालयका अनुसार दुई नेताबीचको भेटवार्तामा मुख्यरुपमा हाल अबरुद्ध रहेको उत्तर कोरियासँगको आणविक निःशस्त्रीकरणका विषयमा छलफल हुनेछ ।

उत्तर कोरियाका विषयमा अमेरिकी राष्ट्रपतिसँग राष्ट्रपति मूनको यो सातौं वार्ता हो ।

भियतनामको हनोईमा अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ–अनबीचको बहुचर्चित वार्ता भङ्ग भएपछि दुई नेताबीच पहिलो पटक भेटवार्ता हुन लागेको हो ।

“कोरियाली प्रायःद्वीपमा पूर्ण आणविक निःशस्त्रीकरण सम्पन्न गर्नेतर्फ अमेरिकी राष्ट्रपति र दक्षिण कोरियाली राष्ट्रपतिले पुनः घनीभूत छलफल गर्नुहुनेछ । भेटवार्तामा कोरिया र अमेरिकाबीचको पारम्परिक सम्बन्धलाई थप सुदृढ गर्ने उपायहरुको पनि खोजी हुनेछ,” दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

संयुक्तराज्य अमेरिका र उत्तर कोरियाबीचको हनोई वार्ता आणविक निःशस्त्रीकरण पहिले कि उत्तर कोरियामाथि लागेका प्रतिबन्धहरु फुकुवा पहिले गर्ने भन्ने विषयमा मतभिन्नता भएपछि भङ्ग भएको थियो ।

तर उत्तर कोरियाले आफ्नो मुलुकमाथि लागेका प्रतिबन्धहरु आंशिक फुकुवा गर्न मात्र आग्रह गरिएको बताउँदै आएको छ । अमेरिकाले भने उत्तर कोरियाले सबै प्रतिबन्धहरु तत्काल फुकुवा हुनुपर्ने अडान राखेपछि वार्ताको औचित्य सकिएको बताएको थियो ।

हनोई वार्तापछि आयोजित पत्रकार सम्मेलनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वार्ताको सम्पूर्ण प्रक्रिया समाप्त नभएको र आफू अझै पनि वार्ता हुनेमा सकारात्मक रहेको बताउनुभएको थियो ।

उत्तर कोरियासँग सम्बन्ध सामान्यीकरणमा केन्द्रित गरिरहेको दक्षिण कोरियाले अन्तर–कोरियाली परियोजनाहरु पनि अघि बढाएको छ । दक्षिण कोरियाका यी परियोजनाले अमेरिकासँगको सम्बन्धमा तिक्तता आउने सम्भावना पनि छ ।

सियोलले संयुक्त राष्ट्रसंघकै संरचनाभित्र रही उत्तर कोरियाको सीमावर्ती शहर काइसोङमा रहेको औद्योगिक क्षेत्र पुनः खुला गर्ने तयारी थालेको छ । साथै उत्तर कोरियाको माउन्ट कुमगाङमा पर्यटन कार्यक्रम पुनः शुरु गर्न पनि सियोलले पहल गरिरहेको छ ।

उत्तर कोरियासँग पछिल्ला दिनहरुमा कुनै सम्पर्क भएको छ भनी सोधिएको प्रश्नमा राष्ट्रपति कार्यालयका एक अधिकारीले नाम नबताउने शर्तमा भन्नुभयो, “अन्तर–कोरियाली सम्मेलनको तत्काल सम्भावना देखिन्न । तर कुनै पनि समय त्यस्तो वार्ता हुन सक्छ ।”

राष्ट्रपति मून र उत्तर कोरियाली नेता किमले गत वर्ष तीन पटक भेटघाट गर्नुभएको थियो । उत्तर कोरियाली नेता किमले दक्षिण कोरियाको भ्रमण गर्ने यसअघि घोषणा गरिए पनि त्यस्तो मितिको अझै टुङ्गो लागेको छैन ।