काठमाडौं । सोल्टी होटलमा शुक्रबार बिहान शुरु भएको लगानी सम्मेलनमा उद्योगमन्त्री बाहिरै थिए, भित्र भाषण चलिरहेको थियो । त्यसो त उनी यस सम्मेलनको तयारीमा नै ‘छायाँ’मा परेका थिए । उक्त सम्मेलनको उद्घाटन बडो भव्य रुपमा भयो र मन्त्रीहरु अघिल्लो सिटमा बसे । तर पनि उद्योगमन्त्री मात्रिका यादव भने नत भब्य उद्घाटन समारोहमा नै थिए र नत मन्त्रीहरुको लाइनमा नै बस्न पाएका थिए ।
मञ्चमा थिए प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री डा. युवराज खतिवडा । अरु मन्त्रीहरु हलको अग्रसनमा थिए । तर, उद्योगमन्त्री त्यहाँ थिएनन् । उनी कार्यक्रम स्थलमा भने पुगेका हुन् । तर सिट पाएनन् । सिट नपाएपछि झोक्किएर बहिर निस्के र कार्यक्रमको हलबाहिरै बसे ।
उद्योगमन्त्री यादवले सम्मेलन भने त्यहीँ बसेर हेरे । स्क्रिनमा उद्घाटन समारोह हेर्न मिल्ने गरी बनाइएको हलको अन्तिम लहरमा उनी बसे । आफूलाई बेवास्ता गरिएकोमा उनी असन्तुष्ट रहेको प्रष्टै देखिन्थ्यो तर, पत्रकारसामू अघिपछिजस्तो आज भने उनी खुलेनन् । गफिने क्रममा भने ‘पैसा नहुनेले राजनीति गर्न नहुने रहेछ’ भनेको सुनियो ।