८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

झोलुङ्गे पुलकै जिल्लामा प्रयोगबिहीन भए साना पुलहरु

झोलुङ्गे पुलकै जिल्लामा प्रयोगबिहीन भए साना पुलहरु
अ अ+ अ-

तारानाथ आचार्य 
बलेवा, १५ चैत (रासस) – कालीगण्डकी माथि अग्ला र लामा पुल बन्न थालेपछि सर्वसाधारणको आवातजावतका लागि बनाइएका साना र छोटा पुलहरु प्रयोगविहीन बन्न थालेका छन् । बागलुङ र पर्वत जोड्ने गरी बनेका अग्ला तथा लामा पुलहरुका कारण दशकौं पहिला बनेका छोटा र होचा पुलहरु प्रयोगविहीन बनेका हुन् । 

अहिलेभन्दा १०० वर्ष पहिला बागलुङको निरहे घाट र पर्वतको खनियाघाट जोड्ने गरी बनेको पुलका अवशेष समेत बाँकी छैनन् । बागलुङका नन्द कुमार श्रेष्ठको सम्झना उनको परिवारले व्यक्तिगत लगानीमा उक्त पुल बनाएका थिए । पुल बन्नु पूर्व ढुङ्गामा ओहोरदोहोर गर्ने बागलुङेहरुलाई पहिलो पटक कालीगण्डकी तर्न यसले सहज बनाएको इतिहासका जानकार काजी रोशन बताउँछन् । 

दश वर्ष पहिले नेपाल सरकारले नयाँ प्रविधिको ‘सपेन्सन ब्रिज’ निर्माण गरेपछि पुरानो पुलका सबै संरचना हराए । नयाँ बनेको पुलमा समेत मानिसहरुको आवतजावत निकै कम छ । मालढुङ्गामा मोटर चल्ने गरी २०५० सालमा पुल बनेपछि उक्त पुल प्रयोगविहीन अवस्थामा रहेको छ । निरहेको पुलमा अहिले घाँस दाउरा गर्ने र खेतिपातीका लागि वारिपारि गर्नेहरुले मात्रै प्रयोग गर्दै आएका छन् । निरहेको पुल बागलुङेहरुलाई पर्वत र त्यसभन्दा पूर्वका सबै क्षेत्रमा आवतजावतका लागि एक मात्रै विकल्पको रुपमा रहेको थियो । विकास क्रमसँगै बागलुङमा सवारी भित्रिए पछि पुलको प्रयोग घटेको काजी रोशन बताउँछन् । 

बागलुङको बलेवा क्षेत्र र पर्वतको सदरमुकाम कुश्मा बजार तथा बागलुङको जैमिनी क्षेत्र र पर्वतको फलेवास क्षेत्र जोड्ने गरी आधा दर्जनभन्दा धेरै छोटो दूरीका झोलुङ्गे पुलहरु बनेका छन् । बागलुङको कुश्मीशेरामा पर्ने जैमिनी घाट र पर्वतको देवीस्थान जोड्ने गरी १९९० साल भन्दा पहिला खानीगाउँका भवानी प्रसाद शर्मा र मोती प्रसाद शर्माले झोलुङ्गे पुल निर्माण गरेका थिए । दक्षिण बागलुङका सर्वसाधारणको प्रदेश जाने र नून तेल ल्याउन बटौली जान कालीगण्डकी तर्ने एक मात्रै माध्यमको रुपमा रहेको उक्त पुल पछिल्लो समय मर्मतसमेत हुन सकेको छैन । दश वर्ष पहिलासम्म दैनिक हजारौं मानिसको ओहोरदोहोर हुने उक्त पुलमा अहिले मुश्किलले महिनामा एक÷दुईजना मानिस आवतजावत गर्ने गरेको स्थानीयवासी केदार शर्मा बताउँछन् । 

अहिले पनि उनीहरुले बनाएको पुल जीर्ण अवस्थामा रहेको छ । माघे सङ्क्रान्तिको समयमा विसं २०३० को दशकमा यो पुल चुडिँदा कयौं मानिसहरुको मृत्यु भएको जैमिनी नगरपालिकाका पुराना शिक्षक कृतिनाथ शर्माले बताए । चुँडिएको पुललाई पटक पटक मर्मत गरेर बनाइएका संरचना अहिले पनि बाँकी छन् । पुरानो पुलभन्दा केही तल जैमिनी ऋषिको मन्दिर नजीकैबाट २०६० को दशकमा अर्को झोलुङ्गे पुल बनेपछि यो पुल प्रयोगविहीन अवस्थामा रहँदैआएको छ । जैमिनी घाटमा झोलुङ्गे पुल नजीकै प्रदेश सरकारको लगानीमा मोटर चल्ने पक्की पुल निर्माणको कामसमेत भैरहेको फलेवासका समाजसेवी भोलानाथ शर्माले बताए । 

समयको विकास क्रममा मानिसहरुका इच्छा र आवश्यकता बढे सँगै पछिल्लो समय बागलुङ र पर्वतका विभिन्न ठाउँहरु जोड्ने गरी अग्ला र लामा पुलहरु बनाउने क्रम बढ्दै गएको छ । कालीगण्डकीले बनाएको खोँचमा निर्माण भएका पुलहरुमा निर्भर रहेका यहाँका सर्वसाधारणलाई खोँच माथिबाट बन्ने पुलले सहजता प्रदान गरिरहेको छ । विसं २०४५ देखि कुश्मा र ज्ञादी जोड्ने झोलुङ्गे पुलको कल्पना गरिए पनि २०६७ सालमा आएर उक्त पुल निर्माण भएपछि बागलुङ र पर्वत जोड्ने अग्ला पुल निर्माणको लहर चलेको हो । मोदीखोलामाथि निर्माण भएको यो पुलको लम्बाइ ३४५ मिटर र उचाइ १३५ मिटर रहेको छ । त्यस्तै, कुश्मा–कैया झोलुङ्गे पुल २०७० फागुनदेखि सञ्चालनमा आयोे । 

योे झोलुङ्गे पुलका कारण बागलुङ नगरपालिका र जैमिनी नगरपालिकाका बासिन्दा लाभान्वित भएका छन् । कालीगण्डकी नदीमाथि बनेको ३४७ मिटर लामो र १५६ मिटर उचाइमा रहेको यो पुल रु एक करोड ५६ लाखको लागतमा निर्माण गरिएको हो । पुल निर्माण भएसँगै यही पुलभन्दा तल खोँचमा रहेको कैया–कुश्मा जोड्ने गरी बनाइएको पुल प्रयोगविहीन अवस्थामा छ । विसं २०६० देखि ७० को दशकमा यो पुलको प्रयोग गरेर दैनिक ३ हजारभन्दा बढी मानिस ओहोरदोहोर गर्थे । 

बलेवाकै नेपाने र कुश्मा जोड्ने अर्को सानो पुल समेत घाँस दाउरा गर्नेहरुका लागि मात्रै भएको छ । साना र छोटा पुलहरुको प्रयोगमा कमी आउनुको अर्को कारण केबुलकार मोडेलको कुश्मा–बलेवा यान्त्रिक पुल हो । यो पुल २०६९ सालदेखि सञ्चालनमा आएको हो । पर्वत उद्योग वाणिज्य सङ्घको पहलमा निजी क्षेत्रको लगानीमा निर्माण भएको सो पुलमा शुल्क तिरेर मात्रै आवतजावत गर्न सकिन्छ । यो पुल सञ्चालनका कारण पनि खोँचमा कालीगण्डकीमाथि बनेका पुलको प्रयोग घटेको बलेवाका स्थानीयवासी भरत पौडेलले बताए । 

यस्तै, केही दिन पहिला मात्रै बागलुङ नगरपालिका–१ बाङ्गेचौरदेखि पर्वतको कुश्मा नगरपालिका–१ अदुवाबारी जोड्ने गरी निर्माण थालिएको ‘सस्पेन्डेट डी टाइप’ को यो झोलुङ्गेपुल ५६७ मिटर लामो र १३८ मिटर उचाइको हुनेछ । ‘सस्पेन्डेट डी टाइप’ को यो पुल नेपालकै लामो र अग्लो झोलुङ्गे पुल भएको सस्पेन्सन ब्रिज डिभिजन कार्यालयका महानिर्देशक रामचन्द्र श्रेष्ठले बताए । कालीगण्डकी नदीमाथि निर्माण गर्न लागिएको पुल दुई वर्षभित्र सक्ने गरी हिमशिखर÷बिएलटी÷थानी जेभी कन्स्ट्र«क्सनले ७ करोड ९७ लाख ८६ हजार रुपैयाँमा ठेक्का सम्झौता गरेको छ । यो पुलको निर्माण लागत रु १२ करोड २२ लाख १८ हजार ९५७ छ । बागलुङको जैमिनी नगरपालिका र पर्वतको फलेवास नगरपालिका जोड्ने गरी जैमिनी–५ बिनामारे र फलेवासको देवीस्थानमा पनि अर्को अग्लो पुल बनिरहेको छ । निर्माणाधीन दुवै पुलको काम सकिए पछि थप साना झोलुङ्गे पुलहरु प्रयोगविहीन बन्ने छन् । 

मानिसहरुको सुविधाका लागि नयाँ प्रविधिका अग्ला र लामा पुलहरु बनेका भए पनि पुरानाको पुलको पनि संरक्षण र प्रयोगको प्रवन्ध मिलाउनुपर्ने जानकारहरु बताउँछन् । “संरचना त्यसै बनेका होइनन्, ठूलो लगानी र तपस्याले बनेका हुन्,” पर्वतको खानीगाउँका समाजसेवी भोलानाथ शर्माले भने – “नयाँ बनेका संरचनाको उपयोग गर्दा पुराना संरचनाको सदुपयोगमाथि पनि सोच्नु पर्छ ।”