
काठमाडौं । चिकित्सकले फागुन १ गते जचाउँदा भनेका थिए, ‘फेरि अर्को अप्रेसन चैत २२ मा गर्नुपर्छ, २० गते सम्पर्क गर्नुस् ।’ मैले त्यसै गरेँ।
२१ गते बिहीबार बिहान ९ बजे भर्ना भएँ, वीर अस्पतालको ग्यास्ट्रो सर्जरी बेड नम्बर १९३ मा । चिकित्सकले चेकजाँच गरे । पहिलेझैं रगत, ईसीजी, एक्सरे गर्न भने । त्यसै गरेँ । सबै ल्याबका रिपोर्ट फाइलमा ठिक्क पारेँ।
बिहीबार बेलुका चिकित्सकले भने, ‘ल खाली पेट बस्नू । शुक्रबार बिहान अप्रेसन हुन्छ ।’ केही खाइनँ, खाली पेट बशुल्क हजार रुपैयाँ पनि बुझाएँ । चिरफारका सामान र बेहोस पार्न आवश्यक सबै औषधि किनेर ल्याएँ, ठिक्क पारेँ।
पेट खाली थियो। भोक लाग्ने नै भयो। दिसा गर्ने ठाउँमा काट्नुपर्ने भएकाले इन्फेक्सनको बढी सम्भावना थियो। त्यसैले बिहीबार दिउँसो १२ बजेदेखि खाली पेट बसेको थिएँ। हरक्षण अप्रेसनको चिन्ता मनमा भइरह्यो। यो अप्रेसन सक्न पाए, केही बिसेख हुन्थ्यो कि रु
शुक्रबार बिहानै अप्रेसनका लागि चिकित्सक आएर सबै हेरेरजाँचे । ‘ठीक छ’ भने । गए । अप्रेसनमा लैजान ह्विलचियर लिएर आउलान् भन्दाभन्दै निदाएँ । दिउँसो १२ बजेसम्म कोही आएनन् ।
नर्सलाई सोधेँ, ‘अप्रेसन गर्न किन ढिलो रु’ उनले उल्टै ‘तल्लो तलामा रहेको अप्रेसन थिएटरमा गएर ग्यास्ट्रोको डाक्टरलाई आफैंले सोध्न’ भनिन् । म झोंक्किँदै तल झरेर सोधेँ। अप्रेसन गर्न ठीक पर्न लगाएका डाक्टर इन्द्रकुमार झाले जवाफ फर्काए, ‘हेर्नुस् नारायणजी, हामी अप्रेसन गर्ने युनिफर्ममा छौं । तर डाक्टरहरूको हडताल छ ।
तपाईंको गरौं भने फेरि डाक्टरहरू कराउँछन् ।’
पेसागत आन्दोलन भएकाले नरिसाउनुहोला भने । ‘हडताल रोकिए बुधबार सम्पर्क गरेर अर्को बिहीबार भर्ना हुने र शुक्रबार अप्रेसन गरौंला है’ भन्दै बिदा हुन खोजे । म नाजवाफ भएँ। कुरेरै भए पनि उनैबाट अप्रेसन गराउनुछ, रिसाउने कुरै भएन।
भनेँ, ‘त्यसो भए डिस्चार्ज कागजमा चिकित्सकको हडतालका कारण अप्रेसन हुन सकेन भनेर लेख्दिनुस्।’ उनले ‘बरु अप्रेसन पोस्टपोन्ड भयो भनेर लेखौंला, चिकित्सकको हडतालले सरेको भनेर लेख्न मिल्दैन’ भने । यसबारे आजको कान्तिपुर दैनिकमा नवलपरासी संवाददाता नारायण शर्माले लेखेका छन् ।










