६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

कानून व्यवसायीले नै झुक्याएर जग्गा आफ्नो नाममा लिएपछि….



अ+ अ-

बाँके । पछिल्लो समय भूमाफिया निकै सक्रिय भएका छन् । कानूनीराजको नै उपहास हुने गरी भूमाफिया सक्रिय भइरहँदा बाँके पनि अछुतो रहन सकेन ।

भूमाफिया र मालपोत कर्मचारीको मिलेमतोमा सरकारी जग्गा व्यक्तिका नाममा नामसारीका खबर सार्वजनिक भइरहेका बेला बाँकेमा एक कानून व्यवसायीले झुक्याएर एक महिलाको जग्गा आफ्नो नाममा दर्ता गराएको तथ्य खुलेको छ ।

डुडुवा गाउँपालिका-२ बेतहनीकी उषा कुर्मीको एक बिघा १५ कठ्ठा चार धुर जग्गा उच्च अदालत बार एशोसिएसन बाँकेका अध्यक्षसमेत रहनुभएका कानून व्यवसायी विकास आचार्यले आफ्नो नाममा गराएको पीडितले बताउनुभएको छ । बेतहनीकै नान भन्ने दुर्गाप्रसाद बर्मा, रामबहादुर बर्मा र आशाराम बर्माको मिलेमतोमा कानून व्यवसायी आचार्यले उषाको करोडौँ मूल्यको जग्गा आफ्नो नाममा गराएको पीडित कुर्मीको भनाइ छ ।

उषाकी आमा लामो समयदेखि पायल्सको बिरामी हुनुहुन्छ । छिमेकी दुर्गा, राम र आशारामले जग्गा बिक्री गरेर उपचार गराइदिने बताएपछि उषाले उनीहरुकै पहलमा आचार्यलाई दुई कठ्ठा साढे चार धुर जग्गा रु दुई लाख ५० हजारमा बिक्री गर्नुभएको थियो । उषा लेखपढ गर्न नजान्ने भएपछि जग्गा पास गर्ने क्रममा रु २५ लाखमा एक बिघा १५ कठ्ठा चार धुर जग्गा बिक्री गरेको सहीछाप गराएर करोडौँ मूल्यको जग्गा झ्वाम पारिएको हो । सो जग्गा उषाका बुवा जगदीशले यसअघि नै छोरीको नाममा नामसारी गरिदिएको बताउनुभयो ।

उषाको नाममा रहेको कित्ता नं १८, २४, २०, ३१, ३२, ९८, १०८, १३२, १४४, १४९ र ५०८ गत २०७४ मङ्सिर १८ गते विकास आचार्यको नाममा पास भएको छ । दुर्गा, राम र आशारामले जग्गा बिक्री गराइदिएपछि उषाकी आमालाई उपचार गराइदिन्छौँ भन्दै उषा र उहाँका बुबालाई भारतमा लगेर करीब छ महीना उनीहरुले बन्धक बनाएको पीडितले बताउनुभयो ।

“चिकित्सक आउँछ भन्दै हामीलाई एउटा घरमा बन्धक बनाइयो, तर चिकित्सक पनि आएनन् । म माथि दुर्गा र रामले पटक–पटक बलात्कारसमेत गरे”, जसोतसो त्यहाँबाट भागेर वैशाख १० गते बेतहनी आएकी उषाले भन्नुभयो, “भागेर ज्यान जोगायौँ । घर आउँदा आफ्नो घरजग्गाको आम्दानी सोधखोज गर्दा, यो जग्गा तिम्रो होइन, बिक्री भइसक्यो भनेर छिमेकीले भनेपछि आफू छाँगाबाट खसेजस्तै भएँ ।” अहिले उषा आफ्ना वृद्ध बुबाआमासँगै न्याय खोज्दै अड्डाअदालत र प्रहरी प्रशासन धाइरहनुभएको छ ।

तर, कानून व्यवसायी आचार्यले प्रक्रिया पुर्याएर आफूले खरीद गरेको बताउनुभएको छ । सो जग्गा पहिले पनि अदालतमा रोक्का भएको र पछि आफूले पैसा बुझाएर फुकुवा गरी खरीद गरेको उहाँले बताउनुभयो ।

“पीडितलाई पीरमर्का परेको भए, बसेर मिलाउन सकिन्थ्यो”, उहाँले भन्नुभयो, “तर अहिलेसम्म पीडित मसँग आउनुभएको छैन । यो मेरो पेशागत व्यवसायलाई धमिल्याउने खेल भएको छ ।” केही दिनअघि आचार्यकै ल फर्मबाट अख्तियारले रु तीन लाख घुससहित उच्च अदालत नेपालगञ्जका टाइपिष्ट नायबसुब्बा कृष्णकुमार पाठकलाई पक्राउ गरेको थियो ।