१९ माघ २०८१, शनिबार
,
Latest
८ वर्षीया आकृति पाण्डेको बालकथा संग्रह द स्प्राउटिङ स्टोरीज लोकार्पण आइएमई ग्रुपको लगानीमा बागलुङमा इला कम्फोर्ट होटल संचालन त्रिकोणात्मक महिला क्रिकेट श्रृङ्खलाः नेपालले थाइल्याण्डविरुद्ध ब्याटिङ गर्दै राष्ट्र र समाजप्रतिको उत्तरदायित्व निभाउन काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविर चार महिनादेखि त्रिपालमुनि खानीखोलाका घरपरिवार तराईसँग जोडियो ढोरपाटन, बागलुङवासीका लागि अवसर विवाहको उमेरहद २० वर्ष नै कायम गर्न आग्रह काम गर्न सरकारमा जानैपर्छ भन्ने छैन: सुमना श्रेष्ठ चन्द्रागिरि नगरपालिकाद्वारा सार्वजानिक स्थलमा सूर्तिजन्य पदार्थको बिक्री वितरणमा निषेध चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि आन्तरिक गैँडा स्थानान्तरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओलीलाई मोदीको निम्ता, बिहीबार बिहान दिल्ली जाने



अ+ अ-

नयाँदिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो दोस्रो कार्यकालको शपथग्रहण समारोहमा सहभागी हुन नेपाली समकक्षी केपी शर्मा ओलीलाई निम्तो पठाएका छन् । मोदीको शपथग्रहण बिहीबार साँझ हुँदै छ ।

हालै सम्पन्न लोकसभा निर्वाचनमा उनको पार्टी भाजपाले बहुमत हासिल गरेको छ । भारतीय पक्षले काठमाडौंस्थित भारतीय दूतावासमार्फत ओलीलाई शपथग्रहणमा आमन्त्रण पठाएको स्रोतले जनायो ।

संघीय संसद्मा बुधबार आर्थिक वर्ष २०७६/७७ को वार्षिक बजेट पेस गरिने भएकाले प्रधानमन्त्री ओली शपथग्रहणकै दिन बिहीबार बिहान दिल्ली आउने पनि स्रोतले जनायो । बिहीबार साँझ ७ बजे शपथग्रहण सहभागी भएर उनी भोलिपल्ट काठमाडौं फर्कनेछन् । दिल्ली बसाइ क्रममा ओली र मोदीबीच द्विपक्षीय विषयमा छलफल हुने सम्भावना छ । मोदीको निम्तोका सम्बन्धमा दिल्लीस्थित नेपाली अधिकारीहरूले भने अनभिज्ञता व्यक्त गरे ।

सन् २०१४ मा पहिलो पटक प्रधानमन्त्री बन्दा मोदीको शपथग्रहणमा सार्क राष्ट्रका सरकार प्रमुखलाई निम्तो गरिएको थियो । त्यतिबेला नेपालबाट तत्कालीन प्रधानमन्त्री सुशील कोइराला सहभागी थिए । यस पटक भने मोदीले बिमस्टेक राष्ट्रका सरकार प्रमुखलाई बोलाउने तयारी गरेका छन् ।

सार्क राष्ट्रमा निम्तो पठाउँदा पाकिस्तानलाई पनि बोलाउनुपर्ने भएकाले बिमस्टेक राष्ट्रका सरकार प्रमुखलाई बोलाउन लागिएको स्रोतको दाबी छ । औपचारिक निम्तो भने सम्बन्धित मुलुकका सरकार प्रमुखको समयतालिका हेरेर मात्र पठाउने जनाइएको छ । स्रोतका अनुसार बंगलादेशकी प्रधानमन्त्री शेख हसिना वाजेदले व्यस्तताका कारण उपस्थित हुन असमर्थ हुने जानकारी गराएकी छन् ।

बंगलादेशबाट राष्ट्रपति अब्दुल हमिद कार्यक्रममा सहभागी हुने बताइएको छ । श्रीलंकाका राष्ट्रपति मैथ्रीपाला सिरिसेनाले शपथग्रहणमा आउने निश्चित गरिसकेका छन् । शपथग्रहणमा बिमस्टेक सदस्य राष्ट्रबाहेक किर्गिस्तान र मोरिससलाई पनि निम्तो पठाइएको कान्तीपुर दैनिकमा समाचार प्रकाशित छ ।