११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन News Polar बागलुङका दश स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar बाढीले मिर्मीको पुल बगायो News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक अवरुद्ध News Polar परराष्ट्रमन्त्री खनाल र यूएईका उपप्रधानमन्त्री अल नह्यान बीच भेटवार्ता News Polar परराष्ट्रमन्त्री खनाल र आर्मेनियाका विदेशमन्त्रीबीच भेटवार्ता News Polar आश्विन कृष्ण पक्षः सोह्र श्राद्ध (पितृ पक्ष) News Polar फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक News Polar सेनाको निष्कर्षः जलविद्युत्को पुरिएका सुरुङभित्रको उद्धार विपद् प्रतिकार्यको जटिल र साहसिक अध्याय News Polar पूर्वप्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा प्रहरी नियन्त्रणमा News Polar भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा

दाङमा रेशम खेतीका अगुवा बने महेश

दाङमा रेशम खेतीका अगुवा बने महेश
अ अ+ अ-

–नारायणी रजौरे


दाङ । असारको प्रचण्ड गर्मी । दाङको गढवा यसै पनि गर्मी हुने ठाउँ । वरपर गाउँका खेतबारी पनि खाली र उजाड नै छन् तर, केही पर पुगेपछि भने हरियाली भेटिन्छ रेशम खेतीको । गढवा गाउँपालिका वडा नं ४ हडैया गाउँ अहिले रेशम खेतीका कारण चिनिन थालेको छ । गाउँको करिव ६० विघा जमीनमा फैलिएको छ यो खेती । यसले हरियाली त छरेकै छ, गाउँको शोभा पनि बढाइदिएको छ ।

केही वर्ष अघिदेखि हडैया गाउँमा व्यक्तिगत तथा सामूहिक रुपमा रेशम खेती गर्ने अभियान नै थालिएको छ । यस अभियानका अगुवा मानिन्छन् धादिङका किसान महेशदत्त अधिकारी । उनी धादिङको गल्छी गाउँपालिका वडा नं ४ भल्टारका बासिन्दा हुन् । उनले नै यहाँ रेशम खेती शुरु गरेका हुन् । उनकै प्रयासमा हडैया गाउँ अहिले रेशम खेतीबाट हरियाली भएपछि अरु किसानलाई पनि प्रेरणा मिलेको हो ।

शुरुमा खाली रहेको १० विघा जमीन भाडामा लिएर रेशम खेती थाल्नुभएका अधिकारी अहिले पनि यसैमा रमाइरहेका छन् । राम्रो आम्दानी गर्न सकिने देखेर ३३ वर्षीय अधिकारीले ३ वर्ष अघि रेशम खेती थालेका हुन् । बुबाले धादिङमा ३६ वर्षदेखि यही खेती गरिरहनु भएको र बुबाकै प्रेरणाबाट यस खेतीमा लागेको उनी बताउँछन् । आगामी दिन रेशम खेतीलाई अझै विस्तार गर्ने योजना उनको छ ।
अधिकारी भन्छन्– ‘दाङमा यसको सम्भावना राम्रो देख्छु । जमीन पनि पर्याप्त भएकाले यहाँ आएर खेती गरेको हुँ ।’

यहाँ आएर रेशम खेती गर्नुप¥यो भन्दा गाउँलेहरुले शुरुमा विश्वास नै नगरेको उनी स्मरण गर्छन् । ‘जब मैले बाँझो खेतबारीमा रेशमका बिरुवा रोपेर ढकमक्क पारें, सबैमा विश्वास पलायो,’ उनले भने ।
डेढ वर्षमा बाँझो बारी हरियो भयो । त्यसपछि रेशम कीराका लार्भा ल्याएर उनले पाल्न शुरु गरे । अधिकारी भन्छन्– ‘सबै गाउँले छक्क परे । किम्बुका पात टिप्दै रेशम कीराका लार्भाहरुलाई खुवाउँदै, हुर्काउँदै कोकुन उत्पादन गर्न थालें । यो प्रक्रियाले उनीहरुमा चाख पनि बढायो ।’

कोकुन उत्पादन भएर त्यसबाट गाउँमै धागो उत्पादन हुन थालेपछि किसानहरु यस खेतीप्रति आकर्षित भएको अधिकारीले बताए । अधिकारीले अहिले कोकुनबाट धागो निकाल्ने काममा गाउँका १५ जनालाई रोजगारी पनि दिएका छन् । उनले गरेको खेती देखेर हडैया गाउँ र त्यस आसपास अन्य गाउँका किसानहरु पनि यस खेतीतर्फ आकर्षित भएका छन् ।

अहिले यहाँ विभिन्न छ वटा समूह र केही किसानले व्यक्तिगत रुपमा ५० विघा जमीनमा रेशम खेती गरिरहेका छन् । दाङमा तयार भएको कोकुनबाट धागो निकाल्ने, प्रशोधन गर्ने र कपडा बनाउने काम भने उनले धादिङबाट गर्दै आएका छन् । उनका उद्योगहरु धादिङ र काठमाडौंमा रहेका छन् । अब केही समयपछि दाङबाटै प्रशोधन गर्ने र कपडा बनाउन थाल्ने उनको योजना छ ।

सबै खर्च कटाएर वार्षिक २५ देखि ३० लाख रुपैयाँसम्म बचत गर्ने बताउनुहुने अधिकारी आफ्नो कमाइप्रति सन्तुष्ट रहेका छन् । एक वर्षमा चारदेखि पाँच पटकसम्म कोकुन उत्पादन गर्ने सकिने हुँदा आम्दानी पनि राम्रैसँग लिन सकिने उनको अनुभव छ ।

आफूले गरेको खेती देखेर अहिले गाउँका धेरै किसान उत्साहित भएर यसको खेतीमा लागेका र त्यसबाट आफूलाई सन्तुष्टि मिलेको उनको भनाइ छ । यहाँका किसानहरुले उत्पादन गरेको कोकुन उनी आफैंले किन्ने र त्यही धागो प्रशोधन गरेर बेच्ने गर्छन् । उनका अनुसार रेशम कीराले उत्पादन गर्ने कोकुन प्रतिकेजी रु ५०० पर्छ । रेशमलाई सेतो सुनका रुपमा पनि लिने गरिन्छ । यसको खेती पनि अन्य खेतीको तुलनामा महङ्गो छ ।

‘मेहनतका साथ यसमा लागे छिट्टै राम्रो आम्दानी लिन सकिने भए पनि केही समस्या छन्,’ उनी भन्छन्,– ‘यहाँ सिँचाइको अभाव छ । त्यस्तै, कीरा पाल्ने घर पर्याप्त छैनन् ।’ यहाँ उत्पादन हुने कोकुनलाई यहीँ प्रशोधन गर्ने योजनामा रहेका उनी कपडा बुन्ने तान भइदिए यहीँ कपडा नै तयार गर्न सकिने बताउँछन् । रेशम खेती हेर्ने विज्ञ उपलब्ध नहुँदा पनि समस्या पर्ने गरेको छ । प्रविधिको अभावमा यहाँ उत्पादन गरेको कोकुनबाट धागो निकालेर धादिङमा लगी उनले कपडा बुन्ने गरेका छन् । उत्पादित धागोमध्ये २० प्रतिशतबाट कपडा बनाएर बेच्ने गरेको र अरु सबै धागो अमेरिका, जापान, लगायतका देशहरुमा नेपालका व्यापारीमार्फत बिक्री गर्ने गरेको उनी बताउँछन् ।

गत वर्ष उनले दाङमा उत्पादित धागोबाट बनाइएका साडी काठमाडौँको भृकुटीमण्डपमा लागेको प्रर्दशनीमा लगेर पनि बिक्री गरेका थिए । अहिले गढवा गाउँपालिका वडा नं ४ हडैया गाउँमा मात्र ५० बिघा, गोबरडिहामा १० बिघा गरी जम्मा ६० बिघा जमीनमा सामूहिक र व्यक्तिगत रुपमा रेशम खेती गरिएको छ ।

सोही ठाउँका २९ वर्षीय रामलक्ष्मण शाहले पनि यसपटक आफ्नो दुई बिघा जमीनमा यसको खेती थालेका थिए । अधिकारीबाट प्रेरणा पाएरै यसको खेती थालेको उनले बताए । त्यसैगरी, गढवा–४ गोबरडिहाका ३२ वर्षीय अन्जित चौधरीले पनि दश बिघा जमीन भाडामा लिएर रेशम खेती गरिरहनु भएको छ । धान, मकै, गहुँ जस्ता परम्परागत खेती भन्दा रेशम खेतीबाट यथेष्ट आम्दानी लिन सकिने भएकाले आफूहरु यस खेतीतर्फ आकर्षित भएको यहाँका किसानले बताएका छन् ।

रेशम खेती गरेका किसानहरुलाई प्रोत्साहन दिन गत वर्ष प्रदेश ५ को सरकारले कीरा घर निर्माणका लागि साढे ११ लाख रुपैयाँ अनुदान दिएको थियो । सो रकमबाट दुईवटा कीरा घर निर्माण भैरहेको चौधरीले बताए । यस्तै, गढवा गाउँपालिकाले पनि यसपटक रेशम खेती गर्ने किसानहरुलाई प्रोत्साहन गर्ने नीति ल्याएको छ भने प्रदेश सरकारले रेशम खेतीका लागि रु ५० लाख रकम विनियोजन गरेको छ ।