११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन News Polar बागलुङका दश स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar बाढीले मिर्मीको पुल बगायो News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक अवरुद्ध News Polar परराष्ट्रमन्त्री खनाल र यूएईका उपप्रधानमन्त्री अल नह्यान बीच भेटवार्ता News Polar परराष्ट्रमन्त्री खनाल र आर्मेनियाका विदेशमन्त्रीबीच भेटवार्ता News Polar आश्विन कृष्ण पक्षः सोह्र श्राद्ध (पितृ पक्ष) News Polar फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक News Polar सेनाको निष्कर्षः जलविद्युत्को पुरिएका सुरुङभित्रको उद्धार विपद् प्रतिकार्यको जटिल र साहसिक अध्याय News Polar पूर्वप्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा प्रहरी नियन्त्रणमा News Polar भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा

वर्षा लागेसँगै दिनरात त्रासमा मध्यपुर र बालकोटका बासिन्दा

वर्षा लागेसँगै दिनरात त्रासमा मध्यपुर र बालकोटका बासिन्दा
अ अ+ अ-

– रमेश गिरी

भक्तपुर । वर्षायाम शुरु भएसँगै मध्यपुरथिमि, सूर्यविनायक र भक्तपुरका बासिन्दा दिनरात त्रासमा बसेका छन् । वर्षामा हनुमन्ते नदीमा आएको बाढी गत वर्षजस्तै बस्तीमा पसेर वितण्डा मच्चाउला भन्ने डर र त्रासमा यहाँका बासिन्दा बसेका हुन् ।

गत वर्ष असार २८ गते परेको भीषण वर्षाका कारण भक्तपुर नगरपालिकाको जगातीदेखि सल्लाघारीसम्म, मध्यपुरथिमि नगरपालिकाको राधेराधे क्षेत्र, कमेरोटार क्षेत्र, मध्यपुर अस्पताल, शङ्खधर चोक, अरनिको राजमार्ग, सागबारी, सूर्यविनायक नगरपालिकाका कटुञ्जे, बालकोटलगायतका क्षेत्रमा हनुमन्तेको बाढी पस्दा सयाँै घर डुबानमा पर्नुका साथै करोडौँको क्षति भएको थियो ।

यस वर्ष हनुमन्ते करिडोर निर्माण शुरु भएसँगै हनुमन्तेको बाढी बस्तीमा नपस्ने आशामा बसेका यहाँका बासिन्दा भूमाफियाको चलखेलमा हनुमन्ते करिडोर निर्माण रोकिएसँगै उर्लिएको हनुमन्ते यस वर्ष पनि बस्तीमा पस्ने त्रासमा परेका छन् ।

अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले पहिलो चरणमा चार किलोमिटर करिडोर निर्माण गर्न सरकारको रु ८१ करोड लागतमा ठेक्का सम्झौता गरी २०७५ मङ्सिरदेखि हनुमन्ते करिडोरको निर्माणकार्य शुरु गरे पनि असार मसान्तसम्म सम्पन्न गर्ने लक्ष्य रहेको हनुमन्ते करिडोर निर्माण असार लागेलगत्तै रोकिएपछि ठप्प भएको ठेकेदार पिएस गोल्डेनगुड समानान्तर जेभीका कम्पनी प्रबन्ध सञ्चालक नीरज थपलियाले बताउनुभयो । उहाँले प्रमुख जिल्ला अधिकारीबाट काम सञ्चालन गर्ने आदेश र सुरक्षा पाए शुरु गर्न सकिने बताउनुभयो ।

जिल्लाको चारवटै नगरपालिका भएर बग्ने वाग्मतीको सहायक नदीको रूपमा रहेको हनुमन्ते नदी नौ किलोमिटर लामो छ । तीन चरणमा दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको हनुमन्ते करिडोर पहिलो चरणमै काम रोकिएको हो । नदीको बहाव क्षेत्र २० मिटर, दायाँबायाँ २०–२० मिटरको फुटपाथसहितको सडक गरी ६० मिटर फराकिलो करिडोर निर्माणसँगै नदीको दुवैपट्टि ढुङ्गाको अग्लो पर्खाल निर्माण गरी नदीको पानी बस्तीमा पस्नबाट रोक्ने गरी हनुमन्ते करिडोर निर्माणकार्य अगाडि बढाएको सांसद महेश बस्नेतले बताउनुभयो ।

उहाँले भन्नुभयो, “यो सानो प्रयासले आएको आयोजना होइन, धेरै दुःख गरेर दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी ल्याएको योजना हो, समस्या भए छलफल गरेर समाधान गर्नुपर्छ, अरुको कुरा सुनेर विकास रोक्नु गलत हो, सधैँ रोक्न खोजे पन्छाएर गइन्छ ।”

भक्तपुरलाई बाढी र डुबानबाट जोगाउने, जाममुक्त भक्तपुर बनाउने, अरनिको राजमार्गको वैकल्पिक मार्गको रूपमा विकास गर्नेसमेत विभिन्न योजनासहित आएको हनुमन्ते कोरिडोर निर्माण रोकेर विकासमा अवरोध पु¥याउनु गलत भएको उहाँले बताउनुभयो । उहाँले समस्या भए छलफल र सहमतिबाट टुङ्याउनुपर्ने बताउँदै विकासलाई यत्तिकै रोकेर राख्न खोजे विकासविरोधी तत्वलाई पन्छाएर काम अगाडि बढाइने बताउनुभयो ।

मध्यपुरथिमि नगरपालिका क्षेत्रमा सञ्चालित ब्लक कारखानाले पर्खाल लगाएर दुई दशकदेखि कब्जा गर्दै आएको करोडौँ मूल्य पर्ने सात रोपनी सार्वजनिक जग्गा झिक्न पर्खाल भत्काएपछि भूमाफियाको चलखेलले हनुमन्ते करिडोरको काम रोकिएको स्थानीयवासीको गुनासो छ । राधेराधेबाट विनाअवरोध निर्माण हुँदै गएको करिडोर ब्लक कारखाना अगाडि पुगेपछि रोकिएको बताउँदै स्थानीय सरोकारवाला दामोदरप्रसाद श्रेष्ठले सार्वजनिक जग्गा हडप्न खोज्ने भूमाफियाले सांसदसमेतलाई प्रयोग गरी शक्तिको आडमा केही व्यक्तिको परिचालन गरी करिडोर निर्माण रोकेको बताउनुभयो ।

स्थानीय जम्मबरबहादुर केसीले वर्षौंदेखि आफ्नो जग्गामा खोला बग्दा हाँसेर बस्नेहरू अहिले विकास रोक्न आएको बताउँदै पीडित जग्गाधनीले राहत पाउने बेलामा एक आना पनि जग्गा नभएका भूमाफिया करिडोर रोकेर समस्या सिर्जना गर्न आएको बताउनुहुन्छ । मध्यपुरथिमि नगरपालिका राधेराधेका सुमित्रा थापाले हनुमन्ते करिडोर निर्माण रोकिएपछि बस्तीमा बाढी पस्ला भनेर रातभरि निदाउन नसकेको बताउँदै बाढी पसेर क्षति भए करिडोर निर्माण रोक्ने व्यक्तिले जिम्मा लिनुपर्ने बताउनुभयो ।

चारदोबाटो बालकोटका कुखुरा व्यवसायी मनोहर खत्रीले गत वर्ष बाढी पसेर आफ्नो खोरमा बिक्री गर्न तयार पारेको २०० कुखुरा बगाएको बताउँदै यस वर्ष थप त्रास भएको बताउनुभयो । उहाँले भन्नुभयो, “हनुमन्ते नदीको बीचबीचमा ढुङ्गा थुपारिएको छ, माटो जताततै थुप्रिएको छ, करिडोर निर्माण भएको ठाउँमा फराकिलो भए पनि त्यो भन्दा तल, माथि साँघुरो छ, यस्तो अवस्थामा बाढी आए थप जोखिम हुन्छ, त्यसैले यहाँका बासिन्दाले दिनानुदिन त्रासमा बाँच्नुपरेको छ ।”

लामो समयदेखि रहँदै आएको नदीको धार परिवर्तन गर्ने र सिमाङ्कनको विवादलाई सम्बन्धित जग्गाधनी, सांसद, विभिन्न राजनीतिक दलका नेता, सूर्यविनायक नगरपालिका र मध्यपुरथिमि नगरपालिकाका प्रमुख, बालकोटका वडाध्यक्षसहित पटक–पटकको छलफलले ल्याण्डपुलिङको माध्यमबाट सबै समस्या समाधान गर्दै हनुमन्ते करिडोर निर्माण गर्ने सहमतिअनुसार काम अगाडि बढेको थियो ।

सहमतिअनुसार नै सूर्यविनायक नगरपालिका र मध्यपुरथिमि नगरपालिकाले संयुक्तरूपमा तयार पारेको नक्साको आधारमा दीर्घकालीन समस्या समाधान गर्ने गरी नदीको बहावलाई व्यवस्थित गर्दै जग्गाको विवाद ल्याण्डपुलिङको माध्यमबाट समाधान गर्ने, अतिक्रमण भएका सार्वजनिक जग्गा फिर्ता गरी व्यवस्थित गरिने सहमतिअनुसार नै काम अगाडि बढेको हो ।

यसबारेमा सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले रोकिएको हनुमन्ते करिडोर पुनः शुरु नभए गत वर्षजस्तै बस्ती डुबानमा पर्ने जोखिम रहेको बताउँदै निर्माण पुनः शुरु गर्ने पहल भइरहेको बताउनुभयो । मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले समस्या भए समाधान खोज्नुपर्ने बताउँदै काम नै रोकेर राख्न भने नहुने बताउनुभयो ।

सूर्यविनायक नगरपालिका–३ बालकोटका वडाध्यक्ष शिवशरण खत्री सबैको सहमतिमा समस्या समाधान भए पनि अहिले आर्थिक चलखेल गर्न करिडोर निर्माण नै रोक्नु गलत भएको बताउँदै बस्ती डुबानमा परे रोक्नेले जिम्मेवारी लिनुपर्ने बताउनुभयो ।