२७ भाद्र २०८३, शनिबार
,
Latest
पोखरा बसपार्कका सुकुम्बासी व्यवस्थापन अघि बढाउँदै महानगर शहरको भान्सामा पुग्छ भोजपुरको ‘अकबरे खुर्सानी’ बाढीपीडितका लागि बाँकेका विद्यालय र अस्पतालबाट एक करोड २५ लाख सहयोग एसीसी प्रिमियर कप फाइनल: युएईविरुद्ध पहिला ब्याटिङ गर्दै नेपाल बाँदर-बँदेल रोक्न दिनमा हेरालु, रातमा काँडेतार आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर एसिसी प्रिमियर कप फाइनलः आज नेपाल र युएई भिड्दै कलाकार सङ्घद्वारा दैवीप्रकोप उद्धार कोषमा पाँच लाख २५ हजार रुपैयाँ सहयोग भोटेकोशी बाढी प्रभावितका लागि दूरसञ्चार प्राधिकरणद्वारा १५ करोड सहयोग बर्दिवास मेडिकल कलेज अब बन्छः मन्त्री पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसईई परीक्षार्थीलाई खुसीको खबर ! उत्तरपुस्तिका पुनः परीक्षण हुने



अ+ अ-

भक्तपुर । प्रवेशिका परीक्षा (एसईई)मा प्राप्त नतिजाप्रति असन्तुष्ट परीक्षार्थीका लागि खुसीको खबर छ । परीक्षा नियन्त्रण कार्यालयले यस पटकदेखि परीक्षार्थीका उत्तरपुस्तिका पुनःपरीक्षण गर्ने व्यवस्था सुरु गर्दै छ । त्यसका लागि एसईई परीक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै आवेदन भने दिनुपर्ने छ ।

यसभन्दा पहिले निवेदन दिनेहरूले उत्तरपुस्तिका जाँचपछि प्राप्त अङ्क मात्र पुनः जोड्ने व्यवस्था थियो । अब निवेदन आए उत्तरपुस्तिका नै पुन जाँच गरिने छ । परीक्षकहरूले जथाभावी रूपमा उत्तरपुस्तिका परीक्षण गरिदिने र त्यसबाट परीक्षार्थी अन्यायमा पर्ने गरेको तथ्य परीक्षा नियन्त्रण कार्यालयकै अध्ययनले प्रमाणित गरिसकेको छ । त्यसैले अभिभावक, विद्यार्थी तथा विद्यालयका पदाधिकारीले निकै अघिदेखि प्रवेशिका परीक्षाको उत्तरपुस्तिका पुनःपरीक्षण गर्ने व्यवस्थाका लागि माग गर्दै आएका थिए ।

परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीले यस्तो अभ्यास यसैपटकबाट थालनी गर्न लागिएको जानकारी दिँदै भन्नुभयो, “सम्बन्धित विद्यार्थी, उनका अभिभावक र सम्बन्धित विषयका विज्ञलाई राखेर पुनःपरीक्षण गराउने व्यवस्था थाल्दै छौँ । यसबाट विद्यार्थी र उनका अभिभावक सन्तुष्ट हुन सक्ने छन् । ” उत्तरपुस्तिका पुनःपरीक्षणका लागि शुल्क तोक्न बाँकी छ ।

प्रवेशिका परीक्षामा पुनःपरीक्षणको व्यवस्था नौलो होइन । राणाकालमा पनि यस्तो सुविधा विद्यार्थीलाई प्रदान गरिन्थ्यो । त्यो बखत प्रधानाध्यापकमार्फत ‘परीक्षा नियन्त्रकको कार्यालय’मा ‘पाएको नम्बर दोहोर्याई पाऊँ’ भनी दरखास्त दिनुपथ्र्यो ।

वि.सं. २००४ वैशाख १ गतेको गोरखापत्रमा “एसएलसी रेगुलेसनबमोजिम कापी दोहोर्याई जाँच्दा २००३ सालको एसएलसी परीक्षा पास हुन आएका स्कुलमा पढी जाँच दिने केदारलाल श्रेष्ठ तेस्रा श्रेणीमा पास भएको छ । हरमणि आदी भनेर सूचना छापिएको थियो । हरमणि आदी त्यसबेलाका परीक्षा नियन्त्रक हुनुहुन्थ्यो ।

उत्तरपुस्तिका पुनःपरीक्षण गर्दा उत्तीर्ण भएको अवस्था २००६ सालमा पनि देखिएको थियो । उत्तरपुस्तिका पुनःपरीक्षण गराउँदा तृतीय श्रेणीमा उत्तीर्ण भएका दिवाकरविक्रम राणा दोस्रो श्रेणीमा र अनुत्तीर्ण भएका रामनिधि तेवारी तेस्रो श्रेणीमा उत्तीर्ण भएका थिए । पछि यस्तो सुविधा हट्यो । कहिलेबाट हटेको भन्ने यकिन छैन ।

उत्तरपुस्तिकाका प्रतिलिपि हेर्न चाहने परीक्षार्थी थुप्रै हुन्थे तर गोपनीयता कायम राख्नुपर्ने भएकाले उत्तरपुस्तिका देखाउने अभ्यास भने थिएन । राष्ट्रिय सूचना आयोगले उत्तरपुस्तिकाको प्रमाणित प्रतिलिपि परीक्षक तथा सम्परीक्षकको नाम नामेसी नखुल्ने गरी उपलब्ध गराउन आदेश दिएपछि २०६८ सालबाट उत्तरपुस्तिकाको प्रतिलिपि उपलब्ध गराउन थालियो । पनिकाका अनुसार २०७५ सालको एसईई परीक्षाको नतिजा चित्त नबुझेको भन्दै पुनर्योगका लागि सानोठिमीस्थित पनिकामा करिब आठ हजारले आवेदन दिएका छन् । हुलाकबाट पठाएर वा जिल्लास्थित शिक्षा निकायबाट पनि यस्तो आवेदन दिन पाउने भएकाले थप दुई हजारको आवेदन आउन सक्ने अनुमान पनिकाले गरेको छ । पुनर्योगका लागि प्रतिविषय पाँच सय रुपियाँ बुझाउनुपर्ने नियम छ ।

परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीले पुनर्योगका लागि आवेदन दिनेहरूले प्रतिलिपि वा पुनःपरीक्षण गर्न सक्ने बताउँदै प्रतिलिपि लिन चाहनेहरूले पछि पुनःपरीक्षणको सुविधा माग गर्न नपाउने स्पष्ट गर्नुभयो । गत वर्षबाट कक्षा ११ र १२ मा पनि पुनःपरीक्षणको सुविधा सुरु भएको थियो । ती कक्षामा प्रतिविषय दुई हजार रुपियाँ बुझाएर पुनःपरीक्षण गराउन सक्ने व्यवस्था गरेको समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ ।