११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar चोलेन्द्र प्रकरण: आज सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता News Polar टेक्सासको अस्टिनमा भव्य रूपमा इन्द्रजात्रा मनाइयो-फोटो फिचर News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन

ग्राण्डी अस्पतालको दादागिरी : साढे ६ लाख दिनुहोस्, बच्चा मारिदिन्छु

ग्राण्डी अस्पतालको दादागिरी : साढे ६ लाख दिनुहोस्, बच्चा मारिदिन्छु
अ अ+ अ-

काठमाडौ । गलत अस्पताल छनोट गरेका कारण मैले बच्चा गुमाएँ । ग्राण्डी अस्पतालले सञ्जीव न्यौपानेको बच्चाको उपचारमा लापर्बाही गरेको थाहा हुँदाहुँदै म यहाँ आउनै नहुने । श्रीमती निशाले त भनेकी पनि थिइन्, तर मैले नै मानिनँ, सधैं त्यस्तो हुँदैन भनें । अहिले १८ दिनकी छोरीको कलिलो अनुहारले मलाई लखेटिरहेको छ ।

गएको असार २० गते निशाको कोखबाट जुम्ल्याहा छोरी सकुशल जन्मे । प्रसूति कक्षबाहिर बसेको मलाई डाक्टर आफै आएर दुवै छोरी स्वस्थ छन् भनेका हुन् । पहिलो सन्तान जन्मिएको १२ वर्ष पछि आईभीएफ सेवा लिएर दोस्रो सन्तान त्यो पनि दुईवटा पाउँदा हामी निकै खुशी भएका थियौं ।

गर्भमा दुईवटा बच्चा बढ्दै गएकाले आमालाई गाह्रो भयो भनेर डा।पवनराज पन्तको सल्लाहमा आठ महिनामा नै शल्यक्रिया गरी बच्चा निकालियो । भर्खर बच्चा एकदम राम्रो छ भनेका डाक्टरले तुरुन्तै फोन गरेर बच्चालाई आमाको होस नआएसम्म एनआईसीयूमा राख्छौं भने । निशाको होस ढिला आयो । बच्चा सकुशल छ अब्जरभेसनको लागि मात्र २४ घण्टा राख्ने हो अक्सिजन दिनुपर्दैन भने ।

भोलिपल्ट बच्चालाई आमाको क्याथेटर ननिकाली दिन मिल्दैन भने, मैले डाक्टरको कुरा पत्याएर हुन्छ भनें । अर्को दिन बच्चाको पिसाब चेक गरौं, रिपोर्ट आएपछि दिउँला भने, हरेक दिन एक एक कुरा गर्दै पैसा असुल्ने काम मात्र गरिरहे । पुनः बच्चाको रगत चेक गर्ने, ढाडबाट पानी निकाल्ने गरेर १७ दिन बिताए । १७ दिनका दिन ठूलो बच्चालाई अक्सिजन दिनुपर्ने भो भने, दुई घण्टापछि भेन्टिलेटरमा राख्नुपर्ने भयो भने । भोलिपल्ट साउन ६ गते बिहान ६ बजे नै फोन आयो, हामी दौडिएर गयौं । एनआईसियुमा पस्नासाथ ‘सरी, तपाईंको बच्चा बचाउन सकेनौं’ भने ।

यति नै बेला दोस्रो बच्चातर्फ मेरो ध्यान गयो र हेरेको त शरीरभरि घाउ नै घाउ छ । अब यो अस्पतालले बच्चाको उपचार हैन पैसा मात्र असुल्ने रहेछ भन्ने लाग्यो । तत्काल दोस्रो बच्चालाई त्यहींबाट सीधै इशान अस्पतालमा फोन गरेर लग्यौं । शरीर, हातको नाडीमा पिप जमेको रहेछ । इशान अस्पतालका डाक्टरले हेर्नासाथै बच्चाको अप्रेशन गराउनपर्छ भने । हामीले बच्चालाई दिउँसो २ बजे पुर्याएका थियौं, ४ बजे अप्रेशन गरियो । दोस्रो अप्रेशन तीन दिनपछि गरे, त्यतिबेला बच्चा चार घण्टापछि होसमा आयो । निशानमा उपचार गराएर नौ दिनको दिन बच्चा घर लग्यौं । डाक्टरहरुले नाडीको ठूलो घाउँमा टाका लगाउनुपर्छ भनेका थिए, हामीले मानेनौं ।

हामीले ठूलो बच्चाको लाश अहिलेसम्म बुझेका छैनौं । ग्राण्डीले गल्ती स्वीकार नगरेसम्म हामी बुझ्दा पनि बुझ्दैनौं । अस्पतालबाट लगातार फोन आइरहेको छ । पहिला त हामी लाशभन्दा सासको आस गरेर सानो बच्चालाई बचाउनतर्फ लाग्यौ । फोनमा अस्पतालको नियमअनुसार तीन दिनभन्दा बढी बच्चा अस्पतालमा राख्न मिल्दैन, छिटो लैजाऊ भनेर दबाब दिइरहे । पटक पटक फोन गर्दै वार्ता गरौं भनेर हामीलाई बोलाए ।

आइतबार हामी वार्तामा गयौं, त्यहाँका निर्देशक डा. चक्रराज पाण्डेले पटक पटक बच्चा संक्रमणले गर्दा मरेको हो, तपाईंहरु जहाँ जान पनि सक्नुहुन्छ भने । हामी पीडामा परेका बेला सहानुभूतिको ठाउँमा दबाब र धम्कीको भाषा बोले । मंगलबार पुनः वार्तामा बोलाए । हामीले महाराजगञ्ज प्रहरीलाई लिएर गयौं, प्रहरीको रोहबरमा बस्दा मात्र डा।पाण्डेले हाम्रो डाक्टर र नर्सको लापरवाहीले एउटा बच्चाको मृत्यु र अर्को बच्चामा संक्रमण भएको हो भने ।

त्यतिबेला हाम्रा सुभचिन्तक र मिडियाकर्मीहरु अस्पताल परिसरमा जम्मा भैसकेका थिए । मिडियाको सामु यही कुरा भनिदिनुस् भन्दा उहाँले भोलि पुनः बसौंला भनेर डाक्टरको टोली बाहिरियो । बुधबार (आज) वार्तामा के हुन्छ, थप कार्यक्रम लिएर अघि बढ्छौं ।

अर्कातिर, गल्ती गर्ने, उल्टै पैसा पनि माग्ने । एउटा बच्चा मारिसकेर अर्कोलाई पनि मार्न ठिक्क पारेको अवस्थामा साढे ६ लाखको बील थमाए । बच्चाको उपचारको आधाभन्दा बढी पैसा तिरिसकेको छ । श्रीमतीको छुट्टै बील आएको छ । यो अस्पतालले त लुट्ने मात्र रहेछ । तर सबै यस्ता छैनन्, इशान अस्पतालले मृत्युको मुखमा पुगेको मेरो बच्चाको उपचारमा धेरै राम्रो गर्यो ।

ग्राण्डीले यस अघिपनि पैसा असुल्नकै लागि नवजात शिशुहरुलाई एनआईसीयुमा राख्ने र बच्चालाई जोखिमा अवस्थामा पुर्याउने काम गर्छ भन्ने सुनेको थिए आज आफैलाई पर्दा थाहा भो ।
(दोर्जे लामासँग भगवती तिमिल्सिनाले गरेको वार्तामा आधारित)

काउन्सिलले आजै छानबिन गर्ने
ग्राण्डी अस्पतालले प्रहरी प्रशासन तथा पीडित परिवारसँग लापर्बाही भएको स्वीकार गरिसकेको अवस्थामा मेडिकल काउन्सिलले आजैबाट छानबिन सुरु गर्ने भएको छ । नेपाल समाचारपत्रलाई जानकारी दिंदै प्रवक्ता डा। ढुण्डी पौडेलले भन्नुभयो, हामी ग्राण्डी जान्छौं, सम्बद्ध डाक्टर र नर्स तथा प्रशासकलाई भेट्छौं, आवश्यक कारबाहीको प्रक्रिया अघिबढाउँछौं ।

यसैबीच ग्राण्डी अस्पतालका निर्देशक डा.चक्रराज पाण्डेलाई पटक–पटक मोबाइलमा फोन गर्दा रिसिभ भएन । पछि ल्याण्ड लाइनमा फोन गर्दा रिसेप्सनबाट नर्सिङ स्टेशनमा दिइयो, तर विषय बताएपछि ‘उहाँ बिजी हुनुभएकाले फोन दिन मिल्दैन, एकछिनपछि कल गर्नुस्’ भनियो । मंगलबार बारम्बार प्रयास गरियो, तर डा. पाण्डे बोल्च चाहनुभएन ।

महाराजगञ्ज पुलिस कार्यालयका अनुसार यही साउन ६ गते मृत्यु भएको शिशुको लाश अझै उठेको छैन । अस्पताल पिडितपक्षसँग आन्तरिक छलफलबाटै मुद्दा टुग्याउने पक्षमा देखिन्छ । पीडित पक्षले मौखिक रुपमा न्यायको माग गरेको छ र अस्पतालको तर्फबाट मौखिक रुपमै शान्ति–सुरक्षाको माग भएको छ । प्रहरी शान्तिपूर्ण रुपमा समस्या समाधानको प्रयासमा छ ।, समाचार नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।