१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar चोलेन्द्र प्रकरण: आज सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता News Polar टेक्सासको अस्टिनमा भव्य रूपमा इन्द्रजात्रा मनाइयो-फोटो फिचर News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन

पर्यटक पर्खिदै जखेरा ताल

पर्यटक पर्खिदै जखेरा ताल
अ अ+ अ-

-नारायणी रजौरे

दाङ । दाङ जिल्लाको लमही नगरपालिका–३ मा रहेको जखेरा ताल चुरे पहाडको फेदमा अवस्थित छ । पूर्व र पश्चिममा वन जङ्गल, दक्षिणतर्फ सुन्दर मुसुण्डी गाउँ तथा उत्तरतर्फको चुरे पहाडको फेदमा बसेको छ यो ताल ।

मनमोहक दृश्यले भरिएको यो ताल अहिले पर्यटकलाई लोभ्याउन पर्खिएर बसेको जस्तो लाग्दछ । निकै आकर्षक यस तालमा पुग्दा लाग्छ आफ्नो सुन्दरता देखाउन पर्यटक पर्खिएर बसेको छ । आफ्नो मनमोहक दृश्यले त्यहाँ पुग्ने सबैलाई तालले लोभ्याउने गरेको छ । मिलेको बनोट र प्रकृतिक एवं जैविक विविधता नै यस तालको प्रमुख आकर्षण हो ।

दाङको लमही बजारबाट छ किलोमिटर पूर्वमा रहेको सुनडबरी गाउँ हँुदै उत्तरतर्फ करीब दुई किलोमिटर पर पर्छ त्यो ताल । पूर्व–पश्चिम राजमार्गबाट नजिकै रहेकाले पनि भारत तथा तेस्रो मुलुकबाट पनि सो तालको अवलोकनमा पर्यटक आउने गरेका स्थानीय बताउँछन् ।

झण्डै सात फिट गहिराइ र साढे सात बिघा क्षेत्रफलमा फैलिएको तालको वरपर वनजङ्गल रहेको छ । तालको उत्तरतर्फ रहेका गणेश र पूर्वमा सिद्धेश्वर महादेवको मन्दिरले पनि थप आकर्षण दिएको छ । यहाँ आउने पर्यटक डुङ्गा चढेर मन्दिर दर्शन गर्न जाने गर्दछन् ।

अहिले वर्षात्को समयमा पनि ताल अवलोकन गर्ने र घुमघाम गरी त्यस क्षेत्रमा बनभोज खानेको ठूलो भीडा लाग्ने गर्दछ । दैनिक कम्तीमा पनि ३०० जनाको सङ्ख्यामा आन्तरिक र बाह्य पर्यटक यहाँ आउने गरेको जखेरा ताल संरक्षण संस्थाका कर्मचारी विष्णुमाया बस्नेतले जानकारी दिनुभयो ।

वनभोज स्थल, जलविहार, प्राकृतिक पदयात्रा, चरा तथा अन्य जीवजन्तुको अवलोकन गर्न पर्यटक यहाँ आउने गर्दछन् । विष्णुमाया भन्नुहुन्छ, “ताल पुगेर डुङ्गा चढ्न पर्यटक निकै रमाउँछन् । एउटा मात्र डुङ्गा भएकाले पालो कुर्नपर्ने भएका केही समस्या छ ।’’ एक जना पर्यटकले पूरै तालमा डुङ्गा चढेर जलविहार गरेमा रु ५० तथा मन्दिर दर्शनको लागि रु २० शुल्क निर्धारण गरिएको छ ।

जखेरा तालको अवलोकन गर्न बर्दियाबाट आउनुभएकी ४७ वर्षीया कमला चापागार्इं आफू पहिलोपटक तालको अवलोकन गर्न आएको र यहाँको दृश्य देख्दा निकै आनन्दित भएको बताउनुभयो । तालको सुन्दरतालाई बिग्रन नदिन र सफा स्वच्छ राख्नको लागि सबै लाग्नुपर्ने उहाँको सुझाव छ । तालको प्रचारप्रसार भएमा अझ धेरै पर्यटक भित्र्याउन सकिने कमला बताउनुहुन्छ ।

ताल अवलोकन तथा घुमघाम गर्न तुलसीपुरबाट छोराछोरीसहित पुग्नुभएकी ३९ वर्षीया शारदादेवी ओलीले यसपटक ताल क्षेत्रमा निकै सुधार भएको देख्दा खुशी भएको बताउनुभयो । आफू डेढ वर्ष पहिले पनि सो ताल घुम्न आएको बताउँदै उहाँले यसपटक धेरै राम्रो भएको प्रतिक्रिया दिनुभयो ।

तालको सुन्दरता बढाउन स्थानीय तथा प्रदेश सरकारले भौतिक पूर्वाधारका लागि ध्यान दिनुपर्ने तुलसीपुरका डा किशोर खत्रीले बताउनुभयो । उहाँ भन्नुहुन्छ, ‘‘यस ताललाई मध्यपश्चिम क्षेत्रको फेवा तालको रुपमा विकास गर्न सकिने सम्भावना छ ।’’ ताललाई संरक्षण र सम्बद्र्धन गर्न सके दाङको देउखुरी क्षेत्रको मुहार नै फेरिने उहाँको भनाइ छ । तालको छेउमा जाली, पर्यटकको लागि आवश्यक पर्ने पानी तथा शौचालय र फोहर व्यवस्थापनको उचित व्यवस्था गर्नुपर्ने खत्रीको सुझाव छ ।

जखेरा शिवालय धार्मिक पर्यटन विकास संरक्षण प्रतिष्ठानका उपाध्यक्ष रामसिंह केसीले जखेरा तालको संरक्षणमा सबैले पहल गर्नुपर्ने बताउनुभयो । उहाँले विगतमा धेरैको अथक श्रमदान र राज्यका निकायले गरेको सहयोगले नै अहिले ताल जिल्लाकै मुख्य पर्यटकीय केन्द्रका रुपमा परिचित रहेको बताउनुभयो ।

केही वर्ष अघिसम्म सो ताल जलकुम्भी झार र माटोले पुरिएको थियो, जिल्ला भूसंरक्षण कार्यालय दाङ, कृषि विकास कार्यालयलगायतका सरकारी निकाय तथा नागरिकको सहयोग तथा संरक्षणले यो अवस्थामा आउन सफल भएको उपाध्यक्ष केसीले बताउनुभयो ।

ताल अवलोकन गर्न आउनेका लागि आवश्यक पर्ने शौचालय, खानेपानीको उचित व्यवस्था, फोहर व्यवस्थापन, सुरक्षाको लागि तालको छेउछेउमा जाली, पर्यटकलाई तालमा घुम्नको लागि ढुङ्गाको पर्याप्त व्यवस्था गर्नुपर्ने उपाध्यक्ष केसीले सुनाउनुभयो । तालसम्म पुग्ने करीब डेढ किमी सडक कालोपत्र नहुँदा पनि वर्षाको याममा समस्या हुने गरेको उहाँको भनाइ छ ।

जखेरा शिवालय धार्मिक पर्यटन विकास संरक्षण प्रतिष्ठानका सहअध्यक्ष रविध्वज थापाले यसलाई धार्मिक र पर्यटनसँग जोड्ने आफूहरुको लक्ष्य रहेकाले अहिले प्रतिष्ठान बनाएको बताउनुभयो । उहाँले बितेको आव २०७५÷७६ मा राष्ट्रपति चुरे संरक्षण कार्यक्रमबाट रु १५ लाख र डिभिजन वन कार्यालय लमहीले रु नौ लाख रकम उपलब्ध गराएको जानकारी दिनुभयो ।

सो रकमबाट ताल क्षेत्रमा इन्टर लक, ड्रम लाइट, तालभित्र रहेको शिव मन्दिर परिसरमा १०० मिटर कालोपत्रे, ढुङ्गा चढ्ने ठाउँमा सिँडी, तालको दक्षिणतर्फ ७४ मिटर पक्की नाला निर्माण गरिएको छ । सहअध्यक्ष थापाले यसपटक प्रदेश नं ५ सरकारबाट ताल मर्मतसम्भार गर्न रु २५ लाख बजेट विनियोजन गरेको जानकारी दिनुभयो ।

लमही नगरपालिकाले ताल क्षेत्रमा डिपबोरिङका लागि यस वर्ष रु १५ लाख बजेट, वडा नं ५ मा नालाको लागि रु तीन लाख विनियोजन गरिएको छ । गत शिवरात्रिमा यसलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा चिनाउन दुई दिनको महोत्सव पनि सञ्चालन गरेको बताउनुभयो ।

केही समयअघि प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेल पनि तालको निरीक्षण तथा अवलोकनमा आउनुभएको थियो । यस तालको आफ्नै ऐतिहासिक पृष्ठभूमि रहेको भन्दै उहाँ पनि निकै प्रभावित हुनुभएको थियो ।

विसं २०३० मा साविकको सोनपुर गाविस हालको लमही नगरपालिका–३ निवासी स्व दिपु चौधरीको नेतृत्वमा सोनपुर, टिकुलीगढ, फल्कापुर, श्री गाउँका स्थानीय वुद्धिजीवी मिलेर त्यतिबेलै आकाशेपानी तथा वन क्षेत्रबाट बगिरहेको पानी सङ्कलन गरी सिँचाइ गर्ने प्रयोजनमा चुरे पहाडको फेदमा कृतिम रुपमा खाडल खनेर जल भण्डारणको रुपमा राखिएको थियो । सोही ताल नै अहिले जखेरा तालको नामबाट परिचित छ ।

स्थानीय थारु भाषामा जुन ठाउँमा आकाशे पानी सङ्कलन भएर जम्मा हुन्छ । त्यस ठाउँलाई जखेरा भनिन्छ । अहिले पनि यस तालको पानीको मुख्य स्रोत आकाशे पानी नै हो । अहिले भने पानी सफा र वरिपरिको पर्यावरणीय सुन्दरता पनि अर्को आकर्षण भएकाले यसलाई नै एक सुन्दर तालका रुपमा विकास र संरक्षण गरिएको छ ।