७ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

गौतमलाई ओलीको प्रस्ताव : कास्की २ बाट चुनाव लड्नुस्



अ+ अ-

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय सचिवालयले नेता वामदेव गौतमलाई संगठन विभाग प्रमुखसँगै उपाध्यक्षको जिम्मेवारी दिएको छ । शुक्रबार सचिवालय बैठकले गौतमलाई उपाध्यक्षको जिम्मेवारी दिन स्थायी समितिमा प्रस्ताव लैजाने निर्णय गरेको हो ।

गौतमको हाल रहेको पाँचौँ वरीयताक्रममा भने कुनै फेरबदल नहुने महासचिव विष्णु पौडेलले बताए । ‘उहाँ दुई वरिष्ठ नेतापछिकै मर्यादाक्रममा रहने गरी उपाध्यक्ष बन्नुहुनेछ,’ पौडेलले नयाँ पत्रिकासँग भने ।

अध्यक्षद्वय केपी ओली र प्रचण्डको प्रस्तावमा वरिष्ठ नेता माधवकुमार नेपालसहित अधिकांशले समर्थन गरेपछि गौतम उपाध्यक्ष बनाइएका हुन् । नेता नारायणकाजी श्रेष्ठले आवश्यक छलफलपछि अर्को बैठकबाट निष्कर्षमा पुग्न उपयुक्त हुने धारणा राखेका थिए ।

गौतमलाई उपाध्यक्ष बनाउन नेकपाले विधानसमेत परिमार्जन गर्ने भएको छ । अन्तरिम विधानमा उपाध्यक्षको व्यवस्था नभएकाले आवश्यकताअनुसार केन्द्रीय कमिटीले विधान हेरफेर गर्ने महासचिव पौडेलले बताए । ‘अहिलेको विधान महाधिवेशनले होइन, केन्द्रीय कमिटीले बनाएको हो, त्यसैले केन्द्रीय कमिटीले नै हेरफेर गरेर उपाध्यक्षको व्यवस्था गर्न सक्छ,’ पौडेलले भने ।

सचिवालय बैठकले ३२ वटै केन्द्रीय विभागका प्रमुख र उपप्रमुख, प्रदेश सहइन्जार्च तथा केन्द्रीय कार्यालय सचिवको टुंगो पनि लगाएको छ । स्कुल विभागको प्रमुख ईश्वर पोखरेल बनेका छन् । जिम्मेवारी बाँडफाँडसँगै नेकपाको सचिवालयको शक्तिसन्तुलनमा पनि फेरबदल भएको छ ।

नेपालभन्दा माथिल्लो वरीयतामा राख्न खनालको माग

वरिष्ठ नेता झलनाथ खनालले आफूलाई दुई अध्यक्षपछिको तेस्रो वरीयतामा राख्न माग गरेका छन् । पार्टी एकीकरणका क्रममा चीन भ्रमणमा रहेका वेला नियतवश चौथो वरीयतामा राखेर अन्याय गरिएको भन्दै खनालले अर्का वरिष्ठ नेता माधवकुमार नेपालभन्दा आफूलाई अघिल्लो मर्यादामा राख्न माग गरेका हुन् । ‘जेएन कमरेडले बैठकमा वरीयता हेरफेरको कुरा उठाउनुभएको हो,’ महासचिव पौडेलले भने, ‘त्यस विषयमा कुनै छलफल भएको छैन, दुवै अध्यक्षले एजेन्डा नभएकाले अर्को बैठकमा छलफल गरौँला भनेपछि अरू थप कुरा भएको छैन ।’

बैठकमा वामदेव गौतमलाई उपाध्यक्ष बनाउने प्रस्तावसँगै वरिष्ठ नेताको मर्यादा हेरफेरसम्बन्धी विषयले अचानक प्रवेश पाएपछि नेता नारायणकाजी श्रेष्ठले आपत्ति जनाएका थिए । गौतमलाई उपाध्यक्ष बनाउने निर्णय भएलगत्तै अध्यक्ष ओलीले मर्यादा हेरफेरसम्बन्धी विषयसमेत शुक्रबारकै बैठकमा टुंग्याउन खोजेपछि श्रेष्ठले आपत्ति जनाएको सचिवालयका एक नेताले बताए । ‘आजै यसरी किन छलफल गर्नुपर्‍यो, सबै पक्षलाई विचार पुर्‍याएर पछि छलफल गर्न किन नहुने रु’ श्रेष्ठको भनाइ थियो ।

विभागमा त्रिपक्षीय सन्तुलन
नेकपाभित्र त्रिपक्षीय शक्तिसन्तुलनका आधारमा ३२ केन्द्रीय विभागका प्रमुख र उपप्रमुख तथा सात प्रदेशका सहइन्चार्जको जिम्मेवारी बाँडफाँड भएको छ । अधिकांश जिम्मेवारी अध्यक्षद्वय केपी ओली, पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालनिकट नेताहरूले पाएका छन् । विभागमा अध्यक्ष ओलीनिकट आठ प्रमुख र पाँच उपप्रमुख बनेका छन् । त्यस्तै, पूर्वमाओवादीका १४ जना र माधवकुमार नेपालनिकट नौजना प्रमुख बनेका छन् । वरिष्ठ नेता झलनाथ खनाललाई नीति तथा अनुसन्धान प्रतिष्ठान संयोजकको जिम्मेवारी दिइएको छ ।

रिजाल र ढकाललाई केन्द्रीय कार्यालय सचिवको जिम्मेवारी
नेकपाभित्र महत्वपूर्ण मानिने केन्द्रीय कार्यालय सचिवको जिम्मेवारी केन्द्रीय सदस्यहरू ईश्वरी रिजाल र श्रीराम ढकालले पाएका छन् । रिजालले पूर्वएमाले समूह तथा ढकालले पूर्वमाओवादी समूहको प्रतिनिधित्व गर्छन् । पूर्वएमाले समूहमा केन्द्रीय कार्यालय सचिव रहेका कृष्णगोपाल श्रेष्ठलाई कोष तथा आर्थिक व्यवस्थापन विभाग उपप्रमुखको जिम्मेवारी दिइएको छ । ढकाल पूर्वमाओवादीमा पनि केन्द्रीय कार्यालय सचिवकै भूमिकामा थिए भने रिजाल तत्कालीन एमालेमा अध्यक्ष ओली प्रमुख रहेको पार्टी स्कुल विभाग सचिव थिए । आफू प्रमुख रहेको विभागको सचिव रहेकाले रिजाललाई ओलीकै रुचिअनुसार पार्टी सञ्चालनमा महत्वपूर्ण मानिने जिम्मेवारी दिइएको स्रोतले जनाएको छ ।

गौतमलाई ओलीको प्रस्ताव : कास्की २ बाट चुनाव लड्नुस्

बैठकमा अध्यक्ष ओलीले गौतमलाई तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीको निधनपछि रिक्त कास्की २ को उपनिर्वाचनमा उम्मेदवार बन्नसमेत आग्रह गरेको एक नेताले बताए । ओलीको प्रस्तावमा गौतम भने मौन बसेका थिए ।

निर्वाचनमा अन्तर्घातका कारण चुनाव हारेको निष्कर्षमा पुगेका गौतम पछिल्लोपटक काठमाडौंमा उपनिर्वाचन लडेर संसद्मा आउने चाहनामा थिए । तर, अध्यक्ष ओलीकै कारण पूरा हुन नसकेको निचोडमा पुगेका थिए । संसद्मा आउन नपाए पनि शक्तिशाली विकास प्राधिकरणमा उपप्रधानमन्त्रीसरहको भूमिका पाउने अपेक्षा उनले गरेका थिए । तर, त्यो योजना पूरा नहुने देखिएपछि उनी ओलीसँग टाढिएका थिए । गत पुसको दोस्रो साता सम्पन्न स्थायी समिति बैठकमा ‘एक व्यक्ति : एक जिम्मेवारी’ लागू गर्नुपर्ने भन्दै पूरक राजनीतिक दस्ताबेज प्रस्तुत गरेर ओलीसँग करिब–करिब सम्बन्ध–विच्छेद गर्ने बिन्दुमा पुगेका थिए । तर, एक–डेढ महिनायता भने ओली र गौतम पुनः नजिकिन थालेका थिए ।

अर्का अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नेपालसँग प्रगाढ सम्बन्ध बनाउँदै गएका गौतमलाई ओलीले फकाउन थालेका थिए । एक महिनायता बालुवाटारमा गौतमको जन्मदिन मनाउनेदेखि दुई नेताबीच पटक–पटक डिनर र लन्च बैठकसमेत भएको थियो । त्यसैले ३२ मध्ये सबैभन्दा शक्तिशाली संगठन विभाग प्रमुखसँगै उपाध्यक्ष पदमा ओलीले नै गौतमलाई प्रस्ताव गरे । उच्च स्रोतका अनुसार कास्कीमा उम्मेदवार बनाएर अध्यक्ष ओलीले गौतम भावी प्रधानमन्त्रीको वैकल्पिक उम्मेदवारसमेत हुन् भन्ने सन्देश दिन खोजेका छन् ।

३२ विभागका प्रमुख र उपप्रमुखको नामावली

१. अर्थ तथा योजना विभाग

सुरेन्द्र पाण्डे, प्रमुख (पूर्वएमाले)
डोरप्रसाद उपाध्याय, उपप्रमुख (पूर्वमाओवादी)

२. उद्योग तथा वाणिज्य विभाग

राधा ज्ञवाली, प्रमुख (पूर्वएमाले)
वामदेव क्षेत्री, उपप्रमुख (पूर्वमाओवादी)


३. उपभोक्ता हित तथा आपूर्ति विभाग

मातृका यादव, प्रमुख (पूर्वमाओवादी)
बलराम बाँस्कोटा, उपप्रमुख (पूर्वएमाले)

४. कृषि तथा भूमिसुधार विभाग

चक्रपाणि खनाल, प्रमुख (पूर्वमाओवादी)
हरि पराजुली, उपप्रमुख (पूर्वएमाले)

५. कोष तथा आर्थिक व्यवस्थापन विभाग

हरिबोल गजुरेल, प्रमुख (पूर्वमाओवादी)
कृष्णगोपाल श्रेष्ठ, उपप्रमुख (पूर्वएमाले)

६. खानेपानी तथा सरसफाइ विभाग

विना मगर, प्रमुख (पूर्वमाओवादी)
ममता गिरी, उपप्रमुख (पूर्वएमाले)

७. जलस्रोत, सिँचाइ तथा ऊर्जा विभाग

वर्षमान पुन, प्रमुख (पूर्वमाओवादी)
परशु मेघी गुरुङ, उपप्रमुख (पूर्वएमाले)

८. निर्वाचन विभाग

प्रदीप ज्ञवाली, प्रमुख (पूर्वएमाले)
खिमलाल देवकोटा, उपप्रमुख (पूर्वमाओवादी)


९. न्याय, कानुन तथा मानवअधिकार विभाग

रघुजी पन्त, प्रमुख (पूर्वएमाले)
मुक्तिनारायण प्रधान, उपप्रमुख (पूर्वमाओवादी)

१०. पयर्टन प्रवर्द्धन तथा नागरिक उड्डयन विभाग

योगेश भट्टराई, प्रमुख (पूर्वएमाले)
पासाङ शेर्पा, उपप्रमुख (पूर्वमाओवादी)


११. प्रचार तथा प्रकाशन विभाग

नारायणकाजी श्रेष्ठ, प्रमुख (पूर्वमाओवादी)
सूर्यबहादुर थापा, उपप्रमुख (पूर्वएमाले)

१२. प्रादेशिक मामिला विभाग

घनश्याम भुसाल, प्रमुख (पूर्वएमाले)
परशुराम तामाङ, उपप्रमुख (पूर्वमाओवादी)

१३. पार्टी स्कुल विभाग

ईश्वर पोखरेल, प्रमुख (पूर्वएमाले)
देवेन्द्र पौडेल, उपप्रमुख (पूर्वमाओवादी)


१४. पुस्तकालय तथा अभिलेख विभाग

नारायणप्रसाद शर्मा, प्रमुख (पूर्वमाओवादी)
ज्ञानबहादुर भुजेल, उपप्रमुख (पूर्वएमाले)


१५. भौतिक पूर्वाधार तथा यातायात व्यवस्था विभाग

रघुवीर महासेठ, प्रमुख (पूर्वएमाले)
हरि अधिकारी, उपप्रमुख (पूर्वमाओवादी)


१६. युवा तथा खेलकुद विभाग

टोपबहादुर रायमाझी, प्रमुख (पूर्वमाओवादी)
ठाकुर गैरे, उपप्रमुख (पूर्वएमाले)


१७. राजकीय मामिला तथा सुशासन विभाग

रामबहादुर थापा, प्रमुख (पूर्वमाओवादी)
गुरु बराल, उपप्रमुख (पूर्वएमाले)


१८. वन तथा वातावरण विभाग

शक्ति बस्नेत, प्रमुख (पूर्वमाओवादी)
चूडामणि जंगली, उपप्रमुख (पूर्वएमाले)


१९. विज्ञान तथा प्रविधि विभाग

गणेश शाह, प्रमुख (पूर्वमाओवादी)
अरुण नेपाल, उपप्रमुख (पूर्वएमाले)


२०. विदेश मामला विभाग

माधवकुमार नेपाल, प्रमुख (पूर्वएमाले)
सुरेन्द्र कार्की, उपप्रमुख (पूर्वमाओवादी)


२१. शिक्षा तथा मानवस्रोत विभाग

गिरिराजमणि पोखरेल, प्रमुख (पूर्वमाओवादी)
विजय पौडेल, उपप्रमुख (पूर्वएमाले)

२२. श्रम तथा रोजगार विभाग

गोकर्ण विष्ट, प्रमुख (पूर्वएमाले)
रामेश्वर राय यादव, उपप्रमुख (पूर्वमाओवादी)


२३. संगठन विभाग

वामदेव गौतम, प्रमुख (पूर्वएमाले)
जनार्दन शर्मा, उपप्रमुख (पूर्वमाओवादी)


२४. संघीय संसदीय विभाग

सुवास नेम्वाङ, प्रमुख (पूर्वएमाले)
देवप्रसाद गुरुङ, उपप्रमुख (पूर्वमाओवादी)


२५. समाजकल्याण विभाग

केशवलाल श्रेष्ठ, प्रमुख (पूर्वएमाले)
गोपाल ठाकुर, उपप्रमुख (पूर्वमाओवादी)

२६. सहकारी तथा गरिबी निवारण विभाग

विष्णु रिमाल, प्रमुख (पूर्वएमाले)
धर्मदत्त देवकोटा, उपप्रमुख (पूर्वमाओवादी)


२७. सहरी विकास विभाग

लेखराज भट्ट, प्रमुख (पूर्वमाओवादी)
जगन्नाथ खतिवडा, उपप्रमुख (पूर्वएमाले)


२८. सामान्य प्रशासन विभाग

लालबाबु पण्डित, प्रमुख (पूर्वएमाले)
रेखा शर्मा, उपप्रमुख (पूर्वमाओवादी)


२९. साहित्य, कला तथा संस्कृति विभाग

मणि थापा, प्रमुख (पूर्वमाओवादी)

३०. स्थानीय तह विभाग

युवराज ज्ञवाली, प्रमुख (पूर्वएमाले)
उर्मिला अर्याल, उपप्रमुख (पूर्वमाओवादी)
३१। स्वास्थ्य तथा जनसंख्या विभाग

राजेन्द्र पाण्डे, प्रमुख (पूर्वएमाले)
अञ्जना विसंखे, उपप्रमुख (पूर्वमाओवादी)

३२. नीति अनुसन्धान प्रतिष्ठान

झलनाथ खनाल, संयोजक (पूर्वएमाले)
रामचन्द्र झा, सहसंयोजक (पूर्वमाओवादी)
केन्द्रीय कार्यालय सचिव
ईश्वरी रिजाल, कार्यालय सचिव (पूर्वएमाले)
श्रीराम ढकाल, कार्यालय सविच (पूर्वमाओवादी)

प्रदेशका सहइन्चार्जहरू

प्रदेश १– नरेश खरेल, शेरधन राई
प्रदेश २– नागेन्द्र चौधरी, महेन्द्र पाशवान
प्रदेश ३– काशीनाथ अधिकारी, हितमान शाक्य
गण्डकी प्रदेश– किरण गुरुङ, यशोदा सुवेदी गुरुङ
प्रदेश ५– कुलप्रसाद केसी, वैजनाथ चौधरी
कर्णाली प्रदेश– कालीबहादुर मल्ल, प्रकाश ज्वाला
सुदूरपश्चिम प्रदेश– खगराज भट्ट, भानुभक्त जैसी
स्कुल विभागमा ईश्वर पोखरेल

लामो बहसपछि अन्ततः स्कुल विभाग ईश्वर पोखरेलको हातमा पुगेको छ । ३२ केन्द्रीय विभागमध्ये स्कुलसहित १८ पूर्वएमाले र १४ विभाग पूर्वमाओवादीले भागबन्डा गरेका थिए । तर, सचिवालय बैठकमा अध्यक्ष ओलीले स्कुलमा पोखरेलको नाम प्रस्ताव गर्नेबित्तिकै पूर्वमाओवादी समूहले आपत्ति जनाएको थियो । नेता नारायणकाजी श्रेष्ठले पनि स्कुल विभाग पाउनुपर्ने अडान राखेका थिए । दुई नेताको दाबीपछि सो विवाद अध्यक्ष ओली र प्रचण्डबीच अध्यक्षमातहत राख्ने विकल्पमा पनि छलफल भएको थियो । तर, पछि एउटै पार्टीमा भइसकेका सहमति र समझदारीमा किचलो गर्नु उपयुक्त नहुने भन्दै दुई अध्यक्षबीच समझदारी भएको थियो ।, समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।