• १८ असार २०८१, मंगलवार
  •      Tue Jul 2 2024
  •   Unicode
Logo
Latest
★   कांग्रेस–एमाले सत्ता समीकरणमा सहमति, ओली चौथो पटक प्रधानमन्त्री बन्ने ★   बेल्जियमलाई हराउँदै फ्रान्स युरो कपको क्वाटरफाइनलमा ★   स्लोभेनियालाई पेनाल्टीमा हराउँदै पोर्चुगल युरो कपको क्वाटरफाइनलमा ★   सामुदायिक विद्यालयको एसईई उत्तीर्ण प्रतिशत ७८ : विश्व निकेतन बन्यो, देशभरिमै धेरै विद्यार्थीले ४ जीपीए… ★   यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु ★   महासमितिबाट पारित दस्तावेज केन्द्रीय समितिमा लगिने ★   जोशीलाई ‘कौसी क्वीन’ उपाधि ★   रामबहादुर बम्जनलाई १० वर्ष कैद सजाय ★   पूर्वसभापति कोइरालाको शताब्दी जन्मजयन्तीमा कांग्रेसले तस्बिर प्रदर्शनी र विमर्शसभा गर्ने ★   सत्तामा संकटः प्रचण्डको प्रस्तावमा ओलीको मौनता

कर्णालीका मन्त्रीलाई भिआईपी गाडी, जनताका लागि एम्बुलेन्स किन्ने बजेट फ्रिज



काठमाडौं । कर्णालीका दूरदराजका नागरिकलाई सिंहदरबारको सुविधा पुर्‍याउने जिम्मा लिएको कर्णाली प्रदेश सरकारले विकास निर्माणको बजेट नै सुविधाको गाडी खरिदमा खर्च गरेको छ । गत वर्ष मन्त्रालयलाई गाडी खरिदको कार्यक्रम नै नराखेको सरकारले विकासको २१ करोड बजेट आर्थिक वर्षको अन्त्यतिर रकमान्तर गरेर ६४ वटा गाडी खरिद गरेको हो ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयले दुई चरणमा गरी ६ करोड ३० लाखमा सबैभन्दा बढी १६ वटा गाडी किनेको छ । मन्त्रालयले प्रदेश प्रहरीका लागि १२ गाडी किनेको छ । दुईवटा ट्रक, दुईवटा टाटा जेन्युन र आठवटा बोलेरो क्याम्पर किनेको मन्त्रालयका सूचना अधिकारी कृष्णबहादुर रोकायाले बताए । त्यस्तै, स्कार्पियो फाइभ एस मोडेलको गाडी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाएको छ भने तीनवटा गाडी मन्त्रालयले नै प्रयोग गरिरहेको जनाएको छ ।

सामाजिक विकास मन्त्रालयले स्कार्पियो र दुईवटा पिकअप भ्यान किनेको छ । स्कार्पियोलाई ७१ लाख र दुई पिकअप भ्यान एक करोड ४७ लाखमा खरिद गरिएको मन्त्रालयका सचिव डा। मानबहादुर बिकेले बताए । कर्णाली प्रदेश सभा सचिवालयले पनि चारवटा विषयगत समितिका अध्यक्ष र दलका सचेतकहरूका लागि तीन करोड ८८ लाख खर्चेर सात स्कार्पियो खरिद गरेको छ ।

चरम गरिबीले पिल्सिएका रुकुम (पश्चिम), सल्यान, जुम्ला, मुगु, जाजरकोट, दैलेख र सुर्खेत अस्पतालको एम्बुलेन्सको बजेट फ्रिज तर, आपत् पर्दा जनता लाखौँ तिरेर हेलिकोप्टरमा चढ्न बाध्य

कर्णाली सरकारले एम्बुलेन्स किन्न छुट्याएको बजेट भने फ्रिज भएको छ । प्रदेशका सबै १० जिल्ला अस्पताललाई एक–एक एम्बुलेन्स किन्न एक करोड ६० लाख विनियोजन गरेकोमा ६ वटा एम्बुलेन्सको रकम फ्रिज भएको हो । एम्बुलेन्स किन्नेमध्ये एउटा हुम्ला जिल्ला अस्पताल हो । तर, राष्ट्रिय सडक सञ्जालमै नजोडिएको र स्थानीय सडक पनि गतिलो नभएको हुम्लामा एम्बुलेन्स लैजानै सकिएको छैन । सडक नभएकै कारण एम्बुलेन्स अहिले पनि सिप्रदी कम्पनीमै छ । कर्णाली सरकारका सामाजिक विकासमन्त्री दल रावलले एम्बुलेन्स केरुङ नाकाबाट तिम्बततर्फ लागेको र केही दिनमा हिल्सा हुँदै हुम्ला पुग्ने दाबी गरे पनि जिल्ला अस्पताल विकास समितिका अध्यक्ष छेक्पाल लामाले खण्डन गरेका छन् । ‘एम्बुलेन्स कम्पनीमै छ । हामीले बुझेका छैनौँ । जुन ठाउँमा किनियो, त्यही ठाउँमा छ । एम्बुलेन्सभित्रका सामग्री किन्न बाँकी छ,’ लामाले भने । त्यस्तै, डोल्पा जिल्ला अस्पतालको एम्बुलेन्स पनि सुर्खेतमा थन्किएको छ । हुम्लामा सडक नपुगेको र डोल्पामा नियमित सडक नचल्ने भएकाले हेलिकोप्टरबाट एम्बुलेन्स पुर्‍याउन करिब पाँच लाख लाग्छ । १६ लाखमा किनिएको एम्बुलेन्समा थप पाँच लाख कसले खर्च गर्ने भन्ने निश्चित छैन । कालिकोटले भने दुईवटा एम्बुलेन्स किनेर जिल्ला पुर्‍याएको छ । सडक सञ्जालले छोएका र नियमित सवारीसाधन सञ्चालन भएका सात जिल्ला रुकुम (पश्चिम), सल्यान, जुम्ला, मुगु, जाजरकोट, दैलेख र सुर्खेत जिल्ला अस्पतालको एम्बुलेन्सको रकम भने फ्रिज भएको छ । प्रदेश सरकारका सामाजिक विकासमन्त्री दल रावलले खरिद प्रक्रिया अपनाउँदा–अपनाउँदै बजेट फ्रिज भएको बताए ।

औषधि छैन, तर अस्पतालमै ६० लाखको हेलिप्याड
हुम्ला जिल्ला अस्पतालबाट सिमकोट एयरपोर्ट पुग्न गाडीलाई ढिलोमा १० मिनेट लाग्छ । तर, प्रदेश सामाजिक विकासमन्त्रीको पहलमा हुम्ला जिल्ला अस्पतालमा गत वर्ष ६० लाख खर्चेर हेलिप्याड बनाइयो । मन्त्री दल रावल गम्भीर बिरामीलाई तत्काल उपचारका लागि अस्पतालमै हेलिप्याड बनाएको बताउँछन् । तर, अस्पतालमा दरबन्दी अनुसारको जनशक्ति र औषधि छैनन् ।

हुम्ला अस्पतालमा दुईजना एमबिबिएस डक्टरको स्थायी दरबन्दी रहेकोमा एकजना मात्र उपलब्ध छन् । तीन नर्सको दरबन्दी भए पनि दुईजना मात्रै छन् । हुम्लाका अधिकांश स्वास्थ्य चौकीमा औषधि र स्वास्थ्यकर्मी अभाव छ ।

प्रदेश सरकारका कुन मन्त्रालयले कति गाडी किने र?

१. सामाजिक विकास मन्त्रालय

७१ लाख दरका दुईवटा स्कार्पियो
दुई पिकअप भ्यान ७६ लाखमा खरिद

कालिकोट जिल्ला अस्पतालका लागि दुई, हुम्ला र डोल्पाका लागि एक–एक गरी चारवटा एम्बुलेन्स खरिद । प्रतिएम्बुलेन्स १६ लाख विनियोजन ।
हुम्ला र डोल्पामा सडक सञ्चालन भएको छैन । त्यहाँका लागि एम्बुलेन्स किनिएको छ, तर सडक सञ्जालले छोएका सात जिल्ला अस्पतालको एम्बुलेन्सको रकम फ्रिज ।

२.आन्तरिक मामिला तथा कानुन मन्त्रालय
१६ वटा गाडी खरिद

  • प्रहरीका लागि दुईवटा ट्रक
  • टाटा जेनुन दुईवटा
  • बोलेरो क्याम्पर आठवटा
  • टाटा सफारी दुईवटा

दुई चरणमा गरी १६ वटा गाडी खरिद गरिएको । त्यसमध्ये १० वटा प्रदेश प्रहरी कार्यालयलाई हस्तान्तरण गरिएको, स्कार्पियो फाइभएस एक मुख्यमन्त्री कार्यालयम पठाइएको ।
टाटा सफारी, टाटा जेनोन र फाइभएस स्कार्पियो गरी तीनवटा गाडी मन्त्रालयले प्रयोग गरिरहेको ।

१६ वटा गाडीको मूल्य ६ करोड २९ लाख ९५ रुपैयाँ खर्च गरेको ।

३ उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय

तीनवटा गाडी खरिद

मन्त्रीका लागि ६९ लाख ५४ हजारको स्ट्रोम गाडी खरिद गरिएको

दुई टाटा जेनुन पिकअप किनिएको एक करोड ८० लाख रुपैयाँ खर्च

४ प्रदेश सभा सचिवालय

सातवटा स्कोर्पियो गाडी खरिद ५५ लाख मूल्यका
चारवटा विषयगत समितिका सभापति र दलका सचेतकहरूका गाडि खरिद
तीन करोड ८८ लाख रुपैयाँ खर्चिएर स्कोर्पियो खरिद गरिए

५ भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय

जम्मा गाडी ११ वटा
बोलेरो पिकअफ ६ वटा २४ लाख मूल्य पर्ने
स्कारर्पियो ४ वटा ५६ लाख मूल्य पर्ने
मन्त्रीका लागि एउटा ६९ लाख पर्ने

६ आर्थिक मामिला तथा योजना मन्त्रालय

जम्मा गाडी ६ वटा
कर्णाली प्रदेश योजना आयोगका लागि २
कर्णाली प्रदेश लेखा नियन्त्रण कार्यालयका लागि १
र मन्त्रालयका लागि तीनवटा

७ भौतिक पूर्वाधार विकास मन्त्रालय

१६ वटा गाडी खरिद गरेको छ ।
मन्त्रीका लागि ६९ लाख ६ हजार रुपैयाँमा टाटास्ट्रोम गाडी
३ महाशाखा र १२ वटा विषयगत कार्यालयका लागि बोलेरो गाडी खरिद
तीन करोड ५० हजार रकम खर्च गरेको छ ।
नयाँ पत्रिकाबाट