३१ भाद्र २०८३, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

भोटेकोशी बाढीको क्षति मूल्याङ्कन गर्न २५ सदस्यीय समिति गठन



अ+ अ-

काठमाडौं । भोटेकोशी बाढीबाट जिल्लामा भएको मानवीय तथा भौतिक क्षतिको यकिन विवरण सङ्कलन गर्न २५ सदस्यीय तथ्याङ्क मूल्याङ्कन समिति गठन गरिएको छ ।

जिल्ला समन्वय अधिकारी राजेन्द्रप्रसाद आचार्यको संयोजकत्वमा गठित समितिलाई बाढीबाट भएको प्रारम्भिक क्षतिको विवरण एक महिनाभित्र सङ्कलन गर्न कार्यादेश दिइएको छ । जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेको अध्यक्षतामा मंगलबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

समितिमा गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक सुधार आयोजना, सहरी विकास तथा भवन निर्माण आयोजना, रसुवा भन्सार कार्यालय, सुरक्षा निकाय, नापी, भूमि प्रशासन, जलविद्युत् आयोजना, नेपाल इन्टरमोडललगायत २५ सरकारी तथा गैरसरकारी संस्था तथा निकायका प्रमुख प्रतिनिधि सदस्य रहेका छन् । सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारी समितिको सदस्यसचिव रहनुभएको छ ।

बाढीका कारण स्याफ्रुबेँसीमा रहेको गोसाइँकुण्ड गाउँपालिकाको भवन बगाएपछि गाउँपालिकाको नियमित कामकाज सञ्चालन गर्न रसुवा भूसंरक्षण कार्यालयको खाली भवन प्रयोग गर्ने निर्णय पनि बैठकले गरेको छ ।

त्यस्तै, बेत्रावतीको खाल्टेमा बाढीले बगाएको उत्तरगया गाउँपालिकाको भवन पुनर्निर्माणका लागि बेत्रावतीमाथि रहेको सामुदायिक वन क्षेत्रभित्र भवन निर्माण गर्ने प्रक्रिया अघि बढाउने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

बाढी प्रभावित क्षेत्रमा उद्धार तथा अन्य विपद्सम्बन्धी कार्यका लागि निजी कम्पनीका हेलिकप्टर प्रयोग गर्नुपर्ने अवस्था आएमा सम्बन्धित सङ्घसंस्था वा व्यक्तिले रसुवा उडानको अनुमति माग गर्दै लिखित अनुरोध गरे जिल्ला प्रशासन कार्यालयले आवश्यक सहजीकरण गर्ने निर्णयसमेत भएको छ ।

बाढीले रसुवाका विभिन्न क्षेत्रमा मानवीय तथा भौतिक क्षति पुर्‍याएको छ । क्षतिको यकिन विवरण सङ्कलन भएपछि राहत, पुनःस्थापना तथा पुनर्निर्माणका लागि आवश्यक प्रक्रिया अघि बढाउन सहज हुने अपेक्षा गरिएको छ ।

यसैबीच, बाढीले बगाएका रसुवा–नुवाकोट सीमास्थित बेत्रावतीको फलाखुखोला, स्याफ्रुबेँसीको भोटेकोसी तथा रोङ्गा खोलामा बेलीब्रिज छिटो जडान गरी सडक तथा पैदलमार्गको सञ्जाल पुनःस्थापना गर्न रसुवा नागरिक समाजले आग्रह गरेको छ ।

तस्बिरः रामहरि न्यौपाने/रासस