३१ भाद्र २०८३, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

आमालाई ६ महिना, बुबालाई ४२ दिन तलबसहित बिदाको प्रस्ताव



अ+ अ-

काठमाडौं । सरकारले आमालाई कम्तीमा ६ महिना र बुबालाई ४२ दिनसम्म तलबसहितको प्रसूति तथा स्याहार बिदा दिने व्यवस्था प्रस्ताव गर्दै सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ संशोधन विधेयक तयार गरेको छ।

बदलिँदो जीवनशैली तथा कामको चापका कारण अधिकांश परिवार एक वा दुई सन्तानमा सीमित हुँदै गएको अवस्थामा अभिभावकलाई नवजात शिशु र परिवारसँग पर्याप्त समय बिताउने वातावरण बनाउन विधेयक अघि बढाइएको हो। विधेयक अब मन्त्रिपरिषद्बाट स्वीकृत गराएर संसद्मा पेस गर्ने तयारी गरिएको छ।

प्रस्तावित व्यवस्थाअनुसार आमाले कम्तीमा ६ महिनासम्म तलबसहितको प्रसूति बिदा पाउनेछिन् भने बुबाले ४२ दिनसम्म तलबसहितको प्रसूति स्याहार बिदा पाउनेछन्। यसलाई सुरक्षित मातृत्व र अभिभावकत्वका क्षेत्रमा महत्वपूर्ण नीतिगत परिवर्तनका रूपमा अघि सारिएको छ।

विधेयकको अवधारणाअनुसार बच्चा जन्माउने प्रक्रिया आमासँग जोडिए पनि बच्चाको पालनपोषण र हेरचाह आमाको मात्र जिम्मेवारी नभई दुवै अभिभावकको साझा जिम्मेवारी हो।

परिवारमा नवजात शिशुको हेरचाह र अभिभावकत्वमा बुबाको समेत सक्रिय सहभागिता सुनिश्चित गर्ने उद्देश्यले बुबाका लागि समेत लामो अवधिको तलबसहितको बिदा प्रस्ताव गरिएको हो।