२६ भाद्र २०८३, शुक्रबार
,
Latest
बाढी प्रभावित पहाडका जनतालाई मधेसले गरेको सहयोग सराहनीय छ : संयोजक दाहाल छोरा भेटिने आसमा भौँतारिएका ‘बा’हरू बाढी प्रभावित नुवाकोट र रसुवा जाने टोलीलाई अध्यक्ष ओलीको निर्देशन प्रभु बैंकका सञ्चालक र कर्मचारीद्वारा बाढीपीडितका लागि ४० लाख ८० हजार सहयोग काठमाडौं महानगरपालिकाले लक्षित वर्गलाई २ लाख रुपैयाँसम्मको निःशुल्क जलन उपचार उपलब्ध गराउने विपद्मा प्याब्सनको १२ करोड सहयोग, प्रभावित पाँच विद्यालयका लागि २ करोड छुट्याइयो भोटेकोशी बाढीबाट यातायात क्षेत्रमा भएको क्षति मूल्याङ्कन गर्न समिति गठन बाढीपीडितका लागि यातायात व्यवसायी राष्ट्रिय महासङ्घद्वारा ९९ लाख सहयोग एसिसी प्रिमियर कप फाइनलः नेपाल इतिहास दोहोर्‍याउने लक्ष्यमा पात्रो प्रकाशन गर्न चाहनेलाई पञ्चाङ्ग निर्णायक विकास समितिको आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोती पुरस्कारबाट युवा साहित्यकार चौधरी सम्मानित



अ+ अ-

काठमाडौँ। युवा साहित्यकार इन्द्रबहादुर चौधरीलाई ‘युवा वर्ष मोती पुरस्कार, २०८२’ बाट सम्मानित गरिएको छ ।

नेपाली शिक्षा परिषद्ले आज काठमाडौँमा आयोजना गरेको १६१औँ मोतीजयन्ती समारोहमा साहित्यकार चौधरीलाई उक्त पुरस्कार प्रदान गरिएको हो ।

समारोहमा कीर्तिशेष साहित्यकारहरूको स्मृतिमा श्रद्धाञ्जली अर्पण, युवा वर्ष मोती पुरस्कार अर्पण, पुस्तक लोकार्पण तथा समस्यापूर्ति कवि सम्मेलनलगायत कार्यक्रम आयोजना गरिएको थियो ।

नेपाली साहित्यमा उल्लेखनीय योगदान पुर्‍याएको भन्दै परिषद्ले चौधरीलाई मोती पुरस्कार प्रदान गरेको परिषद्का अध्यक्ष रमा शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार युवा पुस्तामाझ साहित्यिक सृजनाको विकास र नेपाली साहित्यको प्रवर्द्धनमा चौधरीले पुर्‍याएको योगदानको कदरस्वरूप सम्मान गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि एवं जयतु संस्कृतम् संस्थाका अध्यक्ष डा बद्री पोखरेलले नेपाली साहित्यकारका सृजनाले देशको पहिचान अन्तरराष्ट्रियस्तरमा स्थापित गर्न महत्त्वपूर्ण भूमिका खेलेको बताउनुभयो । उहाँले साहित्यका माध्यमबाट नेपाल र नेपाली संस्कृतिलाई विश्वसामु चिनाउन साहित्यकारहरूको योगदान महत्त्वपूर्ण रहेको उल्लेख गर्नुभयो ।

“नेपाली साहित्यका कारण देशविदेशमा हाम्रो देशको नाम र साहित्य चिनाउन सफल भएको छ । साहित्यकारका कलमहरू साहित्यका क्षेत्रमा सधैँ चलिरहुन्”, उहाँले भन्नुभयो । सम्मानित साहित्यकार चौधरीले आफूलाई मोती पुरस्कारबाट सम्मानित गरिएकामा खुसी व्यक्त गर्दै आगामी दिनमा पनि नेपाली साहित्यको क्षेत्रमा निरन्तर कलम चलाइरहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

समारोहमा नेपाली शिक्षा परिषद्का सदस्य डा इन्दिरा शर्माको संस्मरणात्मक कृति ‘विगतलाई फर्केर हेर्दा’ समेत लोकार्पण गरिएको थियो । कार्यक्रममा साहित्य, भाषा तथा संस्कृतिका क्षेत्रमा योगदान पुर्‍याउने विभिन्न व्यक्तित्व एवं साहित्यकार, कविहरुको उल्लेख्य सहभागिता थियो । रासस