२३ भाद्र २०८३, मंगलवार
,
Latest
होर्मुज खुलाउनेबारे इरान–ओमान वार्तामा ‘महत्त्वपूर्ण प्रगति’ हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा जेनजी युवाका अधिकार र माग पूरा गर्न सरकार प्रतिबद्ध छः गृहमन्त्री गुरुङ अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ हरेक नेपालीको आशा पूरा गर्ने जिम्मेवारीमा छु, पदको घमण्ड र स्वार्थ छैन : गृहमन्त्री गुरुङ कृष्णभीरमा ट्रक महासंघको चासो, ७–१० दिनभित्र नयाँ ट्र्याकबाट गाडी चलाउने तयारी एक करोड २० लाखमा विद्यालय भवन निर्माण गरिँदै कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन बिपी जयन्तीमा क्यान्सर अस्पतालद्वारा नियमित सेवा सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा



अ+ अ-

पेरिस। हिन्दू प्रतिनिधिमण्डलको भ्रमणका क्रममा महिला कर्मचारीको उपस्थिति सीमित गर्ने व्यवस्थापनको निर्देशनको विरोधमा भएको हड्तालपछि आइफेल टावर मङ्गलबार पुनः सञ्चालनमा आएको छ । कर्मचारीले उक्त निर्देशनलाई अस्वीकार्य भन्दै विरोध गरेका थिए ।

सिजिटी युनियनकी प्रतिनिधि डायन डेभोइनले एसोसिएटेड प्रेसलाई बताएअनुसार, सप्ताहन्तमा आइफेल टावरका कर्मचारीबीच व्यवस्थापनको निर्देशनलाई लिएर असन्तुष्टि बढेको थियो । व्यवस्थापनले करिब ३३० मिटर अग्लो टावरमा आउने बोचासनवासी श्री अक्षर पुरुषोत्तम स्वामीनारायण संस्था (बापस)को प्रतिनिधिमण्डलसँग महिला कर्मचारीलाई सम्पर्कमा नआउन निर्देशन दिएको उहाँको भनाइ छ ।

बापस स्वामीनारायण सम्प्रदायअन्तर्गतको विश्वव्यापी धार्मिक तथा सामाजिक संस्था हो । संस्थाले फ्रान्सेली राजधानीमा परम्परागत हिन्दू ढाँचामा निर्माण गरिएको मन्दिरको उद्घाटनका अवसरमा विभिन्न कार्यक्रम आयोजना गरिरहेको छ ।

मङ्गलबार एपीलाई पठाइएको लिखित विज्ञप्तिमा बापसले प्रतिनिधिमण्डलको भ्रमणका क्रममा कर्मचारी र अन्य आगन्तुकलाई हुने सम्भावित असुविधा कम गर्न आइफेल टावर व्यवस्थापनसँग समन्वय गरिएको जनाएको छ ।

उक्त समन्वय लैङ्गिक आधारमा कुनै अनुरोध गर्ने उद्देश्यले नभएको संस्थाले स्पष्ट पारेको छ । “कुनै पनि अवस्थामा लैङ्गिक आधारमा अनुरोध गरिएको थिएन,” विज्ञप्तिमा भनिएको छ ।

बापसले आफू “लैङ्गिकता, पृष्ठभूमि वा धार्मिक आस्थाको पर्वाह नगरी समानता, पारस्परिक सम्मान र सबैको सेवाको सिद्धान्तप्रति दृढ प्रतिबद्ध,” रहेको जनाएको छ । संस्थाले यस घटनाबाट कसैलाई चोट वा असहजता पुगेको भए त्यसप्रति क्षमा मागेको छ ।

आइफेल टावर सञ्चालन गर्ने कम्पनीले घटनाबारे तत्काल कुनै प्रतिक्रिया दिएको छैन । करिब १३७ वर्ष पुरानो आइफेल टावरमा हरेक वर्ष झन्डै ७० लाख पर्यटक पुग्ने गर्छन् ।

सिजिटीकी डेभोइनका अनुसार आइफेल टावरले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, विभिन्न राजपरिवारका सदस्य तथा ब्रिट्नी स्पियर्सजस्ता चर्चित व्यक्तिसहित विशेष प्रतिनिधिमण्डलको नियमित रूपमा स्वागत गर्दै आएको छ । कर्मचारी त्यस्ता भ्रमणका लागि आवश्यक व्यवस्थापन गर्न तयार रहने भए पनि शनिबार दिइएको निर्देशन असामान्य र अस्वीकार्य रहेको उहाँले बताउनुभयो ।

पेरिसका मेयर इमानुएल ग्रेगोइरले सामाजिक सञ्जाल ‘एक्स’मा घटनाबारे अनुसन्धान गर्ने बताउनुभएको छ । “हाम्रा ऐतिहासिक स्मारकको परिसरमा वा यस शहरका अन्य कुनै पनि स्थानमा लैङ्गिक समानता रोकिने छैन,” उहाँले लेख्नुभएको छ । उहाँले यो सिद्धान्त “सबैतिर र सबैका लागि, कुनै अपवादबिना” लागू हुने सुनिश्चित गर्ने प्रतिबद्धता पनि जनाउनुभएको छ ।

औद्योगिक विवादका कारण आइफेल टावर बन्द भएको यो पहिलो घटना भने होइन । टावरको उचित मर्मतसम्भार र उच्च पारिश्रमिकको माग गर्दै कर्मचारीले गरेको हड्तालका कारण सन् २०२४ को फेब्रुअरीमा पनि आइफेल टावर छ दिनसम्म बन्द भएको थियो ।(रासस/एपी)